काठमाडौँ महानगरका ३२ वटै वडाको राजस्व अनलाइनबाटै, ११ दिनमै साढे एक करोड राजश्व संकलन

  २०७७ असोज ११ गते १७:२१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन माध्यमबाट राजश्व असुली गर्न सुरु गरेको ११ दिनमै १ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । महानगरले ३२ वटै वडाको राजश्व अनलाइन मार्फत तिर्न सक्ने व्यवस्था गरेपछि ११ दिनमै सो रकम संकलन भएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले पनि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताए।

‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै काठमाडौँ महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवानालाई बैकिङ तथा विद्युतीय प्रणालीबाट गर्ने उल्लेख गरेका थियौँ,’ अर्यालले भन्नुभयो, ‘अहिले कोभिड–१९ को महामारीका बीच पनि यो प्रणालीको विकास गरी सकारात्मक कामको थालनी गरेका छौँ । अनलाइन मार्फत राजश्व भुक्तानीको सुरुवातसँगै वडाहरुमा सेवाग्राहीको भिडभाड कम हुने र सेवा पनि प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।’

उनले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । ‘अबको प्रशासन सहभागितामुलक र पारदर्शी हुनुपर्छ । यसका लागि प्रबिधि नै उपयुक्त विकल्प हो भन्ने हेतूका साथ हामी अघि बढेका छौँ,’ उनले भने, ‘महानगरका हरेक सेवालाई अब विस्तारै विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लैजान्छौँ ।’

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिए । उनले ‘सेवा सुरु गरेको ११ दिनमा विभिन्न वडाबाट ८ सय ५० करदातामार्फत अनलाइन प्रणालीमार्फत राजश्व असुली भएको बताए ।

‘आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरेका छौँ, यो अवधीमा सबै भन्दा बढी घर–बहाल करमार्फत ७८ लाख ३७ हजार बढी प्राप्त भएको छ । त्यसैगरी सम्पत्ति कर शीर्षकमा २० लाख ८३ हजार संकलन भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.