यात्रु आफैंले टिकट काट्न थालेपछि ट्राभल एजेन्सी कामविहीन, अर्बौंको लगानी संकटमा

  २०७७ असोज ७ गते १८:०५     सन्ताेष राेकाया

काठमाडौं । यात्रु आफै र एयरलाइन्स कम्पनीहरुले जहाजको टिकट काट्न थालेपछि ट्राभल एजेन्सीहरुको व्यवसाय नै धरापमा पर्ने देखिएको छ ।

ट्राभल एजेन्सीहरुले लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुका लागि टिकट काट्ने तथा बुकिङ गर्दै आएको काम अब एयरलाइन्स कम्पनीहरुले आफै र यात्रुले गर्न थालेपछि व्यवसाय नै संकटमा पर्ने होकि भन्ने चिन्ता ट्राभल एजेन्सीहरुलाई परेको छ ।

अहिले यात्रुले देश तथा विदेशका विभिन्न ठाउँमा जहाजबाट जानका लागि आफैले अनलाइनबाट अर्थात सम्बन्धित एयरलाइन्सबाट लिन थालेपछि ट्राभल एजेन्सीहरु कामबिहिन हुन थालेका छन् ।

टिकट काट्न छिटो छरितो र समय पनि खर्च नहुने भएपछि उपभोक्ता अर्थात यात्रुहरुले अनलाइन माध्यमबाट नै टिकट खरिद गर्न थालेका हुन् । अनलाइन माध्यमको ट्रेण्ड बढेपछि अब आफुुहरुको व्यवसाय नै संकटमा पर्ने होकी भन्ने चिन्ता भएको व्यवसायीहरुले बताएका छन् ।

विगत ३ वर्षदेखि हवाई उडानका लागि काटिने टिकटको भुक्तानी ट्रेन्ड फेरिएको भएपनि अहिले लकडाउन पछि भने त्यसको ट्रेण्डमा धेरै परिवर्तन आएको छ । किनकी अहिले धेरै मानिस लकडाउन भइसकेपछि डिजिटल माध्यममा धेरै अभ्यस्त भइसकेका छन् ।

लामो समयदेखि टिकट काट्नेमा एकाधिकार गर्दै आएका ट्राभल एजेन्सीहरु अब कसरी व्यवसाय गर्ने भन्ने तनावमा परेका छन् । एकातर्फ कोरोना भाइरसले निम्त्याएको क्षति र अर्को तर्फ व्यवसाय नै एयरलाइन्स कम्पनीहरुले आफ्नो पक्षमा लिएपछि उनीहरु तनावमा परेका हुन् ।

पछिल्लो समय यात्रुहरुले आफुले जानु पर्ने गन्तव्यको लागि जहाजको टिकट सिधै एयरलाइन्सको वेबसाइट, विभिन्न ट्राभल ओटिटी र वालेटबाट खरिद गर्न थालेका छन् । यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पछिल्लो समय यात्रु आफैले अनलाइन अर्थात विभिन्न वालेट मार्फत टिकट खरिद गर्ने संख्या बढेको बताए । उनका अनुसार लकडाउन पछि जहाज खुलेदेखि त्यो संख्या झन बढेको छ ।

‘अनलाइनबाट टिकट काटेपछि त्यसबाट पाउने छुट पनि ग्राहक आफैले पाउँछ, समय लगायत अन्य खर्च पनि त्यति हुँदैन,अहिले सबै डिजिटल माध्यममा अभ्यस्त भएको हुनाले पनि यो संख्या बढेको हो,’ उनले विकासन्युजसँग भने ।

उनले श्री एयरलाइन्सको कूल बिक्रीको आधाभन्दा बढी अनलाइन माध्यमबाट हुने गरेको बताए । उनले यात्रुले आफैले टिकट काटेपछि विभिन्न समयमा बढी भाडा तिर्नु पर्ने बाध्यता हट्ने बताए । सामन्य अवस्थामा नेपालमा आन्तरिक टिकट बिक्री १५ अर्ब बढीको हुने गरेको छ।

व्यवसाय खोसियोः ट्राभल एजेन्सी

लामो समयदेखि जहाजको लागि टिकट काट्दै आएका ट्राभल एजेन्सीहरुले एयरलाइन्सहरुले आफ्नो व्यवसाय नै खोसिएको गुनासो गरेका छन् । नेपाल एसाेशिएसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईँले ट्राभल एजेन्सीहले लामो समयदेखि गर्दै आएको व्यवसाय नै संकटमा परेको बताए ।

‘टिकट सिस्टमबाट नै बेच्ने हो तर, प्याकेज एयरलाइन्सले बेच्ने काम नगरुन् भन्ने हाम्रो भनाई हो । जुन काम जुन क्षेत्रले गर्ने हो त्यही काम गर्नु पर्छ । ट्राभल एजेन्सीहरुले गर्दै आएको प्याकेज एयरलाइन्सले नै बुकिङ गर्न थालेपछि हामीले के गरेर खाने भन्ने हो । उनीहरुले त्यो काम छोड्नु पर्छ,’ उनले भने ।

अर्बौंको लगानी संकटमा

ट्राभल क्षेत्रमा अर्बौंको लगानी रहेको व्यवसायीहरुले बताएका छन् । लामो समयदेखि टिकट काट्ने र टुर प्याकेजिटङको काम गर्दै आएका ट्राभल एजेन्सीहरुको काम अब यात्रु आफैले र एयरलाइन्सहरुले गर्दै आएपछि ट्राभल एजेन्सीहरु चिन्तामा परेका छन् ।

पर्यटन विभागका अनुसार हाल नेपालमा ३४ सय ट्राभल एजेन्सीहरु छन् । चालु अवस्थामा भने १४ रहेका छन् । गुरागाइँका अनुसार नाटामा मेम्बरका रूपमा ११ सय एजेन्सीहरु छन् ।

ती एजेन्सीहरुले नेपालमा अर्बौंको लगानी गरेका छन् । गुरागाइँले ५० प्रतिशतकाे सानै काम गरिरहेका ५० प्रतिशतको ठूलै धरौटी राखेर व्यवसाय गरिरहेको बताए ।

‘कोरोना भाइरसको कारण पर्यटन क्षेत्रलाई धेरै समस्या तथा क्षति भएको छ, अहिले फेरि हाम्रो व्यवसाय नै धरापमा पर्ने अवस्था आएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.