अर्थ र संचारमन्त्री आफ्नै गुटबाट बनाउने प्रधानमन्त्रीको अडान, अर्थमा नेपाल पक्षले दाबी छोडेन

  २०७७ असोज ११ गते १०:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठनको गृहकार्यमा जुटेका छन् । अर्थ, सुचना तथा संचार प्रविधि र सहरी विकास मन्त्रालय खाली रहेको तथा सत्तारुढ नेकपाबाट दबाब आएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठनको गृहकार्यमा जुटेका छन् ।

मन्त्रिपरिषद पुनर्गठनका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भइसकेको स्रोतले जानकारी दियो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल सहमत नहुँदा केही ढिलाइ भएको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्री र प्रचण्डबीच कसलाई मन्त्री बनाउने, कसलाई हटाउने र कसलाई कुन मन्त्रालय दिने भन्ने करिब करिब सहमति भइसकेको छ, तर वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउनु भएकोले केही ढिलाइ भएको हो,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच अर्थ र सुचना तथा संचार प्रविधि मन्त्रालय प्रधानमन्त्री ओलीले चाहेको व्यक्तिलाई नै बनाउने सहमति भएको स्रोतले बतायो । तर, वरिष्ठ नेता नेपालले अर्थमन्त्रालयमा आफ्नो गुटको नेतालाई मन्त्री बनाउनु पर्ने अडान राखेका कारण केही ढिलाइ भएको हो ।

‘प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको सहमति अनुसार अर्थ र सुचना तथा संचार प्रविधि मन्त्रालय प्रधानमन्त्री ओलीले आफैसँग राख्ने वा आफूले चाहेको व्यक्तिलाई मन्त्री बनाउने भन्ने सहमति भइसकेको छ, मन्त्री बनाउँदा विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको समितिको मोडलमा जाने भन्ने कुरा छ,’ प्रचण्ड निकट एक नेताले भने ।

नेकपाभित्रको विवाद समाधानको लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठिन समितिमा ६ सदस्य थिए । यसमा २ जना प्रधानमन्त्री तथा नेकपा आध्यक्ष ओली गुटका, २ जना अर्का अध्यक्ष प्रचण्ड गुटका र २ जना वरिष्ठ नेता नेपाल गुटका नेता सहभागी भएका थिए । प्रचण्ड निकट नेताले दिएको जानकारी अनुसार अबको मन्त्रिपरिषदमा प्रधानमन्त्री तथा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड र नेपाल पक्षको सिफारिसमा करिब बराबर हुने गरी मन्त्री बनाइनेछ ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल पक्षलाई भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासनसहितका मन्त्रालय दिने प्रस्ताव गरेका छन् । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी छन् । त्रिपाठी नेकपाको समर्थनमा चुनाव जितेको ‘स्वतन्त्र’ उम्मेदवार हुन भने नेम्बाङ नेकपा नेता हुन् ।

बामदेवलाई गृह !

प्रधामन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच हालै राष्ट्रियसभामा मनोनयन गरिएका पार्टी उपाध्यक्ष बामदेव गौतमलाई बरिष्ठ उपप्रधानसहित गृहमन्त्री बनाउने सहमती भएको स्रोतले दाबी गर्यो । अहिलेका गृहमन्त्री रामबहादुर थापा बादललाई अर्काे मन्त्रालय दिने प्रस्ताव गरेर गृहबाट हटाउन दुबै अध्यक्षले यस्तो रणनीति बनाएका हुन् ।

तर, गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपति कार्यालयको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा विचाराधिन रहेकोले पनि मन्त्रिपरिषद पुनर्गठनको लागि केही ढिलाई भएको स्रोतको भनाइ छ ।

उपाध्यक्ष गौतमले बरिष्ठ उपप्रधानसहित अर्थमन्त्रालयको नेतृत्व खोजिरहेका उनी निकट स्रोत बताउँछ । तर, अदालत मुद्दा विचाराधिन रहेकोले गौतमलाई कुनै मन्त्रालय दाबी गरिरहदा हालै मनोनितको रुपमा पाएको सांसद पद नै गुम्ला कि भन्ने त्रास पनि रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई अर्थमन्त्रालयमा दाबी नगरी मन्त्रिपरिषदमा सहभागी भएर प्रधानमन्त्रीलाई सहयोग गर्न तयार भएमा आफूले सक्दो सहयोग गरिदिने बचन दिएको स्रोतको भनाइ छ ।

‘तपाईं बरिष्ठ उपप्रधानसहित कुनै मन्त्रालयको जिम्मेवारी लिएर मन्त्रिपरिषदमा आउनुस्, मलाई सहयोग गर्नुहोस्, अर्थमन्त्रालयको दाबी छोडिदिनुस्, तपाईंको मुद्दा अदालतमा विचाराधिन छ, यसरी तपाईं आउँने हो भने म पनि सक्दो सहयोग गर्छु, भनेर प्रधानमन्त्रीले भन्नुभएको रहेछ,’ प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसमक्ष राखेको प्रस्ताव उधृत गर्दै स्रोतले भन्यो ।

पाण्डेलाई अर्थमन्त्री बनाउन नेपाल पक्षको जोड

प्रधानमन्त्री ओलीले अर्थ र सुचना तथा संचार प्रविधि मन्त्रालयको नेतृत्व आफ्नो पक्षको नेतालाई दिने अडान राखेपनि वरिष्ठ नेता नेपाल पक्ष भने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनु पर्ने अडानमा छ । अर्थमन्त्रीको रुपमा विगतमा राम्रो काम गरेको, राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक तथा आर्थिक विषयको विश्लेषण गरी परिस्थितिलाई अनुकल बनाउन सक्ने निडर व्यक्तित्वका रुपमा पहिचान बनाएका पाण्डेलाई अर्थमन्त्री बनाउँदा कोभिड–१९ पछि थला परेको नेपाली अर्थतन्त्रलाई त्राण दिन सकिने नेपाल पक्षको दाबी छ ।

अर्थमन्त्रीको लागि ओलीको रोजाइमा को छ ?

प्रधानमन्त्री ओली अर्थमन्त्रालय आफैसँग राख्नुभन्दा पनि आफूले चाहेको व्यक्ति अर्थमन्त्री बनाउने कसरतमा छन् । आफूले सबैभन्दा बढी विश्वास गरेको व्यक्ति डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने आफ्नै पार्टी र संविधान नै वाधक बनेपछि उनलाई प्रधानमन्त्रको विशेष आर्थिक सल्लाहकार बनाएर बालुवाटारमा लगिएको छ ।

प्रधानमन्त्री ओलीले कसलाई अर्थमन्त्री बनाउन खोजिरहेका छन् भन्ने खुलेको छैन ।

‘पहिलो पटक प्रधानमन्त्री बन्दा उहाँले महेश बस्नेतलाई उद्योगमन्त्री बनाउनु भएको थियो, मन्त्रीको रुपमा बस्नेतको कामको प्रशंसा नै भयो, त्यसैगरी कुनै ठूला वा प्रभावशाली वा सामान्य नेतालाई अर्थमन्त्री बनाएर पनि अघि बढ्न सक्नुहुन्छ’, ओली निकट एक नेताले भने ।

तर, पार्टीभित्रको विवाद समाधानको लागि सदस्यका रुपमा राखिएका पूर्व अर्थमन्त्री पाण्डेले खेलेको भूमिकाप्रति पनि प्रधानमन्त्री ओली सकारात्मक रहेको बताइएको छ । यसैकारण पाण्डेप्रति ओली पूर्ण रुपमा नकारात्मक नै छन् भन्ने पनि होइन ।

महन्थ ठाकुर पनि सरकारमा !

जनता समाजवादी दल पनि सरकारमा सहभागी हुन तयार रहेको दाबी स्रोतले गरेको छ । सो पार्टी सरकारमा सहभागी हुनको लागि केही चरणमा कुराकानी भइसकेको र अब चाढै निष्कर्षमा पुग्ने गरी छलफल अघि बढेको स्रोतले बतायो ।

यद्यपि, सरकारमा सहभागी हुने विषयमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि सहमत नरहेको स्रोतको भनाइ छ । यादव र भट्टराई सहमत नभए पाटी विभाजनै गरेर भएपनि पूर्व राजपाहरु सरकारमा सहभागी हुन सक्ने स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.