दशैंको मुखमै लकडाउन !

  २०७७ असोज १२ गते १२:३८     डोमी शेर्पा

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण सरकारले चैत ११ गतेदेखि साउन पहिलो हप्तासम्म लकडाउन गर्यो । देशमा लकडाउन भएपनि कोरोनाको संक्रमण दर नरोकिएपछि र आर्थिक गतिविधिहरु ठप्प भएपछि सरकारले साउन पहिलो हप्तामा लकडाउन खोल्ने निर्णय गर्यो ।

त्यसपछि सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय हत अर्थात जिल्ला प्रशासन कार्यालयले लकडाउन अर्थात निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दियो ।

देशका विभिन्न जिल्ला र स्थानीय तहहरुले पनि केन्द्र सरकारले भने अनुसारनै निषेधाज्ञा गरे । अहिले पनि विभिन्न जिल्ला तथा स्थानीय तहहरुमा लकडाउन तथा निषेधाज्ञा जारी छ । तर, पनि कोरोनाको बढ्दो ग्राफ रोकिएको छैन ।

दैनिक कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । हाल दैनिक १ हजार देखि २ हजारसम्म कोरोनाका बिरामीहरु फेला पर्न थालेका छन् । यसरी कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड ईन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजारभन्दा बढि सक्रिय संक्रमित भएको अवस्थामा फेरि १ महिना लकडाउन गर्न सुझाव दिएको छ ।

सो सुझावलाई आधार मान्ने हो भने दशैंको मुखमै लकडाउन हुने निश्चित छ । किनकि दैनिक १५ सयको हाराहारीमा कोरोनाका बिरामी फेला पर्न थालेपछि २५ हजार सक्रिय संक्रमित हुन धेरै दिन बाँकी छैन ।

हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १९ हजार ४ सय ९६ रहेको छ । अब यसमा २५ हजार पुग्न ५ हजार ५ सय ४ मात्र बाँकी छ ।

नेपालमा हालसम्म ७३ हजार ३ सय ९४ जनामा कोरोना देखिएको छ भने त्यसमध्ये ५३ हजार ८ सय ९८ जनालाई निको भएर घर फर्किकसेका छन् । कोरोनाकै कारण ४ सय ७७ जनाको मृत्यु भइसकेकाे छ ।

गत हप्ता मात्रै ९ हजार २४ जना संक्रमित थपिएका छन् । यो कोरोना संक्रमितको दर मात्र हेर्दा अबको एक हप्तामै कोरोनाका २५ हजार जना सक्रिय संक्रमित पुग्न सक्छन् ।

तर कोरोना भाइरसका बिरामीहरु बढ्दै जाँदा निको हुनेहरु पनि बढ्दै गएका छन् । गत हप्ता निको भएका र थपिएका नयाँ संक्रमितहरुको हिसाब मिलाउँदा ठ्याक्कै एक दिनमा १२ सय ८० नयाँ सक्रिय संक्रिमत थपिएको देखिएको छ । यसरी हरेक हप्ता थपिने संक्रमित र निको संक्रमित गएका हप्ता जस्तो हुने हो भने अबको ४ हप्तामा संक्रिय संक्रमितको संख्या २५ हजार कटेर जानेछ र दशैंको मुखमा पुन लकडाउन हुने निश्चित छ ।

यस वर्ष दशैं कात्तिक ७ गतेदेखि रहेको छ । यद्यपी टिका भने १० गते रहेको छ । अबको ठीक एक महिना सुरु हुने दशैंसँगै सरकारले लकडाउन गर्ने सम्भावना पनि बढ्दै गएको छ । दशैंमा अधिकांश मानिसहरु घर फर्किने भएकाले पनि यसपटक सरकारले यही पर्वलाई नै लक्षित गरेर लकडाउन गर्न खोजिएको अनुमान धेरेको छ ।

विगत ५/६ महिनादेखि ठप्प रहेको आर्थिक गतिविधि एक महिनादेखि खुलेको लकडाउनले केही सहज अर्थात सुधारन्मुख थियाे । फेरि पनि सरकारले एक महिना लकडाउन गर्यो भने पुनः आर्थिक गतिविधि ठप्प नै हुनेछ भने जनजीवन फेरि निकै कष्टकर हुनेछ ।

उपत्यका नगर फोरमको मनसाय पनि लकडाउन नै गर्ने

उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले पनि लकडाउन नै गर्ने मनसाय बनाएको छ । हिजो अर्थात असोज ११ गते बसेको नगर फोरमको बैठकले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको छ । यसले पनि अब काठमाडौं उपत्यकामा पनि पुनः लकडाउन गर्न खोजिएको होकि भन्ने अनुमान धेरैले गरेका छन् ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यका भित्रको जन–जीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भए पनि अत्यन्त कडाई गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौँ उपत्यकामा कोरोना संक्रमण मृत्युदर तिव्र रुपमा वृद्धि भैरहेको छ, काठमाडौं उपत्यका मुलुककको राजधानी र घना वस्तीसमेत रहेको स्थान समेत हो, यी तथ्यलाई ध्यानमा राखी उपत्यका प्रवेश नाकामा कडाई गरी नेपाली सेनालाई जिम्मा दिने व्यवस्थाका लागि सम्वन्धित नियकायलाई अनुरोध गर्ने निर्णय भएको छ,’ फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने ।

कोरोनाबाट बच्न यस्तो गर्नुस्

– साबुन पानीले पटक–पटक हात धुने ।

– घरबाहिर जाँदा जहिले पनि मास्कको प्रयोग गर्ने । भल्भ मास्क अर्थात हावा फिल्टर गर्ने मास्कको प्रयोग नर्गर्ने । यसको सट्टा कपडाको मास्कको प्रयोग गर्ने ।

– मानिसहरुसँग जहिले पनि टाढा बसेर कुरा गर्ने । कम्तिमा पनि २ मिटरको दुरी कायम गर्ने ।

– अंकमाल नगर्ने ।

– ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने र उनीहरुलाई सकेसम्म छुट्टै कोठामा राख्ने ।

– भिडभाडबाट टाढा बस्ने र चाडपर्व यस वर्ष घरमै परिवारसँग मात्र मनाउने ।

– झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।

– खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने ५ दिन होम क्वारेन्टिनमा बसी पिसिआर परीक्षण गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.