जागिर नभएकाहरुलाई सरकारले दशैं खर्च दिनु पर्छः पूर्व अर्थमन्त्री पाण्डे

  २०७७ भदौ ३१ गते १७:२९     सुरेन्द्र पाण्डे

कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र संकटमा परेको सबैलाई थाहै छ । यसले नेपालको अर्थतन्त्र पनि निकै धरापमा पारेकाे छ । सम्पूर्ण व्यापार व्यवसाय ठप्प भइरहेको बेला अर्थतन्त्र चौपट छ भने धेरै मानिस बेरोजगार भएका छन् । अब हामीले न्यू नर्मलबाट व्यवसाय सुुरु गर्नु पर्छ । न्यू नर्मल भनेको बदलिएको अवस्था हो । अहिलेको समय भिन्न खालको छ । यो अवस्था कायमै रह्यो भने भोलि ठूलो समस्या तथा संकट उत्पन्न हुन पनि सक्छ ।

यही अवस्थामा हामीले कसरी अगाडि बढ्ने ? व्यवसाय कसरी सञ्चालन गर्ने ? आफ्नो व्यवसायलाई कसरी जोगाउने र कसरी सफल हुने भन्ने कुरालाई न्यू नर्मलले ब्याख्या गर्छ । हिजो हामी कोरोना लाग्नु हुँदैन भन्ने पक्षमा थियौं । तर आज ५७ हजारभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । हामीले सुरक्षित बस्नु भनेको लुकेर बस्नु होइन । अब हामी लुकेर बस्नु हुँदैन । यो अवस्थामा कसरी अगाडि जाने भन्ने सबै व्यवसायीले सोच्नु पर्छ । अहिलेको संकटमा नाफा कम गरेर पनि कसरी व्यवसाय सस्टेन गर्ने भन्ने तर्फ हामीले ध्यान दिनु पर्छ ।

दाेस्रो कुरा, हामीले यो महामारीमा दुईटा अभ्यास हेर्यौं । एउटा चाइनाले पूरै लकडाउन गर्यो । अर्को, भारतमा अलिकति लकडाउन र अलिकति खुकुलो बनाएर काम गर्यो । त्यसबाट हामीले धेरै कूरा सिक्नु पर्छ । अरुको मात्र पाठ सिक्ने भन्दा पनि आफुले गर्दै गरेको अनुभवबाट पनि धेरै कुरा सिक्न र अगाडि बढ्न सकिन्छ ।

अहिले एप्पल र गुगलले  एप बनाएर साे एपबाट साझेदारी तथा सहकार्य गरेर काम गरिरहेका छन् । त्यो एपले ३० मिटर वरपर कोही कोरोना संक्रमित छन् भने जानकारी दिन्छ । साउथ कोरियामा पनि मानिस जम्मा भएको समयमा त्यहाँ भएको मान्छेमा कोराेना छ भनेर सबैको मोबाइलमा र नजिकै रहेको प्रहरीलाई जानकारी दिन्छ। विभिन्न देशहरुमा यस्ता खालका प्रविधिहरुको विकास भइहरेको छ ।

त्यस्तै खालका प्रविधि पनि हामीले विकास गर्न सक्नु पर्छ । एप डाउनलोड गरेर सिस्टममा चल्न सकिन्छ । यस विधिबाट पनि काम लगाउन सकिन्छ । यसको उपाय पनि खोजी गर्न आवश्यक छ । अहिले बिचकै बाटोबाट जानु पर्छ । पुरै लकडाउन पनि नगर्ने र र पुरै खुकुलो पनि नगर्ने । कोरोना नियन्त्रण र यसको भ्याक्सिन नआउँदासम्म हामी बिचको बाटोबाट हिँड्न सक्छौं ।

हामीले व्यवसायलाई बचाउने कूरामा सफल भयौं भने दौडिने र नाफा कमाउने दिन त आइहाल्छ । यसमा व्यवसायी र सरकारले पनि साथ दिनु पर्छ । प्रविधिको विकासमा सरकारले पनि सहयोग पनि गर्नु पर्छ । व्यवसाय खोलेको ठाउँमा संक्रमण भइहाल्यो भने त्यसको व्यवस्थापनको कुरामा स्थानीय सरकार र व्यवसायी मिलेर फण्ड राख्न सक्छन् । जसले गर्दा व्यवस्थापन र संक्रमितको उपचार गर्न सकिन्छ । यसमा निजी क्षेत्र र सरकारले साझेदारी गर्नुपर्छ । यसले सबैलाई सघाउ पुग्छ । मजदुरको रोजगारीको सुनिश्चितता पनि हुन सक्छ ।

अर्को, चाडपर्व नजिकिँदैछन् । नेपालीहरुको महान पर्व दशैैं नजिकै आउँदैछ । दशैंलाई हामीले नमनाउन पनि सक्दैनौं । अब धेरै मानिस गाउँ जाने क्रम बढ्न सक्छ । यसले शहरको संक्रमण गाउँ जाने र फेरि फर्केर आउँदा शहरमा रोग लिएर आउने सम्भावना हुन सक्छ । यसलाई न्यूनिकरण गर्न घर जानेहरुलाई परीक्षण र तिनीहरुको निगरानीमा सरकारले भूमीका खेल्नु पर्छ । यसले गर्दा हुन सक्ने जोखिम कम गर्न सकिन्छ ।

अहिले धेरैलाई रोजिरोटीको समस्या पनि भइहरेको छ । धेरै मानिस बेरोजगार भएर बस्नु पर्ने बाध्यता छ । धेरै मानिसहरु फ्रिलेन्सरको भूमीकामा पनि हुन्छन् । ती बेरोजगारहरुका लागि सरकारले १ महिनाको लागि राहात अर्थात दशैं खर्च दिन सक्नु पर्छ ।

व्यवसायीहरुले पनि मजदुरहरुलाई खुसी पार्न सक्नु पर्छ । अहिलेको व्यवहारले पछि समस्या पर्न सक्छ । अहिलेको नराम्राे ब्यवहारले हामी पछि धेरै राम्रा प्रविधि सम्बन्धि ज्ञान भएका कर्मचारी गुमाउन सक्छौं । मजदुरको हितको पाटो पनि व्यवसायको हितको पाटो हो है भनने सोच्नु पर्छ । हामीले कामदार र श्रमिक एकै सिक्काका दुई पाटा हुन् सोच्नु पर्छ । यसतर्फबाट पनि ध्यान दिन जरुरी छ ।

अर्को कूरा, सरकारले यो वर्ष खर्च गर्नै पर्छ । सरकारले साढे ७ खर्ब पूँजीगत तर्फ छुट्याएको छ । यो सबै खर्च हुन्छ कि हुँदैन ? यदि हुन सक्दैन भने खर्च गर्ने क्षेत्रलाई तय गरेर जानु पर्छ । स्थानीयतर्फबाट प्राविधिक कर्मचारी अभाव हुन नदिन काम गर्नुपर्छ । हाम्रो पूँजीगत खर्चले पनि निजी क्षेत्रलाई सहयाेग पुग्छ ।

यसमा सर्पोट गर्ने काम सरकारले गर्नुपर्छ । जति खर्च सरकारले गर्छ त्यति लाभ निजी क्षेत्रलाई हुन्छ । त्यसैले खर्च हुन सक्ने क्षेत्र तय गरेर सरकारले पूँजीगत खर्च गर्न सक्नुपर्छ । अर्को मह्तवपूर्ण कूरा भनेको आयात रोक्नेतर्फ निजी क्षेत्र लाग्नु पर्छ । जसले निजी क्षेत्रलाई नै सहयोग पुग्छ । नर्मल स्थिती भयो भने आयात बढ्न सक्ने अवस्था छ । अहिलेको समय भनेको लगानीकर्ता र कामदार पनि बाँच्ने वातावरण बनाउनु पर्छ । यसो गर्यो भने हामी नर्मल स्थितीमा फर्किन सक्छौं ।

(नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिले गरेको भर्च्युअल कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेले राखेको विचार)

One comment on "जागिर नभएकाहरुलाई सरकारले दशैं खर्च दिनु पर्छः पूर्व अर्थमन्त्री पाण्डे"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.