ओशो रजनीश, कोरोना र कृषि

  २०७७ भदौ ३० गते ८:४२     राजु पौडेल

पृष्ठभूमि

ओशो रजनीश आफ्ना प्रवचनमा बारम्बार एउटा सत्य दोहोर्याइरहेका हुन्छन् । ‘प्रकाश अवरुद्ध भएमा नै छायाँ देखिने हो, छायाँ प्रकाशको अभाव हो, अनुपस्थिति हो’ ।

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी फैलावाटसँगै विद्यालय जाने उमेरका लाखौँ बालबालिका आफ्नो अन्योलग्रस्त शैक्षिक सत्रलाई दबाएर घरमै रमाइरहेका छन् । विभिन्न आयमूलक पेशा व्यवसायमा आवद्ध कामकाजी मानिस आउँदो भविष्य के हुन्छ ? भन्ने प्रश्न मात्र उठाइरहेका भेटिन्छन् । विगत नौ महिनादेखि मानिसको नियमित दैनिकी अवरुद्ध हुँदा समाजले भोगेका प्रतिनिधि उदाहरण हुन् यी । हुन्छ के ? छायाँको अनुमान त गर्न सकिएला तर वास्तविकता हाम्रो अनुमानसँग ठयाक्कै नमिल्न सक्छ ।

मान्छेलाई दुःख दिने दृश्य/अदृश्य धेरै कारक हुन्छन् । राप, ताप र सन्तापमा भोक र रोग थप्ने यस्ता कारकले पुस्तौँदेखि मानव जातिलाई आजित बनाउँदै आएका छन् । असिनाले बालीनाली सखाप पारेर आफ्नो अस्तित्व पनि मेटाउँछ । कष्टसाध्य मिहिनेतले लहलह बालीनाली झुलेका खेतबारीको शोभा मासिँदा त्यो किसानको असिनाप्रतिको आवेग आफैँ कल्पना गरौँ त ! अदृश्य भाइरस कोरोना कहरले पूँजीवादी विश्व बजारलाई त्यस्तै तहसनहस तुल्याएको छ ।

मान्छेले सधैँ गतिशीलताको मात्र कल्पना गरेको हुन्छ । गतिशीलता अवरुद्ध हुनु भनेको अँध्यारो हुनु हो । अँध्यारोको अर्को विशेषता हो, चिरपरिचित आफ्नै संघारमा पनि ठोक्किनु । आफ्नै सन्निकट अँध्यारो भविष्यसँग ठोक्किँदा आफैँले आफैँसँग एउटा स्वाभाविक प्रश्न गर्छ, अव के हुन्छ ?

के हुन्छ अब ?

‘जे हुन्छ, राम्रैका लागि हुन्छ’ आध्यात्मिक दर्शन गीताको सार हो यो । तर, यो यूग पाँच हजार वर्ष पहिलाको जस्तो आदर्शवादी यूग होइन जहाँ भक्तिभावको विसद् व्याख्याले दैनिक गर्जो टार्ने सुविधा प्राप्त होस् ।

देशको राजधानी काठमाडौं लगायतका अन्य मूख्य व्यापारिक नाकाहरूमा व्यवसायिक सटरहरू बन्द हुने क्रम बढ्दो छ । त्यस्ता स्थान विशेषको क्रय/विक्रयले जीवन गुजारा चलाएका हजारौँको पेशा व्यवसाय चौपट भएको छ भने त्यस्तो व्यवसायमा आश्रित लाखौँ मानिसहरूको सहरमा बस्ने आधार गुमेको छ । यसबाट एउटा सतही अनुमान लगाउन सकिन्छ कि, सहरप्रति मान्छेको मोह वाध्यतावंश भङ्ग हुँदैछ । अस्थायी सहरिया अब आफैँले छाडेको आफ्नै उद्गम गाउँ वा बजारोन्मुख गाउँमा फर्किन्छन् । बजारले पुरानै वा नयाँ शैलीको लय पकडेपछि त्यस्ता सटरमा नवप्रवेसी थपिन्छन् ।

अनेक मध्ये यो कोरोनाको एक मुख्य प्रभाव हो । जुन देशकै जनशक्तिलाई घरयासी दिगो आर्थिक विकासको मूलधारमा फर्काउने अत्यन्तै ठूलो मौका पनि हो । किनकि, सहरकेन्द्रीत जनसंख्याको केहि हिस्सा निष्क्रिय श्रम अव विकेन्द्रीत हुन्छ र पुनः गाउँ पस्छ । त्यसमा विदेशबाट फर्किने केहि र रेमिट्यान्सले निष्क्रिय बनेको श्रमशक्ति पनि थपिन्छ । तर, समस्या सहरबाट विस्थापित हुनेले आफ्नो उद्गममा के पेशा रोज्लान भन्ने नै हो । एक कृषि, दुई पशुपालन, तीन आयमूलक कुटीर उद्योगधन्दा, चार सहरमा रहँदा आफूले जे गरेको थियो त्यही अथवा अन्य केहि ? झट्ट भन्न सजिलो छ, कृषि ।

कृषिमा हाम्रो पूर्वाधारको चौपट अवस्था पछिल्लोपटक कृषकले भोगेको रासायनिक मलको चरम अभावको दृष्टान्त हेर्दा पुग्छ । बाँकी ट्रकका ट्रक तयारी तरकारी खोल्सामा फ्याँकिएका, उपभोक्ताको भान्छासम्म पुग्न तयारी अवस्थामा रहेका तरकारी बारीमा ट्याक्टर लगाइएका र क्यानका क्यान दुध पोखिएका श्रब्य/दृश्य समाग्रीका हामी दर्शक बनिरहेकै छौँ । दुर्भाग्यवंश, कृषि कर्मलाई निरूत्साहित तुल्याउने यस्ता गतिविधि पछिल्ला दिनमा झन् बढी भए । इण्डियाबाट आउने ट्रकका ट्रक तरकारीले बजारको माग पूर्ति गर्दैगर्दा नेपालको पाखा-पखेरामा उब्जेका तरकारी लकडाउनको पीडामा पिल्सिए । भनिँदै आएको कृषि क्रान्तिको आँधीबेहेरी उराल्नु पर्ने उपयूक्त मौकामा जुन हुँदै नहुनु पर्ने थियो ।

गर्ने के अब ?

भनिरहनु पर्दैन जल, जंगल र जमिन नेपालको आर्थिक अभ्यासलाई मौलिकतामा फर्काउने श्रोत हुन् । जलसँग सम्बन्धित उर्जा उत्पादन र जङ्गलसँग सम्बन्धित जडीबुटी र पर्यटनलाई छाडेर हामी जमिनमै केन्द्रीत हौँ ।

विसं २०४२ सम्म नेपालले खाध्यान्न निर्यात गर्थ्याे । नेपालको जमिन निर्यातयोग्य कृषि उपज उत्पादन गर्ने श्रोत हो । तराईका फराकिला फाँटमा उत्पादन हुने उपज निर्यातमा जान्थे । खाध्यान्न निर्यातको पहिचान बनाउने तराईमा पसारिएका फाँट बसाइँ-सराई र तीब्र सहरीकरणले खण्डित भए । जमिन खण्डित भएसँगै जमिनले उत्पादन क्षमता पनि गुमाउँदै गयो । लागत अनुरूपको प्रतिफल अथवा टिकाऊ मुनाफा नहुँदा कृषिको मात्र होइन जुनसुकै पेशा व्यवसायप्रतिको आकर्षण घट्छ ।

हामी भुक्तभोगी छौँ । जमिन खण्डिकरणले हाम्रो मौलिक पेशा कृषिलाई मास्यो । तीन वर्ष पहिला कित्ताकाट बन्द गरियो । सम्भवत कोरोनाले निष्क्रिय बन्दै गएको आर्थिक अभ्यासलाई ध्यानमा राखेर अहिले पुनः जमिनको कित्ताकाट फुकुवा गरिए पनि अदालतले रोकेको छ । कृषिमा आफ्ना देशका नागरिकालाई अभ्यस्त बनाउन साच्चै राज्यले चाहेको यदि हो भने पहिला-मूल सडकबाट चार हातको बाटो किनेर भित्र लमतन्न पसारिएका फाँटलाई मसान मन्स्याउने धजा काटेजस्तो काट्न दिईनु हुँदैन । भुइँको टिँप्न खोज्दा गोजीको खसेको पत्तो नपाउने निर्णय नेपालको सिङ्गो भविष्यको लागि प्रत्यूत्पादक छ । पहिलाको जस्तो निर्वाध कित्ताकाटले कोरोनाले गाउँ फर्केका जनशक्तिलाई आफ्नै उद्गममा टिकिखान दिँदैन । त्यसैमा संबिधानको मर्म बमोजिम स्थानीय सरकारलाई जिम्मेवार बनाइनुपर्ने यो विषयमा स्थानीय सरकारले नै कार्यान्वयनको तयारी पनि पुरा भइनसकेको बताउँदै आएका छन् ।

मूलतः पहाडी तथा उच्च पहाडी क्षेत्रमा परिवारलाई आवश्यक पर्ने मात्र उत्पादन गर्ने निर्वाहमूखी परम्परागत कृषि प्रणालीले हामीलाई पाल्यो-पोस्यो, हुर्कायो-बढायो । अनाज किनेर खानु पारिवारिक प्रतिष्ठामा ह्रास मानिन्थ्यो । बिक्री गर्नुभन्दा बरू श्रम वा अन्य कुनै त्यस्तै वस्तुसँग विनिमय गरिन्थ्यो । यस्तो संस्कारमा हामी आफू मात्र पालिएनौँ हामीले त्यो संस्कारलाई पनि सँगैसँगै पाल्यौँ-पोस्यौँ, हुर्कायौँ-बढायौँ । आज नीति निर्माणको तहमा त्यस्तै विचारको वाहुल्यता छ । जसलाई कृषि दिगो आर्थिक विकासको श्रोत हुन्छ भन्नेमा पटक्कै भरोसा लाग्दैन् । कृषिलाई जीवनयापनको स्रोत देखाइदिने यदि राज्यले हो भने दोस्रो-कृषिप्रतिको परम्परागत सोचमा परिमार्जन नीति निर्माणकै तहमा आवश्यक छ ।


निर्यातयोग्य र निर्वाहमूखी कृषिमा देशको ठूलो जनसंख्या निर्भर हुँदा हामी कृषिप्रधान मुलुक भयौँ । उद्योगधन्दा-कलकारखाना, वैदेशिक रोजगारी अथवा अन्य कुनै आयआम्दानीका श्रोतमा ज्यादै कम मानिसको पहुँच थियो । पेशा भनेकै कि शिक्षण कि कृषि । शिक्षक बन्ने चाँजोपाँजो मिलाउन नसक्ने सबै कृषक ! सजिलो थियो ।

यसको अर्थ कृषिलाई मान्छेले रोजिएको पेशा कहिल्यै बनाएनन् । दुर्भाग्य कृषिप्रधान मुलुकमा नै कृषि छाडिएको वा हेपिएको पेशामा पर्यो । पेशाका आधारमा मान-सम्मान दर्शाउने हाम्रो समाजमा कृषि पेशामा आवद्ध किसानका कुरा यसै पनि कम सुन्ने प्रचलन छ । ठाउँमा पहुँच पनि नभएका र भनसुनको कला पनि नहुँदा उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने माध्यम कृषक आफैँले छिचोल्न सक्दैनन् । फलत, समाजका टाठाबाठाले वास्तविक किसानको पसिनाको मूल्य तोक्ने छिद्र भेट्छ र खेतबारीमा आफ्नो हैकम स्थापित गर्छ । कूल लागतमा पनि कसिकसाउँ गरेर किसानका उत्पादन उठाउने त्यहिँ व्यक्तिले मनग्य मुनाफा राखेर उपभोक्तासम्म पुर्याउँछ । कृषि पेशा र कृषकलाई कृषि कर्ममा नै प्रोत्साहन राज्यले यदि गरिरहने हो भने तेस्रो-कृषक र उपभोक्तावीचको अनावश्यक विचौलीया विगविगी अन्त्य गरी आफ्नो उत्पादनको मूल्य आफैँ तोक्ने र उपभोक्तासम्म पुर्याउने अधिकार स्वयम् किसानलाई सुनिश्चित गरिनुपर्दछ ।

निष्कर्ष
रजनीश आज जीवित छैनन् । उनले कोरोना भोग्न पाएनन् । यदि यी दिनमा उनी जीवितै भएका भए सम्भवतः उनको अर्को श्रूतीमधूर प्रवचन आउँथ्यो होला ‘यहाँ आज जे छ, त्यो भोलि नहुनका लागि हो । हिजो जे थियो, त्यो आज नहुनका लागि थियो ।’ सत्य पनि त्यस्तै हुन्छ, हरेक विनासपछि समाजले गतिशीलता पक्डेका कैयन उदाहरण छन् । कोरोनाले विश्वलाई चल्दै आएका आनीबानी, व्यवहार, दृष्टिकोण आदिमा परिवर्तनका लागि दवाव सिर्जना गरेको छ । बदलिनु पर्छ हामी पनि, किनकि हामी जसमा अभ्यस्त थियौँ त्यो अहिले अवरूद्व छ ।

लेखकका यी निजी विचार हुन्
ट्वीटर @rajupaudel44

4 comments on "ओशो रजनीश, कोरोना र कृषि"

  • अचम्मको लेख देखेर मस्तिस्क तातेर आयो मेरो। त्यो एउटा साझा भनाइ जोडेर ओशोको शिर्षक राखेको देखेर।कोरोना र कृषि भन्ने शिर्षक के पर्याप्त थिएन र त्यसता यौन पिपासुको नाम जोड्नु पर्ने?
    हो चन्द्र मोहन जैन उर्फ ओशोले कोरोना नभोगी संसार छोड्नुपर्‍यो तर निजको मण्डिमा कैयौँले एच.आइ.भि. एड्स तथा भिरङगी जस्ता यौनजन्य रोगले त सखापै पार्यो त!के त्यहाँ कोरोना नै चाहिन्थ्यो र ?
    साझा बिचार !!!

  • सुशील ज्ञवाली says:

    पठनीय लेख

  • kishor uprety says:

    हाम्रो परम्परागत पेशा नै कृषि हो सवैले जानेको लोकले मानेको लेखकले राम्रोसँग विश्लेषण गर्नुभएको छ ।

  • बिनोद says:

    मूल सडकबाट चार हातको बाटो किनेर भित्र लमतन्न पसारिएका फाँटलाई मसान मन्स्याउने धजा काटेजस्तो काट्न दिईनु हुँदैन । भुइँको टिँप्न खोज्दा गोजीको खसेको पत्तो नपाउने निर्णय नेपालको सिङ्गो भविष्यको लागि प्रत्यूत्पादक छ । आहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.