यसपाली चिनियाँ सामान पाउन मुस्किल, महँगिने भो दशैं

  २०७७ असोज ५ गते १४:२९     सन्ताेष राेकाया

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै छ । अघिल्ला वर्षहरुमा दशैं आउन एक महिना मात्र बाँकी रहँदा आम नागरिकमा उत्साह र  बजारमा त्यतिकै चहलपहल हुन्थ्यो । मानिसहरु सपिङ गर्न ब्यस्त हुन्थे भने गाउँ लैजानका लागि सामान तयार पारेर बसेका हुन्थे । धेरैले बस वा जहाजकाे टिकट  पनि बुकिङ गरिसकेका हुन्थे ।

तर, त्यो माहोल यसपालिको दशैंमा देखिँदैन । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकोे कारण धेरै सर्वसाधारणहरु घर भित्रै रहेका छन् भने धेरैले यसपालिको दशैंमा घर जाने तयारी पनि गरेका छैनन् । यसपालिको दशैंमा धेरैले गाउँ जाने योजना पनि बनाएका छैनन् । अघिल्ला वर्षहरुमा एक महिना अगाडि नै टिकट बुकिङमा व्यस्त हुने नागरिकहरु यसपालि भने घर जाने कि नजाने भन्ने दुविधामा छन् ।

दशैं नेपालीहरुरुको लागि मिठो मसिनो खाने मात्र होइन शरिरमा चिटिक्क सफा लगाउने पर्वका रुपमा पनि चिनन्छ । धेरैले दशैंमा नयाँ नौलो कपडा मात्र होइन धेरै सामानहरु खरिद पनि गर्ने गर्छन् ।

तर, यस वर्षको दशैं नरमाइलो अर्थात खल्लो मात्र होइन महँगो पनि हुने पक्का छ । नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सामान चनबाट आयात गरिन्छ । अन्य देशको भन्दा चीनको सामान सस्तो पनि हुन्छ । तर, चीनबाट आउने सामानहरु विगत १० महिनादेखि नाकामै थन्किएको र नाका बन्द भएको कारण ती सामान नआउने पक्का र अरु दशैंका सामानहरु पनि नआउने भएपछि नेपाली बजारमा चीनको सामान पाउन मुस्किल हुने भएकाे छ ।

यसपालिको दशैंमा नेपाली बजारमा भारत, कोरिया, जापान लगायतका देशका कपडा तथा अन्य सामान मात्र हुनेछन् । नेपालमा आउने अधिकांश सामान स्थलमार्ग भएर आउँछ । स्थल मार्ग बन्द भएपछि सक्ने व्यापारीहरु जहाज चार्टर गरेर सामान ल्याउन थालेका छन् । यो पनि सामान महँगो हुने अर्को कारण हो ।

अहिले व्यापारीहरुले चर्को शुल्क तिरेर चीनबाट हवाई चार्टरमार्फत सामान ढुवानी गरिरहेका छन् । ढुवानी भाडा नै चर्को पर्ने भएपछि उनीहरुले अवश्य नै सामानको मूल्य पहिलेको भन्दा महँगोमा नै बिक्री गर्नेछन् ।

व्यापारी व्यवसायीहरुले यसपालिको दशैंमा बजारमा सामानको अभाव नहोस् भनेर महँगो ढुवानी भाडा तिरेर भएपनि चार्टरमार्फत सामान आयात गरिरहेको उनीहरुले बताएका छन् । यसले पनि महँगो हुन सक्नेछ । उसो त व्यापारीहरुले पहिलेको सामान पनि स्टक अवस्थामा रहेकोले त्यति धेरै सामान ल्याउन आवश्यक नभएको बताइरहेका छन् ।

नेपाली व्यापारीहरुले विशेषतः चीनबाट कपडा जुता लगायतका सामानहरु ल्याउने गरेका छन् । दशैंमा अधिकांश मानिसले खरिद गर्ने नै कपडा र जुत्ता हो । ती सामान स्थल मार्गबाट नआएपछि र ती सामानहरु अन्य देशबाट आयात भएपछि अब सर्वसाधारणहरुले महँगो मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता हुनेछ ।

चीनसँग व्यापार हुने प्रमुख नाका तातोपानी २०७२ को भूकम्पदेखि नै बन्द थियो । गत बैशाखमा केही दिनको लागि नाका खोलिए पनि कुनै एउटा ‘ताल फुटेर बाढी आउन सक्ने’ भन्दै तातोपानी नाका पुनः बन्द भएको छ ।

तातोपानी नाका बन्द भएपछि चीनसँगको स्थल व्यापारको केन्द्र बनेको रसुवागढी भन्सार नाका गत माघ १५ गतेदेखि बन्द छ । चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि बन्द गरिएको सो नाका बीचमा केही दिन खुलेपनि पुनः ठप्प छ ।

चीनले गत माघ १५ गतेदेखि बन्द गराएको रसुवागढी नाका गत असारमा १२ दिन जति खुलेको थियो । नाका खुलेको समयमा पहिरोको कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका पछि कोरोनाको कारण देखाउँदै बन्द गरिएको हो ।
त्यसपछि नेपाली ब्यापारीहरुले चीनबाट सामान ल्याउन सकिरहेका छैनन् ।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले धेरै सामान व्यापारीहरुसँग स्टक नै रहेकोले पहिलेको मूल्यमा नै किनबेच हुने बताए ।

‘चीनको सामानको मूल्य अन्य देशको भन्दा सस्तो नै हुन्छ, यसपालि चीनतर्फका नाकाहरु बन्द भएकोले भारत लगायतका देशहरुबाट सामान आयात भइहरेको छ, व्यापारीले सामान आफुले किनेको र त्यसमा केही नाफा लिएर बिक्री गर्नेछन्, ग्राहकलाई थोरै मात्रामा महँगो पर्न सक्छ, उनले भने ।

त्यति धेरै महँगो भने नहुने उनको भनाई छ । ‘६ महिनादेखि व्यापार नै भएको छैन्, व्यापारीले मूल्य बढ्ने बढाउने भन्ने कूरा हुन सक्दैन, अब चीनबाट आउँछ कि आउँदैन भन्ने कूराले पनि नेपाली बजारको मूल्य तय गर्ने छ,’ उनले भने ।

भारतबाट भने सामान आइरहेको उनले बताए । तर, भारतको सामान चीनको भन्दा महँगो हुने गर्छ । त्यसमा पनि कोरिया, जापान लगायत देशका सामानहरु महँगो हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.