प्याजको मूल्य दोब्बर, बजारमा ७० रुपैयाँभन्दा सस्तो छैन तरकारी

  २०७७ भदौ ३१ गते ११:११     विकासन्युज

काठमाडौं । पछिल्लो समय दैनिक विभिन्न सामानको मूल्य बढ्दै गएको छ । दैनिक उपभोग्य सामानको मूल्य बढ्दै गएपछि सर्वसाधारणलाई समेत चुल्हो बाल्न कठिन हुने देखिन्छ ।

दैनिक उपभोग्य सामानको मूल्य दैनिक बढ्दै गएपछि नेपाली भान्सा समेत महँगो हुने निश्चित छ । आज मात्रै नेपालमा प्याजको मूल्य दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि यसको मूल्य महँगो पर्न गएको हो ।

अहिले बजारमा ७० रुपैयाँभन्दा सस्तोको सामान पाइँन छाडेको छ । कालीमाटी तरकारी बजारमा केही सामानको मूल्य ७० रुपैयाँभन्दा कम भएपनि खुद्रा बजारमा त्यो अवस्था छैन ।

भारतले प्याज निर्यातमा हिजो प्रतिबन्ध लगाएको बताएको थियो । प्रतिबन्द लगाएको दोस्रो दिन अर्थात आजै नेपालमा अघिल्ला दिनहरुभन्दा दोब्बरले बढेको हो ।

कालिमाटी थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ४४ रुपैयाँले बढेको छ । बुधबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ११९ रुपैयाँ पुगेको छ । यो मूल्य मंगलबारको तुलनामा करिब ६० रुपैयाँ बढी हो । मंगलबार नेपाली बजारमा प्याजको मूल्य ६० रुपैयाँमा किनबेच भइरहेको थियो ।

थोक बजारमै प्याजको मूल्य बढेर प्रतिकेजी १२० पुगेपछि खुद्रा बजारमा न्यूनतम १३० देखि १५० रुपैयाँसम्म किनबेच भइरहेको छ । सोमबार मात्रै भारतले प्याजको निर्यात सम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो ।

प्याज मात्रै होइन पछिल्लो समय विभिन्न सामानमा मूल्य बढ्दै गएको छ । हरियो सागको मूल्य पनि पछिल्लो समय बढ्दै गएको छ ।

आज प्रतिकेजी टमाटरको मूल्य ९५, आलुको मूल्य ९४, लसुन १६५, हरियो अकबरे खुर्सानी २९५ रुपैयाँमा थोक मूल्यमा किनबेच भइरहेको छ भने खुद्रा मूल्य झन महँगोमा किन्नु पर्ने बाध्यता बनेको छ ।

कालोबजारीया सलबलाए

दैनिक उपभोग्य सामानको मूल्य बढेसँगै कालोबजारी गर्नेहरुपनि सलबलाएका छन् । बजारमा सामानको मूल्यमा झन बढी कायम गर्नमा उनीहरु सक्रिय भएका हुन् । सामान खरिदबिक्रीमा विभिन्न तहहरु बनाएर सामानको मूल्य बढाउनमा उनीहरु सक्रिय देखिन्छन् ।

वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु गरेको बताएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जानकारी दिएको छ ।

मंगलबार नै कालीमाटीका ६ वटा पसलमा अनुगमन गरिएको वाणिज्य विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । ‘प्याजको मूल्य वृद्धिविरुद्ध गुनासो आएपछि आज अनुमगन गरेका छौँ, ६ वटा पसललाई पूर्जी काटिएको छ,’ उनले भने ।

तीन वटा खुद्रा र तीनवटा थोक पसलमा गरिएको अनुगमनमा ४५ रुपैयाँमा किनिएको प्याजलाई एक सय १० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको उनले बताए ।

कालोबजारी गर्ने एक जना पक्राउ

बजारमा प्याजमा कालोबजारी गर्ने एकजनालाई पक्राउ परेका छन् ।  यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् ।

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.