कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई राहत, साढे ८ करोड बराबरको व्याज छुट, यस्ता छन् भावी योजनाहरू

  २०७७ भदौ ३१ गते १७:०५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७६/७७ मा ८ करोड ४३ लाख रुपैयाँ बराबरको सञ्चयकर्ता कर्जाको व्याज छुट दिएकाे छ । कोभिड १९ को कारण कोषले १५ हजार ९ सय ३ जना सञ्चयकर्तालाई उक्त रूपैयाँ बराबरकाे कर्जाकाे व्याज छुट दिएकाे हाे ।

कोषले हालसम्म ३ खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ काे वित्तीय विवरण अनुसार काेषले साे अवधिमा पाैने ४ अर्ब रूपैयाँ बढी लगानी गर्न सफल भएकाे हाे ।

कम्पनीका अनुसार कम्पनीकाे सञ्चय कोषमा ३ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ र निवृत्तभरण कोषमा ४७ करोड रुपैयाँ रहेकाे छ । त्यस्तै, जगेडा कोष तथा बचतमा ३० अर्ब ७५ करोड रूपैयाँ सञ्चित रहेकाे छ ।

हाल सञ्चय कोषमा करिब ६ लाख २८ हजार र निवृत्तभरण कोषमा करिब १४ हजार ४ हजार योगदानकर्ता रहेका छन् । कम्पनीले यी दुबै कोषमा वार्षिक ७ प्रतिशत व्याजदर दिँदै आएको छ ।

त्यस्तै, कम्पनी भदाै ३० गतेदेखि स्थापनाको ५९औं वर्षमा प्रवेश भएको छ । यस अवसरमा कोषले सबै सञ्चयकर्ता तथा निवृत्तभरण योजनाका योगदानकर्ताकलाई दिँदै आएको सेवा तथा सुविधालाई थप गुणस्तरीय र दिगो बनाउने प्रतिवद्धता गरेको छ ।

सञ्चयकर्ताले के के सुविधा पाउँछन् ?

कोषबाट सञ्चयकर्ताले व्याज तथा मुनाफा, सापटी सुविधा, सामाजिक सुरक्षा सुविधा र अन्य सामाजिक सुरक्षा कार्यक्रमहरुको सेवा सुविधा पाउने छन् । आर्थिक वर्ष २०७५/७६ मा सञ्चयकर्ताले सञ्चय कोष तथा निवृत्तभरण कोषमा ७ प्रतिशत व्याजदर र सञ्चय कोषमा १.१५ प्रतिशत मुनाफा पाएका छन् ।

त्यस्तै, सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत सञ्चयकर्तालाई साधारण रोग लागि उपचार गराएको हकमा प्रत्यके आर्थिक वर्षमा एक लाख रुपैयाँ र घातक रोगको उपचारको अकमा सेवा अवधिमा अधिकतम १० लाख रुपैयाँसम्म रकम सोधभर्ना प्रदान गरिने कोषले जनाएको छ ।

सुत्केरी तथा शिशु हेरचाह कार्यकम अन्तर्गत प्रति प्रसुति ७ हजार ५ सय, दुर्घटना क्षतिपूर्ति योजनामा निज वा निजको हकवालालाई २ लाख, काजक्रिया अनुदान हकवालालाई आर्थिक अनुदान स्वरुप ४० हजार प्रदान गरिने कोषले जानकारी गराएको छ ।

ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको कोषको शाखा कार्यालयहरु विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा रहेको छ । त्यस्तै, सेवा केन्द्रहरु धनकुटा, सिंहदरवार र पुल्चोकमा रहेको छ ।

यस्ता छन् भावी योजनाहरु ?

कोषको भावी योजना अन्तर्गत एकिकृत अवकाश कोषको माध्यमबाट कोषलाई सार्वजनिक क्षेत्रको उत्कृष्ट सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा विकास गर्ने पहिलो प्राथमिकतामा रहेको छ । त्यस्तै, सञ्चयकर्ताको हित र फाइदालाई प्रतिफलमुखी बनाउन वित्तीय स्रोतको सुरक्षित, प्रभावकारी, प्रतिफलयुक्त र दक्षतापूर्वक परिचालन गर्न उपयुक्त लगानीका क्षेत्र पहिचान गरी लगानी विविधिकरण गर्दै लैजाने रहेको छ ।

सञ्चयकर्ता सेवा प्रवाहलाई उक्त गुणस्तरीय, प्रभावकारी र प्रविधिमैत्री बनाई सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्न प्रविधिमैत्री सेवा प्रवाहको वातावरण तयार गर्ने कोषको योजना रहेको छ ।

सूचना प्रविधिको अधिकतम उपयोग, असल कार्यसंकृतिको विकास, कार्यसम्पादन सुधार एवं अन्य निकायसँगको सहकार्यको माध्यमबाट कोषको संस्थागत क्षमता अभिवृद्धि गर्ने रहेको छ । त्यसैगरी, कोषको आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने र संस्थागत सुशासनलाई जोड दिने कोषको भावी योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.