कालोबजारी गर्नेबाट जफत गरिएको प्याज बिहिबारदेखि बिक्री गरिने

  २०७७ असोज ७ गते १७:४५     विकासन्युज


काठमाडौं । सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहिबार(असाेज ९ गते)देखि बिक्री वितरण गर्ने भएको छ । सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो ।

मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायी सहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै विक्री गर्न लागिएको बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख सर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारबाट विक्री वितरणको काम सुरु हुने बताउनुभयो । उक्त प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत बताए ।

गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । बजारमा प्याजको भाउ अत्याधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो । त्यस क्रममा कलोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल शिल गरिएको थियो । सोही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट विक्री गर्न लागिएको हो । प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.