रसुवागढी नाका खोलेपछि व्यवसायी उत्साहित, दशैंमा सामान अभाव र महँगाे हुने चिन्ता हट्याे

  २०७७ असोज ८ गते १४:४२     विकासन्युज

काठमाडौं । विगत ८ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलेपछि व्यवसायीहरु उत्साहित भएका छन् । दशैं नजिकिँदै गर्दा सामान भित्र्याउन नपाएका उनीहरु अब दशैंमा सामान भित्र्याउन पाइने भएपछि खुसी भएका हुन् ।

चीनसँगको व्यापारको प्रमुख नाका रसुवागढी हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी विभिन्न अवरोधका कारण अर्बौ रुपैयाँको सामान नाकामै रोकिएको थियो । अब नाकामा राेकिएका १२ सयभन्दा बढी कन्टेनर  नेपाल भित्रिने छन् ।

पहिले कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । यसरी दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले सो नाकामा कन्टेनरको लाइन लागेको थियो ।

अब विस्तारै ती सबै कन्टेनर निर्वाध रुपमा नेपाल प्रवेश गर्नेछन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले रसुवागढी नाका खुलेको जानकारी दिए ।

‘हिजो एउटा ट्रक नेपाल भित्रिएको र आजदेखि दैनिक ५ वटा ट्रक कन्टेनर नेपाल भित्रने छन्, कोभिड–१९ पछि दैनिक ५ वटा ट्रक कन्टेनर नेपाल भित्रन दिने सहमति भएको छ, अब निर्वाध रुपमा सामान नेपाल आउने छ,’ उनले भने ।

आज नेपाल विद्युत प्राधिकरणले निकै अघिदेखि भित्र्याउन पहल गरेका सामान नेपालतर्फ आएका खड्काले जानकारी दिए ।

नेपाली व्यवसायीले अघिल्लो वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्नलगायत सामग्रीका कन्टेनर अड्किँदा एकातर्फ ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने अर्कातर्फ बजारमा त्यस्ता वस्तुको अभाव देखिन थालेको छ ।

व्यवसायीहरुले दशैं नजिकिँदै गर्दा दशैंका लागि चाहिने सामानहरु जहाज चार्टर गरेर ल्याइरहेका थिए । उनीहरुले जहाज चार्टर गरर ल्याउँदा महँगो मूल्य तिर्नु पर्ने बाध्यता थियो भने अब दशैंमा ग्राहकले पनि सामानको चर्को मूल्य तिर्नु पर्ने अनुमान धेरैले गरेका थिए ।

तर, अब नाका खोलिएसँगै चर्को मूल्य तिर्नु पर्ने बाध्यता हटेको छ भने सामानको अभाव पनि नहुने भएको छ । नाकामा रसुवाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्ण रूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरेका थिए ।

अब नाका खोलेसँगै आफुहरु खुसी भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘यो दशैंमा सामान ल्याउन पाइन्न कि भन्ने थियो, सक्नेले चर्को मूल्यमा ढुवानी भाडा तिरेर जहाज चार्टरमार्फत सामान ल्याइरहेका थिए, धेरैले सामानको अभाव पनि हुन्छ कि भन्ने अनुमान गरेका थिए, अब त्यो समस्या हटेको छ,’उनले विकासन्युज सँग भने ।

उनले अब सम्बन्धित निकायसँग समन्वय गरेर नाकामा अड्किएको सबै सामान नेपाल ल्याउने बताए ।  मौसमले साथ दिए छिट्टै नै सबै सामान न]पाल आइपुग्ने उनले बतए ।

तातोपानी नाका बन्द अवस्थामै

रसुसवागढी नाका खोलिए पनि तातोपानी नाका भने हालसम्म बन्द अवस्थामा नै छ ।

माघ पहिलो साताबाट बन्द रसुवा र तातोपानी नाका चैतको अन्तिम साताबाट सञ्चालनमा आएका थिए । तर, बाढीपहिरो तथा कोभिडका कारण पूूर्ण रूपमा सञ्चालन हुन सकेका थिएनन् ।

अब रसुवागढी खुल्ने भएपनि तातोपानी नाका भने बन्द अवस्थामा नै रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.