भरतपुरकाे प्राकृतिक चिकित्सालयबाट ५० जना कोरोना मुक्त

  २०७७ असोज ५ गते १२:५२     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरु सङ्क्रमण मुक्त भएका हुन् ।

गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत छन् । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिइ उपचार गराइएको उनले जानकारी दिए । बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ ।

बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ । महानगरमा रहेका सङ्क्रमितलाई यहाँ राखेर उपचार गरिएको छ । अन्य ३ सय ४ जना होम आइसोलेशन र २० जना वडाले निर्माण गरेको क्वारेन्टिनमा छन् । महानगरमा हालसम्म १ हजार १ जना सङ्क्रमित भइसकेका छन् । यो संख्या जिल्लामा १ हजार ५ सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । ती मध्ये १० जना भरतपुर महानगरपालिकाका रहेका छन् ।

पूर्वी चितवनमा चार वटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरक फरक ठाउँमा आइसोलेशन तयार गरेका छन् । लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेशन र घरमै राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.