उद्योगी अग्रवालसहित यी हुन् सरकारबाट विभूषित भएका उद्योगी व्यवसायी

  २०७७ असोज ३ गते २०:४३     विकासन्युज

काठमाडौं । सरकारले आज विभिन्न उद्योगी तथा व्यवसायीहरुलाई सम्मानित तथा विभूषित गरेको छ । पाँचौं संविधान दिवसको अवसरमा सरकारले एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीहरुलाई विभूषित गरेको हो । उनीहरुलाई सरकारले मानपदवी, अलंकार र पदकले विभुषित गरेको हो ।

उद्योगी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित भएका छन् । शंकर ग्रुपले गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै आफ्नो सबै व्यवसायबाट १८ अर्ब रुपैयाँ सरकारलाई राजस्व तिरेको थियो ।

सन् १९६० मा रावत मल गोल्यानले स्थापना गरेको व्यवसाय नै अहिलेको शंकर ग्रुपको सुरुवातको पहिलो खुड्किलो थियो । यहीबाट यस समूहको व्यवसायीक यात्रा निरन्तर अगाडि बढ्दै आएको हो । उनै रावतका कान्छा छोरा शंकरलाल अग्रवालले आफ्नो बुबाले सुरु गरेको उद्योगमा नयाँ इट्टा थप्दै लगे । उनले १९७९ मा शंकर ग्रुपको आधारशिला राखेका थिए ।
शंकरलाल अग्रवालले स्थापना गरेका उद्योगको सूची हरेक वर्ष वढ्दै गएको छ । माइनिङ, सिमेन्ट, स्टील, सेन्थेथिक, कपडा, एफएमसिजी, बीमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा यो समूहले लगानी गरेको छ भने ट्रेडिङ व्यवसायमा पनि कम्पनीले धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ । ट्रेडिङमा इलेक्ट्रोनिक्सदेखि अटोमोवाइलसम्मका क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले नेपालमा नै टीभीएस ब्राण्डको मोटरसाइकल एसेम्बल यूनिट समेत स्थापना गरिसकेको छ ।
विगत ४५ वर्षमा शंकरलाल अग्रवालको नेतृत्वमा कम्पनीले ठूलो फड्को मारेको छ । यही समूहकै उत्कृष्ट कम्पनी जगदम्बा स्टील नेपालको सबैभन्दा ठूलो स्टील उत्पादक रहेको छ । यही कम्पनीमा मात्रै २५०० जनाले रोजगारी पाइरहेका छन् । जगदम्बा स्टील सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्ने उत्पादन मूलक उद्योग समेत हो । जगदम्बा ग्रुप र जगदम्बा होल्डिङ शंकर ग्रुप अन्तर्गतका कम्पनीहरु हुन् ।अहिले उनले नेतृत्व गरिरहेको सबै कम्पनीमा १० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । पछिल्ला वर्षहरुमा यो समूह ठूला करदाताको सूचीमा टप ५ भित्र पर्दै आएको छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ पनि सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन्। उनी क्वेष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हुन् । औंषधि उद्याेगकाे क्षेत्रमा याे अग्रणी उद्याेगकाे रूपमा स्थापित रहेकेा छ ।

महासंघका कार्यकारिणी सदस्य भरत आचार्यले पनि राष्ट्रपतिबाट संविधान दिवसको अवसरमा विभुषण पदक प्राप्त गरेका छन् । युवा उद्यमी आचार्यकाे नेतृत्वमा एक दर्जन भन्दा बढी उद्याेग सञ्चालनमा छन् । महासंघका कार्यकारिणी सदस्य तथा सुन व्यवसायी ज्योत्सना श्रेष्ठले पनि विभुषण पाएकी छिन् ।

युवा उद्यमी चिराग गोयल, चन्द्र प्रकाश खेतान, व्यवसायी लाक्टा फुर्टि शेर्पा, बिमलमान श्रेष्ठ लगायत पनि सम्मानित भएका छन् । संबिधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.