कम्प्यूटरले अटोमेटिक रुपमा कर्जा स्वीकृत गर्छ र ऋणीको खातामा रकम जान्छ

  २०७७ असोज ११ गते १९:४८     विकासन्युज

विनय रेग्मीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । विशेष गरी विश्व डिजिटल प्रविधिमा अभ्यस्त भइहरेको बेला नविल बैंक पनि नेपाली बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ कारोबार गर्न प्रोत्साहन मात्र होइन त्यसैमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । नविल बैंकको महत्वपूर्ण कदमको नेतृत्व गरिरहनु भएको छ विनय रेग्मीले । नविल बैंकमा डिजिटल बैंकिङको प्रमुख भएर काम गरिरहेका रेग्मीसँग नविल बैंक भित्रको बैंक भनेर सार्वजिनक गरेको ‘डीजी बैंक’, डिजिटल प्रविधिको प्रयोगमा बैंकको आगामी यात्रा र योजनाको बारेका विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीः

नविल बैंकले बैंकभित्रको पनि बैंक भनेर ‘डीजी बैंक’को सुरुवात गरेको छ । डीजी बैंक भनेको के हो ?

नविल बैंक शुरु देखिनै ‘फष्ट कम्यूटराइज’ बैंकको रुपमा स्थापित भएको हो । हामीले कहिल्यै पनि म्यानुअल सिस्टमबाट काम गरेनौं । तर, त्यो एकदमै बेसिक लेभलको थियो । बैंकका केही डाटाहरु मात्र कम्प्यूटरमा हुन्थ्यो भने बाँकी म्यानुअल्ली नै थियो । केही हदसम्म अहिले पनि छ । अब विश्व परिवर्तन भइसकेको छ । खासगरी कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा अब पूर्ण रुपमा डिजिटल्ली जानुपर्छ भन्ने महसुस हामीलाई भयो । हामीले जे जति सेवाहरु आफ्ना ग्राहकहरुलाई दिइरहेका छौं ती सबै सेवाहरु सकेसम्म प्रविधिको प्रयोग गरेर डिजिटल्ली हुनुपर्छ भन्ने महसुस गर्यौं । हाम्रा ग्राहकले चाहेको बैंकिङ सेवा आफूले रोजेको र खोजेको समयमा आफू नै रहेको स्थानबाट र तुरुन्तै पाउनुहुन्छ । त्यसको लागि सम्पूर्ण बैंकको पूर्वाधारलाई डिजिटलाइजेसन गर्ने र सबै प्राेडक्टहरु डिजिटल रुपमा निकाल्नको लागि यो एउटा बैंक भित्रको बैंकका रुपमा डीजी बैंक लञ्च गरेका हौं ।

बैंकले दिने सम्पूर्ण सेवाहरु अनलाइन अर्थात डिजिटल्ली र ग्राहकले आफूले रोजको ठाउँबाट, रोजेको समयमा र अति नै छिटो र सन्तुलित ढंगले उपलब्ध गर्नु नै डीजी बैंकको उदेश्य हो । ग्राहकलाई सबै सेवा सुविधाहरु कुनै बाधा अड्चन् र समस्यारहित किसिमले डिजिटल्ली रुपमा दिने यसको मुख्य उद्देश्य हो । अर्को ग्राहकहरुले रिक्वेष्ट गरेको काम हुन्छ त्यसलाई हामीले आन्तरिक रुपमा पनि डिजिटल्ली प्रोसेस गर्न सक्नु पर्छ । ग्राहकले अनलाइनबाट रिक्वेष्ट गर्यो तर हामीले म्यानुअल्ली रुपमा जाँदा धेरै समय खर्च हुन्छ भने त्यतिकै सेवा पनि ढिलो हुन्छ । त्यो उपयुक्त हुन सक्दैन भनेपछि हामीले गर्ने सम्पूर्ण कामको प्रक्रियालाई ‘इन्टरनल डिजिटाइजेसन’ मार्फत रियल टाइममा नै पूरा गर्ने उद्देश्य डिजी बैंकको हो ।

ग्राहकले रिक्वेष्ट गरेपछि इन्टरनल्ली अटोमेसन हुने प्रोसेसको काम हुन्छ । यसै प्रक्रिया अनुसार जानको लागि हामीले नविल डीजी बैंक स्थापना गरेका हौं । यो भर्खरै शुरु भएको छ । विस्तारै यसले आफ्नो नतिजा देखाउँछ । हामीले अहिले केही प्राेडक्टहरु लञ्च गरिसकेका छौं । जस्तै ‘नबिल फाेन लाेन प्राेडक्ट सार्वजनिक गरिसकेका छौं । त्यसमा ग्राहकले आफ्नो मोबाइलबाटै केही बटनहरु क्लिक गरेर रियल टाइमा नै अप्लाई गरेपछि ग्राहकको खातामा पैसा जान्छ ।

नेपाली बैंक तथा वित्तीय संस्थामा ऋण स्वीकृत हुन र पैसा निकास हुन धेरै दिन लाग्ने गरेको छ । मोबाइलबाटै अप्लाई गर्ने ऋण पाइन्छ भन्दा पत्याउँछ समाजले ?

ढुक्क हुनुहोस् । दुनियाँ भर्चुअल वल्डमा अभ्यस्त भइसकेका छन् । तपाईँ जुनुसुकै ठाउँ अर्थात विदेशमै भएपनि भौगोलिक रुपले कुनै समस्या गर्दैन । यो प्राेडक्ट भनेको हाम्रा अहिले भएका ग्राहकहरुका लागि हो । हाम्रा पुराना ग्राहकहरुले यस्तो सेवा पाउँछन् । उहाँहरुले गरेको कारोबारको आधारमा, उहाँहरुले लिएको अन्य ऋण, कति डिपोजिट गर्नु हुन्छ । यी विविध कुराहरु हेरेर अध्ययन तथा विश्लेषण गरिसकेपछि सिस्टम आफैले एप्रुभ र डिस्एप्रुभ गर्ने काम गर्छ । यसमा मानिसको भूमिका हुँदैन । यो ग्राहक यति रुपैयाँ ऋणको लागि योग्य छन् भनेर सिस्टमले नै पत्ता लगाइसकेपछि स्वतहः ऋण दिने वा नदिनेबारे सिस्टमले नै निर्णय गर्छ ।

यो कत्तिको विश्वासिलो प्रविधि हो ?

विश्वासको प्रमुख आधार भनेको बैंकसँगको सम्बन्ध आफूले गरेको कारोबार, ग्राहकको फाइनान्सियल ब्यवहार र बैंकको ग्राहक बनेको समयावधि हो । यी सबै कुराले ऋणको निर्धारण गर्छ । जति बढी कारोबार गरेको छ त्यति धेरै प्वोइन्ट पाइन्छ । त्यति गरेपछि हाम्रो सिस्टमले यो व्यक्ति ऋणको लागि योग्य छ र यसलाई यति रकमसम्म दिन सकिन्छ भन्ने पत्ता लाउँछ । त्यसपछि हामीले ग्राहकको मोबाइलमा मेसेज पठाउँछौं । ग्राहक त्यसमा सहमत भएपछि हामीले पैसा पठाउँछौं । ऋण लिनका लागि कम्तिमा ६ महिना अगाडिदेखि कारोबार गरेको ग्राहक हुनु पर्नेछ ।

डीजी बैंक लञ्च भएको पनि २ महिना बितिसक्यो । यो समयावधिमा तपाईँका ग्राहकहरु तथा स्टेक होल्डरहरुबाट के कस्ता प्रतिक्रियाहरु पाउनु भयो ?

प्रतिक्रियाहरु राम्रै आइरहेका छन् । सबै उत्साहित नै हुनुहुन्छ । हाम्रो एक नम्बरका स्टेक होल्डर भनेका ग्राहकहरु नै हुन् । दोस्रो स्टेक होल्डर नेपाल राष्ट्र बैंक हो भने हामो तेस्रो स्टेक होल्डर हाम्रा सेयर होल्डर र इन्भेस्टर हुन् । उहाँहरु सबै निकै उत्साहित हुनुहुन्छ ।  उहाँहरुले हामीलाई धेरै नै सपोर्ट गरिरहनु भएको छ । स्यावासी दिइरहनु भएको छ । त्यसबाट हामीलाई थप उर्जा मिलेको छ । हामी पनि उत्साहित भएका छौं ।

डिजी बैंक लण्च गरेपछि के परिवर्तन भयो त ?

डीजी बैंक आफैमा कुनै प्राेडक्ट होइन । यो बैंकको एउटा स्ट्रक्चर हो । यसले बैंकको सम्पूर्ण डिजिटल क्रियाकलाप क्रिएट, मेन्टेन, मनिटरिङ तथा बजारमा पठाउने काम गर्दछ । डीजी बैंक शुरु भइसकेपछि हामीले अन्य दुई तीन वटा प्राेडक्टहरु पनि ल्यायौं । नबिल  फाेन लाेन, त्यो भन्दा अगाडि क्यूआर क्यास भन्ने प्राेडक्ट ल्यायौं । त्यसमा तपाईहरु बैंकमा आउनु भयो तर चेक बुक ल्याउन बिर्सनु भयो भने तपाईँ मोबाइल स्क्यान गरेर क्यास लिन सक्नु हुन्छ । त्यो पूरा पेपरलेस प्रक्रिया हो ।  त्यसैगरी, हामीले मोबाइल बैंकिङको नयाँ भर्जन अपरेट गरेका छौं । त्यसमा विभिन्न विशेषताहरु छन् । त्यसको मूख्य विषेशता भनेको ग्राहकले मोबाइलको पिन नम्बर बिस्र्याे भने आफैले नै रिसेट गर्न मिल्ने बनायौं । त्यसले पनि धेरै कुरा सहज भएको छ ।

अर्को, ग्रिनपिन भनेर सुरु गरेका छौं । पहिले बैंकले ग्राहकले कार्ड लिँदा कागजमा पिन नम्बर लेखेर दिन्थे । अब आफैले गएर एटीएममा पीन सेट गर्न सकिन्छ । पहिले एटीएम कार्ड हरायो भने धेरै समस्या हुन्थ्यो । अब जुनसुकै ठाउँबाट पनि आफैले पिन सेट गर्न सकिन्छ । पहिलेको सबै प्रोसेस हटाएर हामीले ग्राहकले आफै एटीएमको पीन सेट गर्न सक्ने नयाँ सुविधा ल्याएका छौं । ग्राहकलाई हप्तौं दिन लाग्ने त्यो काम अब केही छिनमै हुने भयो । यस्ता धेरै प्राेडक्टहरु हामी विस्तारै ल्याउँदै गर्छौं ।

भेटिएको वा चोरी भएको एटीएम गलत मान्छेले प्रयोग गरेको रहेछ भने नि ?

यसको एउटा प्रोसेस हुन्छ । जस्तै तपाईँले एटीएमको पिन नम्बर बिर्सनु भयो । पिन बिर्सिएपछि तपाईँ एटीएममा जानु हुन्छ । नयाँ पिनका लागि प्रोसेस गर्नुहुन्छ । तपाईँ खातावाला ग्राहक होकि होइन भनेर हामीले त्यसमा केही प्रोसेसहरु अवलम्बन गर्नका लागि अनुरोध गर्छौं । ग्राहकको रजिष्ट्रेसन भएको मोबाइल नम्बरमा हामीले पिन नम्बर पठाउँछौं । त्यो कोड ग्राहकले एटीएममा हाल्नु पर्ने हुन्छ । त्यसबाट तपाईँ त्यहि नै व्यक्ति हो भन्ने प्रमाणित हुन्छ । त्यसपछि एटीएमले ग्राहकलाई नयाँ पिनसेट गर्नको लागि अप्सनहरु दिन्छ । यो रियल टाइममा नै हुन्छ । कुनै समय नै लाग्दैन ।

अहिले पनि देशका धेरै ठाउँमा इन्टरनेटको पहुँच छैन । तर त्यो ठाउँका सर्वसाधारणहरु नविल बैंकको बैंकिङ सर्भिस कसरी पाउने ?

यस्तो पूर्वाधार निर्माण बैंक एउटैले गरेर सम्भव पनि हुँदैन । त्यसमा सरकारको सहयोग पनि चाहिँन्छ । पछिल्लो समय सरकारले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिने नीति लिएको छ । स्थानीय तहमा इन्टरनेट कनेक्टिीभीटी पुर्याउने भन्ने नीति छ । अहिले पनि ६० प्रतिशतभन्दा बढी नागरिकमा इन्टरनेटको पहुँच छ । सरकारले, मोबाइल अपरेटरहरुले बनाएको पूर्वाधारमा हामीले जानु पर्ने हुन्छ । अबको दुई वर्षभित्रै नेपालका नागरिकमा इन्टरनेटको पहुँच राम्रो हुन्छ सबै इन्टरनेटको पहुँचमा हुन्छन् भन्ने विश्वासका साथ हामीले नयाँ प्राेडक्ट तथा योजनाहरु ल्याएका हौं र अझैँ पनि ल्याउने छौं ।

परम्परागत बैकिङ कारोबारमा अभ्यस्त हुँदै आएका ग्राहकलाई कसरी डिजिटल कारोबारमा अभ्यस्त बनाउदै हुनुहुन्छ ? ग्राहकलाई सिकाउन वा जागरण ल्याउन के गर्नुहुन्छ ?


हामीले जति नयाँ प्राेडक्टहरु ल्याउँछौं त्यो भन्दा धेरै सेक्युरिटीमा पनि ध्यान दिन्छौं । संसारमा चलिरहेको बेष्ट टेक्नोलोजीहरुलाई राखेर डाटा तथा प्रविधिगत रुपमा सुरक्षित रहनका लागि प्रयास गर्छौं । हामी आफु सेक्युरिटीमा कन्भिन्स भइसकेपछि मात्रै ग्राहकलाई बुझाउँछौं । ग्राहकलाई पनि प्रयोग गर्न अनुरोध गर्छौं । हामीलाई अलिकति पनि शंका लागेको खण्डमा हामी त्यो कुरालाई बजारमा जान दिँदैनौं ।  त्यसैले यसमा ग्राहकले धेरै चिन्ता गर्नु पर्ने अवस्था हुँदैन । ग्राहकले धेरै परिश्रम गरेर विश्वासका साथ बैंकमा पैसा डिपोजिट गर्नु हुन्छ । बैंकले पनि त्यही विश्वासका साथ ग्राहकको डाटा तथा पैसा नै राख्छन् ।

हामीले ग्राहकलाई वित्तीय साक्षरताका लागि हामीबाट हुन सक्ने प्रयासहरु गरिरहेका छौं । कुनै नयाँ प्राेडक्टहरु ल्याउने बित्तीकै त्यसलाई कसरी प्रयोग गर्ने भनेर ग्राहकहरुको लागि भिडियोहरु बनाएर सामाजिक सञ्जाल लगायतका प्रविधिहरुबाट ग्राहक समक्ष पुर्याउछौं ।

हाम्रा स्टाफहरुलाई पनि त्यो प्राेडक्टको विषयलाई लिएर तालिम प्रदान गर्छौं । उनीहरुले पनि ग्राहकहरुलाई सिकाउँछन् । त्यसमा हाम्रा शाखाहरुको पनि धेरै ठूलो हात हुन्छ । सञ्चार माध्यमहरुमार्फत पनि हामी हाम्रा ग्राहकहरुलाई जानकारी गराउँछौं । जब स्थिति सहज हुन्छ व्यक्तिगत रुपमा पनि हामी हाम्रा ग्राहकहरुलाई सिकाउँछौं ।

नविल बैंकले बैंकको सिस्टम नै डिजिटल बनाउने उद्देश्यका साथ डीजी बैंक शुरु गरेको छ । यसमा कतिको रिक्स छ ? चुनौती के कस्ता देख्नु भएको छ ?

जोखिम जहाँ पनि हुन्छ । जोखिम हुँदै हुन्न भन्ने हुन्न । सकेसम्म जोखिमलाई न्यूनिकरण गर्दै अगाडि बढ्ने हो । टेक्निकल अर्थात साइवर सेक्युरिटी सम्बन्धि कुराहरुलाई ध्यान दिएर जोखिम कम गर्नको लागि संसारमा प्रयोग भइहरेको उच्चतम प्रविधि प्रयोग गर्छौं । आजसम्म नेपालमा धेरै पटक बैंकिङ फ्रड पनि भइरहेका घटना सुनिन्छन् । कहिले काहिँ एटीएम नै ह्याक भएका घटनाहरु सुनिन्छन् । ती जेसुकै भएको भएता पनि आजसम्म कुनै पनि ग्राहकको एक रुपैयाँ पनि नोक्सान भएको छैन । केही बैंकले आफूले घाटा व्यहोर्यो होला । तर, त्यहाँबाट ग्राहकको एक रुपैयाँ पनि घाटा हुँदैन । ग्राहकको आफ्नै लापरवाहीले खाताबाट पैसा घटेको हुन सक्छ । ग्राहकको कतै एटीएम चोरी भएर अर्थात पिन नम्बर अरुलाई थाहा भएर केही भएको होला तर अन्य कारणले ग्राहकलाई कुनै किसिमको नोक्सान हुँदैन । यो नविल बैंकको हकमा मात्र होइन अन्य बैंकको हकमा पनि यही हो ।

डीजी बैंकको विकाससँगै बैंकको सम्पूर्ण पूर्वाधार विस्तारका लागि तपाईहरुका के कस्ता योजनाहरु छन् ?

हामीले दुई वर्षदेखि तीन वर्षको बीचमा नविल बैंकलाई कम्पिलिट डिजिटल बैंक बनाउँछौं । हाम्रो उद्देश्य पेपरलेस नै बनाउने हो । तर त्यसमा लेसपेपर त अवश्य नै हुन्छ । अहिले ग्राहकले सम्पूर्ण काम बैंकमा आएर गर्नुहुन्छ । त्यो काम अबको दुई तीन वर्षपछि उहाँहरुले आफ्नो घर अर्थात अफिसमै बसेर गर्न सक्ने सुविधा हामी दिन्छौं । बैंकको कारोबार बढाउने, अन्तर्राष्ट्रिय लेभलमा पनि बैंंकलाई लिएर जाने भन्ने हाम्रो योजना छ । नविल बैंक अन्य ठाउँमा पनि विस्तार गर्ने भन्ने योजना छ । अन्य नयाँ प्राेडक्टहरु पनि ल्याउँदैछौं । हामीले विस्तारै आकर्षक प्राेडक्टहरु ल्याउने छौं । धेरै पाइप लाइनमा नै छन् । समय अनुसार नै हामी ती प्राेडक्ट सार्वजनिक गर्छौं ।

नेपाली बैंकिङ क्षेत्रमा डिजिटल कारोबारको आगामी यात्रा तपाईँले कस्तो देख्नु भएको छ ?

अब डिजिटल कारोबारको विकल्प छैन । डिजिटल गर्ने कि नगर्ने भन्नेमा दुविधा नै छैन । यो कसैका लागि च्वाइस पनि होइन । जसले यसलाई च्वाइसका रुपमा लिन्छ उ अवश्य नै पछाडि पर्छ । कहिले गर्ने, कुन गतिमा गर्ने र कुन लेभलमा गर्ने भन्ने कुरा मात्र च्वाइस हुन जान्छ । विश्व डिजिटलमा गइसकेको छ । नेपाल पनि डिजिटलमा विस्तारै फड्को मार्दै गएको छ । सरकारले पनि यसलाई प्राथमिकताका साथ हेरिरहेको छ । नेपालको प्राइभेट क्षेत्र पनि लागि परेको छ । बैंक वित्तीय क्षेत्रले पनि धेरै प्राथमिकता दिइरहेका छन् । त्यसैले ‘डिजिटल इज नट मोर अ च्वाइस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.