प्रतिस्पर्धी कम्पनीलाई टक्कर दिन शिवम् शिमेन्टले भित्र्यायाे विदेशी सीईओ, टाटा र विर्ला ग्रुपमा काम गरेकाे अनुभव

  २०७७ असोज १ गते १७:११     विकासन्युज

काठमाडौं । शिवम् शिमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।

उनी भारतीय नागरिक हुन् । कम्पनीले श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको स्वीकृति लिएर उनलाई नियुक्त गरिएको जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृतको दरखास्त माग गर्दै पत्रपत्रिकामा सूचना प्रकाशित गरेको तर कम्पनीले चाहे जस्ताे व्यक्तिबाट आवदेन नपरेपछि विदेशी नागरिकलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलले बताए । सिमेन्ट उद्योगमा तीन दशक लामो काम गरेको, कम्पनीको वित्त व्यवस्थापन, गुणस्तर र प्रविधि सबै पक्षमा राम्रो ज्ञान र अनुभव भएका व्यक्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको उनले विकासन्युजसँग बताए ।

‘उहाँको नेतृत्वमा कम्पनीको व्यवसाय हिजो भन्दा राम्रो हुनेछ । कम्पनीले पहिला भन्दा बढी नाफा गर्नेछ । कम्पनीको ब्राण्ड इमेज माथि जानेछ’  उनीबाट कम्पनीले गरेको अपेक्षाबारे गोयलले बताए ।

शिमेन्ट बजारमा चर्को प्रतिस्पर्धा रहेको र कोभिड महामारी पछिको चुनौति पार लगाउँदै कम्पनीलाई अगाडि बढाउन अनुभवी व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको गोयलको भनाई छ ।

नयाँ सीईओ विजनेश एडमिनिस्ट्रेशन र टोटल क्वालिटी म्यानेजमेन्ट विषयमा मास्टर डिग्री गरेका छन् भने साइन्स र टेक्नोलोजि विषयमा डिप्लोमा गरेका छन् ।

उनी सन् २०१७ पछि जिंदल पैंन्थर सिमेन्टको प्रमुख कार्यकारी अधिकृत थिए । त्यसअघि  उनी टाटा कन्सल्टिङ इन्जिनियर्स कम्पनीमा सिनियर जनरल म्यानेजरको रुपमा ११ वर्ष काम गरेका थिए ।

त्यस्तै उनले भारत कै इरकम कन्सल्टिङ इन्जियर प्रालिमा दुई वर्ष जनरल म्यानेजर थिए भने त्यसअघि विर्ला कर्पोरेशनमा २१ वर्ष काम गरेका थिए ।

शिवम् सिमेन्ट कम्पनी नेपाली बजारमा नेतृत्वदायी कम्पनी भएको र यस कम्पनीप्रति सर्वसाधारण लगानीकर्ताको पनि अपेक्षा धेरै भएकोले लगानीकर्तालाई आकर्षक प्रतिफल दिन चाहेको अध्यक्ष गाेयलले बताए ।

४ अर्ब ४० करोड चुक्ता पुँजी भएको यस कम्पनीले गत वर्ष सर्वसाधारणमा सेयर निष्काशन गरेको थियो । यसको सेयर मूल्य प्रतिकित्ता ७३८ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.