खुल्यो रसुवागढी नाका, आज विद्युत प्राधिकरणको सामान नेपाल भित्रिदै

  २०७७ असोज ८ गते १४:०४     विकासन्युज

काठमाडौं । चीनले आठ महिनादेखि लागू गरेको नेपालमाथिको अघोषित नाकाबन्दी सकिएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई कारण देखाउँदै चीनले गरेको नाकाबन्दी हिजो (असोज ७) देखि सकिएको हो ।

असोज ७ गतेदेखि रसुवागढीमा नाकाबाट चिनियाँ सामान भित्रन थालेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले जानकारी दिए । हिजो एउटा ट्रक नेपाल भित्रिएको र आजदेखि दैनिक ५ वटा ट्रक कन्टेनर नेपाल भित्रने प्रमुख भन्सार अधिकृत खड्काको भनाइ छ ।

‘कोभिड–१९ पछि दैनिक ५ वटा ट्रक कन्टेनर नेपाल भित्रन दिने सहमति भएको छ, हिजो पहिलो दिन एउटा मात्रै ट्रक नेपाल भित्रिएको थियो, आज मौसमले साथ दियो भने ५ वटा र नभएपनि ३ वटा ट्रक कन्टेनर नेपाल भित्रदै छन्, करिब ३ हप्तादेखि ठप्प रहेको रसुवागढी भन्सार नाकाबाट सामान भित्रन लागेको छ,’ प्रमुख भन्सार अधिकृत खड्काले भने ।

रसुवागढीमा नेपालका सामान बोकेर आएका १२ सय जति ट्रक कन्टेनर रहेका नेपाली व्यापारीहरुले बताएका छन् । आज नेपाल विद्युत प्राधिकरणले निकै अघिदेखि भित्र्याउन पहल गरेका सामान नेपालतर्फ आएका खड्काले जानकारी दिए ।

‘अहिले क्रेनको सहयोगबाट कन्टेनरका सामान अनलोड हुँदैछ, कुनै हेभ्भी सामान होला जस्तो देखिन्छ, सायद विद्युत प्राधिकरणका सामान होला,’ उनले भने ।

रसुवागढी नाकामा काम गर्ने मजदुर तथा ड्राइभरलाई क्वारेन्टिनमा राख्ने र १५/१५ दिनमा पीसीआर परीक्षणको रिपोर्ट चिनियाँ पक्षलाई बुझाउने सहमती नेपाली पक्षले गरेको छ । सो नाकामा करिब ५० जना कामदार तथा ड्राइभर कार्यरत हुन्छन् ।

चिनियाँ पक्षले रसुवागढी नाका खोल्न नचाहे पनि नेपाल सरकारले सो नाका खोलेर चीनसँगको स्थलमार्गबाट हुने व्यापार सुचारु गर्न अनुरोध गरेको थियो । रसुवा जिल्ला कोभिड प्रभावित नरहेको तथा सो रोग संक्रमण विरुद्ध सबै प्रकारका स्वास्थ्य उपाय अबलम्बन गर्ने नेपाली पक्षको प्रतिवद्धतापछि नाका खोलिएको हो । यस्तै, चीनले लामो समयदेखि नाका बन्द गरेर नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भन्ने बारेका समाचार सार्वजनिक हुन थालेपछि चीनमाथि थप दबाब परेको थियो । यद्यपि, चीनले करिब ३ हप्ता अघि पनि केही दिन नाका खोलेर पुन बन्द गराएकोले अब कतिन्जेल नाका खुल्ला रहन्छ भन्ने सन्देह भने बाँकी छ ।

सम्बन्धित सामग्री

८ महिनादेखि चीनको नाकाबन्दी, सरकारमा बस्नेहरुले देखाएनन् चासो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.