नेपालमा कोभिड-१९ काे औषधि उत्पादन शुरु, देउराली जनताले पायो सरकारबाट अनुमति

  २०७७ असोज ७ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी औषधि उत्पादक देउराली जनता फर्मास्यूटिकल्सले कोभिड-१९ का सघन बिरामीको उपचारमा प्रयोग हुने औषधि फाभिर-२०० ट्याव उत्पादन शुरु गरेको छ । उक्त उत्पादनलाई औषधि व्यवस्था विभागले असोज ६ गते अनुमति दिएको छ ।

‘हामीले नेपाल सरकारबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलो पटक फाभिर-२०० ट्याव औषधी उत्पादन शुरु गरिसकेको छ’ कम्पनीले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘कोभिड-१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था विभागबाट असोज ६ गते स्वीकृति प्राप्त भएको छ ।’

कोभिड-१९ का बिरामिहरुको उपचार/प्रयोगको लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुने गरि औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।

महामारीको यस विषम परिस्थितिमा फाभिर-२०० ट्याव नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड-१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन सम्पूर्ण तयारी गरिसकेको देउराली जनताले जनाएको छ ।

‘आज नेपाल यो औषधि उत्पादन गर्ने आठौं देश भएको छ । फाभिर-२०० ट्याव नेपालमै पहिलो पटक उत्पादन गरि कोभिड-१९ बिरामीहरुको उपचारमा समेत योगदान पुर्याउन सकेकोमा हामी देउराली-जनता परिवार गौरवान्वित छौ’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘हालको महामारीको असर कम गर्न र महामारीलाई फैलिन नदिन हामी सबैले आ-आफनो क्षेत्रबाट योगदान गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ’ देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक हरिभक्त शर्माले भने- ‘हामी यही उत्तरदायित्वका साथ आफ्नो ठाँउबाट यो महामारीको प्रकोपबाट राष्ट्र र जनतालाई पर्न सक्ने प्रभाव कम गर्नका लागि अनबरत प्रयत्न गरिरहेका छौं ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तत्वावधानमा कोभिड-१९ को उपचारको लागि यस औषधिलाई ‘इन्भेष्टिगेशनल ड्रग फर इम्मरजेन्सी यूज’को अनुसन्धान गर्नको लागि क्लिनिकल स्टडीज गरि त्यसको प्रभावकारिताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तयारी समेत गरिरहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीमा कार्यरत स्वदेशी र विदेशी विश्वविद्यालयहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकहरुलाई यस्तो विषम परिस्थितीमा विगत ६ महिनादेखि निरन्तर र अथक परिश्रम गरि आफ्नो व्यवसायिक जिम्मेवारी निर्बाह गर्दै यो महत्वपूर्ण औषधि नेपाली जनतालाई शिघ्र उपलब्ध गराउंन सफलता प्राप्त गरेकोमा कम्पनीले यस कार्यमा संलग्न सबै वैज्ञानिक र प्राविधिकहरुलाई हादिक धन्यबाद दिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को कारण संसारभरको मानव समुदाय अहिले कठिन समयको सामना गरिरहेको छ । नेपालमा पनि यसको संक्रमणको दर उच्च गतिमा समुदायमा बढिरहेको छ । हाल देशका ७७ बटै जिल्लाहरुमा दुर्तरुपमा फैलिरहेको कोभिड-१९ महामारीको रोगबाट हालसम्म देशभर ६६ हजारा भन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन् भने ४२९ जना व्यक्तिको निधन भईसकेको छ ।

यसको संक्रमण क्रमश बढ्दै जाने देखिएकोले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फाभिपिराभिर ओरल ट्याब्लेट् एन्टीभाइरल औषधीलाई विश्वका धेरै मुलुकहरुले कोभिड-१९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेका छन् । हालसम्म फाभिपिराभिर ट्याव औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड-१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.