बजार खुलाइए पनि व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो

  २०७७ असोज १० गते १५:२२     विकासन्युज


काठमाडाैं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइएपनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो छ । खासगरी चीन तर्फको केरुङ नाकाबाट मालबस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन् ।

चाडपर्व नजिकिदै छ । व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका बस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ । तर यस वर्ष कोभिड-१९ संक्रमण जोखिमका कारण चीन तर्फको केरुङ नाकाबाट कुनैपनि समाग्री भित्रिन सकेको छैन् । जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ । बजारका व्यापारीहरु पनि मालबस्तु नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन् ।

खासगरी लत्ताकपडा चीन तर्फबाट सबैभन्दा धेरै आयात हुन्छ । तर यस वर्ष आयात गरिएको समान पनि केरुङ नाकामै रोकिदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । बजारमा प्रयाप्त सामग्री नहुँदा बजार भाउपनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन् ।

काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भएपनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन् । चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुनसक्ने पनि उनीहरुले बताए । व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरु छन् ।

नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढदै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै समान आयात गर्न सकेका छैनन् । केरुङ नाकामा आएका १ हजार भन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो । व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएकाछन् । कन्टेनरहरु छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.