दुई अर्बको लागतमा भरतपुरको पुल्चोक–गोन्द्राङ सडक ६ लेनको बन्ने

  २०७७ भदौ २८ गते १०:२५     विकासन्युज

भरतपुर । चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ । सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको हो ।

सडक डिभिजन भरतपुर कार्यालयका इञ्जीनियर विजय दराईले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको बताए । दुई अर्बको लागतमा सडक विस्तार हुने उनले जानकारी दिए ।

हाल दुई लेन रहेको छ किलोमिटर सडकखण्डलाई छ लेन बनाउन लागिएको हो । सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–बुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिने इञ्जीनियर दराईले बताए । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ । यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सो सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ ।

महानगरपालिकाभित्र हाल आँपटारीबाट केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताए । यो सडक बनेपछि भरतपुरको स्वरूप नै परिवर्तन हुने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य विजय सुवेदीले सडकलाई सौन्दर्य अभिवृद्धिसहित आकर्षक हरियाली सडकका रूपमा विस्तार गरिने बताए । यो सडकले स्मार्ट सिटीको झल्को दिने उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.