विजनेश आइडिया छ तर पैसा छैन ? हल्ट प्राइजले गर्नेछ करोडौं रुपैयाँ सहयोग

  २०७७ भदौ ३० गते ११:१०     संकल्प बराल

आजको समयमा युवा विद्यार्थीहरुलाई हरेक क्षेत्रमा प्राथमिकता दिने गरिन्छ, कारण हो उनीहरुमा भएको समाज परिवर्तन गराउन सक्ने विचारशक्ति । संसारभर ठूला व्यवसायीहरुले आफ्नो कम्पनीलाई नयाँ दिशातर्फ लैजानका लागि युवाहरुकै विचार आवश्यक ठानेर उनीहरुलाई प्रयोग समेत गरिरहेको पाइन्छ । तर बहुसंख्यक युवाशक्ति भएको हाम्रो देशमा भने युवाहरुको विचारलाई प्राथमिकतामा समेत राखेको पाइँदैन ।

हाम्रो देशमा कतिपय यस्ता युवा पनि छन् जोसँग उद्यम सञ्चालन गर्ने नौलो उपायहरु होलान् तर पूँजीको कमीले गर्दा त्यस्ता उपायहरु दिमागमै सिमित भएका होलान् । उनीहरुलाई पूँजी भएकाहरुले पत्याउन पनि गाह्रै पर्दछ । आखिर पैसाको माया कसलाई पो हुँदैन र ? हो, यस्ता उद्यमशील विचार भएका नव-युवाहरुप्रति मध्यनजर गर्दै यिनका विचारलाई संसारभर प्रस्तुत गर्ने प्ल्याटफर्मको रुपमा काम गरिरहेको छ ‘हल्ट प्राइज’ ले । र आज यस लेखमार्फत् यही ‘हल्ट प्राइज’ को बारेमा चर्चा गर्न लागिएको छ ।

के हो त हल्ट प्राइज ?

‘हल्ट प्राइज’ हल्ट इन्टरनेशनल विजनेश स्कुल र संयुक्त राष्ट्र संघको साझेदारीमा वर्षेनी गरिने विद्यार्थी प्रतियोगिता हो जहाँ विश्वभरका विद्यार्थीहरुले सहभागिता जनाएका हुन्छन् । यसलाई विद्यार्थीहरुको नोवेल प्राइज भनेर पनि चिनिन्छ । यस प्रतियोगितामा भाग लिने विद्यार्थीहरुले ३/४ जनाको आफ्नो समूह बनाउनु पर्ने हुन्छ । हरेक वर्ष हल्ट प्राइजले एउटा थिम अर्थात् विषयवस्तु चयन गर्दछ जसलाई आधार मान्दै प्रत्येक समूहले एउटा उद्यम कसरी सञ्चालन गर्न सकिन्छ, त्यो उद्यमले कसरी समाजको कल्याण गर्न सक्छ र त्यसबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने आइडियालाई निर्णायक मण्डल सामु प्रस्तुत गर्नुपर्ने हुन्छ ।

‘हल्ट प्राइज’ को यस वर्षको थिम भने ‘फुड फर गुड’ रहेको छ । यो थिममा आधारित रहेर विद्यार्थीहरुले जीवनको लागि अत्यावश्यक वस्तु ‘खाना’ कसरी परिवर्तनको सारथी र मानवताको समृद्धि पनि बन्न सक्छ भन्ने विषयमा आफ्ना उद्यमशील विचारहरु प्रस्तुत गर्नुपर्नेछ ।

निर्णायक मण्डललाई उत्कृष्ट लागेको समूहहरु कलेजस्तरबाट छनौट भएर देश बाहिर हुने क्षेत्रियस्तरमा प्रवेश गर्दछन् जहाँ उनीहरुको प्रतिष्पर्धा अन्तर्राष्ट्रिय तहका विद्यार्थीहरुसँग हुनेछ । त्यहाँबाट पनि विजेता भई चुनिएकाहरुलाई फाइनल राउण्डको लागि तयार पार्ने हेतुले समर विजनेश इन्क्यूवेटर पठाइन्छ जहाँ यी विद्यार्थीहरुलाई विशेष तालिम र परामर्ष दिइन्छ । यसले गर्दा उनीहरुलाई योजना बनाउन मद्दत पुग्दछ र आफ्नो उद्यमको थालनी गर्न सक्षम समेत हुनेछन् । फाइनल चरण चाहिँ संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा हुनेछ र यस चरणको विजेताले १० लाख अमेरिकी डलर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । रनर अपहरुले पनि राम्रो धनराशी पुरस्कार स्वरुप प्राप्त गर्न सक्नेछन् । विजेताहरुलाई त्यो रकम आफ्नो विजनेश आइडियालाई यथार्थमा परिणत गराउन प्रयोग गराउने उद्देश्यले दिइएको हो ।

नेपालमा हल्ट प्राइज

नेपालमा अन-क्याम्पस कार्यक्रम होस्ट गर्ने कार्यभार पुर्वाञ्चल विश्वविद्यालयले पाएको छ । यस विश्वविद्यालयको क्याम्पस डाइरेक्टरको रुपमा वसिम अन्सारी चयन भएका छन् । डाइरेक्टर अन्सारीका अनुसार यस प्रतिष्पर्धामा संसारभरका विद्यार्थीहरुले आफ्ना रचनात्मक विचारका साथ सहभागीता जनाउने छन् र केही वेग्लै कोणबाट सोच्न सक्ने आफ्नो क्षमताको प्रदर्शन पनि गर्नेछन् । जुन आजको समयमा जरुरी पनि देखिन्छ । त्यसैले ‘हल्ट प्राइज’ आफू र आफ्नो राष्ट्रलाई विश्व सामू चिनाउने एउटा सुनौलाे अवसर पनि हो । यो प्रतियोगिता यस वर्षको डिसेम्वरसम्म चल्नेछ ।

अन्सारी थप्छन्, “हाम्रो टिम अहिलेको कोभिडले निम्त्याएको असहज परिस्थितीका बावजुद पनि सारा कलेजहरुसँग भर्चुअल माध्यमबाट सम्पर्कमा रहेर धेरैभन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउने कसरतमा जुटेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.