साक्षरता र जीवनपर्यन्त सिकाइ

  २०७७ भदौ २३ गते २१:२२     गोपाल खनाल

शिक्षा जीवनको तेस्रो आँखा हो । हाम्रा दुुई आँखाले बाहिरी संसार नियाल्न सहयोग गरेजस्तै शिक्षारुपी आँखाले जीवन बुुझ्न मद्दत गर्दछ । शिक्षारुपी आँखा बिना जीवन अन्धकारमय बन्नपुुग्ने हुुँदा जीवनमा शिक्षाको अतुुलनीय महत्व रहेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । शिक्षा विना सुन्दर र बास्तविक जीवनको परिकल्पना गर्न सकिदैन जसरी पानी बिना माछाको परिकल्पना गर्न सकिदैन । शिक्षा जीवनरुपी फूलको सौरभ हो अनि जीवनको गौरव पनि । शिक्षाको अर्थ देखेर, सुनेर, पढेर, सिकेर,वा अनुभव र अनुभूतिबाट प्राप्त हुने ज्ञान भन्ने हुन्छ हो त्यही शिक्षा जसले सफल र सुन्दर जीवन दिनसक्छ विशेष आच।रण सरल वा विशिष्ट लक्षण सहित सरल र सहज रुपले प्राप्त गर्न सकिन्छ वा पाइन्छ त्यो सिकाइ नै जीवनपर्यन्त बन्नपुग्छ । साक्षरता र सिकाइ दुबै शिक्षाका पाटा हुन् अनि जीवनका सजिला बाटा पनि । साक्षरताबाटै शिक्षा आर्जनको मार्ग प्रशस्त हुन जान्छ । साक्षरताको अर्थ अक्षर सहितको वा पढ लेख गर्न सक्नुु हो । सत्य र शिक्षाको आधारभूमि साक्षरता भएकाले साक्षरता विना शिक्षाको विस्तार र सभ्य, सुसंस्कृत, समृद्ध मुलुकको परिकल्पना समेत गर्न सकिँदैन ।

आवश्यक सामग्री सजिलै प्राप्त हुँदाको स्थितिले सुविधालाई सङ्केत गर्दछ भने वञ्चितले रोक, अलग हुनुु वा नपाउनुलाई जनाउँछ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको परिपूर्ति नहुनु नै सुविधा वञ्चित हुनु हो । नेपालमा अझै पनि यस्ता सुविधा वञ्चित समूहको सङ्ख्या ठूलो छ । महिला, अपाङ्ग, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका समुदायका व्यक्ति, फरक लिङ्ग र क्षमताका व्यक्तिहरुले अझै पनि आधारभूत सुविधा पाउन नसकेको स्थिति छ । गरिबीका कारण हातमुख जोर्नै कठिन यिनका लागि शिक्षा स्वास्थ्य र मनोरञ्जनका कुरा त आकासको फल आँखा तरी मर झै बनेको पाइन्छ । जबसम्म गरिबी हटाउन सकिँदैन तबसम्म तिनमा साक्षरताका लागि गरिएको पहल निरर्थक बन्न जान्छ । अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको ५४ वर्ष वितिसक्दा पनि साक्षरता दरमा उल्लेख्य सुधार हुन नसक्नु दुःखद कुरा हो । विश्वमा अझै पनि ७७ करोड निरक्षर रहेको तथ्य अध्ययनहरुले देखाइरहँदा लज्जाबोध हुन्छ । २१ औँ शताब्दीको विज्ञान र प्रविधि सम्पन्न यो समयमा समेत निरक्षरको सङ्ख्या यति धेरै रहेको अवस्थामा सभ्यता र आधुनिकताको नारा रट्नु निरर्थक हुँदैन र ? शिक्षाको यो हविगत रहिरहनु बजेटको धेरै हिस्सा अनेत्र खर्चनु हो । साक्षरता विनाको विकास र समृद्धिको अर्थ छैन भन्ने बुझेर पनि विश्व समुदायका बुजु्रकहरु बुझ पचाइरहे झै लाग्छ । नेपालका सन्दर्भमा पनि यही अवस्था विद्यमान छ । सबैका लागि शिक्षा कार्यक्रम लागु भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा उचित नतिजा आउन सकेको देखिँदैन । महलमा बसेर सुविधा भोग्दै बनाइएका नीतिले सुविधा वञ्चितको वास्तविक समस्या नसमेट्न सक्छ जसका लागि तत्स्थलमै गएर तिनका समस्या पहिचान गरेर साक्षरतार जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न जरुरी छ ।

एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अप्ठेरो हुन्थ्यो होला । यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि हाम्रा छेउछाउमा वसोवास गरिरहेका हरेक उमेर समूहका कोही न कोही निरक्षर सजिलै भेटिन्छन् । सामान्य अक्षर चिनेर लेखपढ गर्न र अङ्कहरु अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो तथापि यी कुराहरु कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ । राष्ट्रिय जनगणना अनुसार नेपालको साक्षरता दर जम्मा ६५.९ रहनु र त्यसमा पनि महिला साक्षरता दर ५७.४ प्रतिशत मात्र रहेको पाइनुले लक्ष्य अनुसार हामी चुकेको प्रष्ट हुन्छ । परिवर्तनको गतिशीलताले केही सुधार देखिए पनि ३० प्रतिशत भन्दा बढी अहिलेसम्म निरक्षर रहनु चिन्ता र चासोको विषय हो । सन् २०१५ सम्ममा सबैका लागि शिक्षाको पहुँच पुर्याउने कार्यमा हामी असफल भइसकेका छौँ । बाल बिकास कार्यक्रमको विस्तार तथा सुधार, सबै बालबालिकाहरुका लागि प्राथमिक शिक्षामा पहुँचको सुनिश्चितता, पिछडिएका जनजाति तथा अल्पसङ्ख्यक समुदायका बालबालिका लगायत सबै बालबालिकाहरुका सिकाइ आवश्यकता पूर्ति गर्ने, प्रौढ निरक्षरतामा कमी ल्याउने, लैङ्गिक तथा सामाजिक भेदभाव हटाउने र गुणस्तरीय शिक्षाका सबै पक्षहरुमा सुधार ल्याउने लक्ष्य लिएर यसका लागि अर्बौ खर्च गरिएको भए पनि उपलब्धि खासै सन्तोषजनक देखिँदैन । नारा सुन्दर बनायौँ, लक्ष्य उच्च राखेपनि त्यस अनुसार काम नहुँदा सुविधाबाट वञ्चित समूह शिक्षा या साक्षरताको पहुँचबाट अझ पनि टाढै रहेको तथ्यहरुले देखाउँछ । साक्षरताको ग्लोवल मनिटरिङ रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन् र अझ धेरैमा अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरु छन् । धेरै जना बालबालिकाहरु अझैपनि विद्यालय जान पाउँदैनन् र पाउनेहरु पनि दैनिक विद्यालय जान सक्दैनन, पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।

विश्वमा अझै पनि ७७ करोड निरक्षर रहेको तथ्य अध्ययनहरुले देखाइरहँदा लज्जाबोध हुन्छ । २१ औँ शताब्दीको विज्ञान र प्रविधि सम्पन्न यो समयमा समेत निरक्षरको सङ्ख्या यति धेरै रहेको अवस्थामा सभ्यता र आधुनिकताको नारा रट्नु निरर्थक हुँदैन र ? शिक्षाको यो हविगत रहिरहनु बजेटको धेरै हिस्सा अनेत्र खर्चनु हो । साक्षरता विनाको विकास र समृद्धिको अर्थ छैन भन्ने बुझेर पनि विश्व समुदायका बुजुर्कहरु बुझ पचाइरहे झै लाग्छ ।

नेपालमा नयाँ शिक्षा प्रणाली स्थापनाको जग भने राष्ट्रिय शिक्षा पद्धति २०२८ लाई मान्ने गरिन्छ । २०३७ देखि हालसम्म विद्यालय र उच्च शिक्षामा पहुँचको विस्तार र गुणस्तर वृद्धि गर्न विभिन्न परियोजना तथा कार्यक्रमहरू सञ्चालनमा आएका छन् । जसमा सामुदायिक विद्यालय सहयोग कार्यक्रम, शिक्षाका लागि खाद्य कार्यक्रम, विद्यालय क्षेत्र सुधार योजना, उच्च शिक्षा परियोजना प्रथम र दोस्रो, रोजगारीका लागि सीप परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना आदि प्रमुख रहेका छन् । नेपालको इतिहासमा पहिलोपटक नेपालको अन्तरिम संविधान २०६३ ले शिक्षालाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको थियो । योसँगै देशमा संघीय शासन प्रणाली स्थापना भएको छ र सँगसँगै शिक्षा क्षेत्रमा पनि कैयन नीतिगत सुधारहरु हुदै आएका छन् । नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ, जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको मात्र छैन शिक्षालाई मुलुकको दिगो शान्ति एवम सम्वृद्धिका लागि महत्वपूर्ण रणनीतिका रुपमा अङ्गीकार गरेको छ । यो सँगसँगै नेपाल सरकारले बाल अधिकार महासन्धि लगायतका अन्तर्राष्ट्रिय सन्धिहरुको पक्षमा आफूलाई उभ्याएको छ भने विद्यालयमा सबैको सहज पहुँच स्थापना गर्ने लक्ष्य राखेको छ । नेपालले नीतिगत रुपमा उल्लेख गरेका कुराहरु अक्षरस पालनासँगै लागु गर्न नसक्दा कतिपय नीति र सम्झौता कागजमै सीमित हुन पुगेका छन । व्यवहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अभावमा शिक्षातर्फ आकर्षण बढाउन सकिएको छैन । पढेर पनि उचित रोजगारीको अभावमा शिक्षित बेरोजगारको सङ्ख्या बढ्दो छ भने पढाइलाई बिचमै छाडेर विदेशीने युवायुवतीको सङ्ख्या बढ्दो छ जसले साक्षरता अभियानलाई गिज्याइरहेको अनुभूत हुन्छ । शैक्षिक जनशक्तिको सम्मान र उचित व्यवस्थापन नहुँदा पनि अन्यलाई सिकाइतर्फ आकर्षण गर्न गाह्रो परेको देखिन्छ ।

अहिले झन् कोरोना महामारीका कारण पोषणयुक्त खानेकुराको लागि विद्यालयमा भर पर्ने संसारभरीका करिव ३७ करोड विद्यार्थीहरु ४ महिना देखि सो खानपिनबाट वञ्चित भएका छन् । विशेषगरी बालबालिकाको शिक्षण सिकाइ प्रभावित हुनुका साथै सीमान्तकृत र विपन्न वर्गका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पोषणमा नराम्रो प्रभाव परेको डब्लुएफओले जनाएको छ । साथै शिक्षा र विशेषगरी महिला शिक्षाको क्षेत्रमा सरोकार राख्ने मलाला फण्डका अनुसार करिव १० मिलियन छात्राहरु कोरोना कहर समाप्त पश्चात् नियमित रुपमा विद्यालय फर्किन नसक्ने गरि प्रभावित भएका छन् । यसमा विद्यालय उमेरका छात्रा हरुको सङ्ख्या अधिक रहने अनुमान गरिएको छ । यसलाई नियाल्दा आगामी दिनमा सुविधा वञ्चित समुदायमा साक्षरता र जीवनपर्यन्त सिकाइको पहुँच विस्तारमा चुनौति थपिने देखिन्छ । तर हरेक समस्याले आफ्नो साथमा ठूला अवसर पनि ल्याएको हुन्छ भन्ने कुरालाई हामीले विर्सनु हुँदैन । यस समस्याले समय परिवेश अनुसार आफुलाई अद्यावधिक गरि शिक्षण सिकाइका वैकल्पिक माध्यम खोजगरी तिनैमार्फत् सिक्न र सिकाउन तयारी हुनुपर्ने कुरा बोध गराएको छ । शिक्षा क्षेत्रको प्राथमिकता, मेडियम अफ कन्स्ट्रक्सन, मेडियम डेलिभरी सिस्टम, विद्यालय शिक्षामा रिफ्रमिङ, पुनः निर्माणका लागि अवसर प्राप्त भएको छ र जसले गर्दा वैज्ञानिक व्यवस्थापनमार्फत् शैक्षिक जगतको प्रतिमान स्थानान्तरण हुने देखिन्छ । साथै प्रविधिको प्रयोग गर्ने बानीको विकास हुन थालेको छ । अनलाइन तथा अफलाइन मोडमा शिक्षण सिकाइमार्फत् सिकाइलाई निरन्तरता दिने अवसर पनि प्राप्त भएको छ । सिकाइ सहजीकरण क्षमता विकासको प्रर्याप्त अवसरसँगै प्रविधिको उपयोगमार्फत् स्वअध्यायन गर्ने बानीको विकास भएको छ । यसलाई साक्षरता अभियानमा जोडेर लैजान सके फलदायी हुनसक्छ ।

शिक्षाको उद्देश्य मानिसलाई जीवनयापन गर्नका लागि आवश्यक ज्ञान, सिप र दक्षता प्रदान गरी सम्मानित जीवन जिउन र समाज विकासमा सहयोग पुर्याउनु हो । जीवनपर्यन्त सिकाइले बालकदेखि प्रौढहरुका लागि सहज जीवन यापनका लागि आधार तयार गर्नुपर्दछ । यसले गरिखानका लागि सिप, जीवन र जगत् बुझ्नका लागि आवश्यक ज्ञान,समाजको कुशल सदस्य हुन र समाजमा मिलेर बस्न सक्षम बनाउनुका साथै व्यक्तिलाई रुपान्तरण गर्न सहयोग पुर्याउँछ । सिकाइ निरन्तर चल्ने प्रक्रिया हो । साझेदारीता, ज्ञानमा आधारित समाज निमार्ण, पर्याप्त लगानी, पठन संस्कृतिको विकास, उत्कृष्टता जीवनपर्यन्त सिकाइका अवयवहरु हुन् । रुसोको ‘शिक्षा जीविकाका लागि होइन जीवनका लागि हो’ भन्ने भनाइबाट पनि शिक्षा जीवन बुझ्न अपरिहार्य रहेको स्पष्ट हुन्छ । साक्षरतासँगै जीवनपर्यन्त सिकाइबाटै व्यक्तिमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुर्याइ जीवनलाई सहज र व्यवस्थित बनाउन मद्दत पुग्दछ । सुविधा वञ्चित समूहसम्म साक्षरता अभियान पुगे पक्कै पनि तिनमा आत्मविश्वास बढ्न गइ तिनलाई ठगिनबाट जोगाउन समेत सकिने कुरालाई नकार्न मिल्दैन । सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । सबैजना साक्षर हुनु सबैजनाको दायित्व हो, नेपालको परिपे्रक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताका लागि जनजागरण अझै अपुग्दो छ । हातहातमा भएका मोबाइल अनि घरघरका इन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिंदा सञ्चार अनि समय व्यतित गर्ने माध्यम मात्र बन्न दिनु हुँदैन । लेखिने अक्षरहरु र अङ्कहरुको महत्व धेरै छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्कहरुसँग सबै मानिसको परिचय नगराइकन पक्कै पनि सम्भव छैन । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै वृद्धि गर्दछ ।

साक्षर नभएकै कारण हाम्रा पुर्खाहरुले धेरै दुःख व्यहोरे । उनीहरु आँखा भएर पनि दृष्टिविहीन झै बन्नु पर्यो । जिब्रो भएर पनि जिराफको नियति भोग्न विवश मात्र भएनन् कान भएर पनि बहिरो झै बन्नु पर्यो । साक्षर नहुँदा हामीले पाइलैपिच्छे ठक्कर खानुपर्ने हुँदा सबै समुदायको पहुँचमा शिक्षाको ज्योति पुर्याउनु अपरिहार्य छ । खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा ‘क’बाट कलम पढेका देखि कम्प्युटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विद्यालय जानसम्म धौ धौ पुस्ताहरु लगायत अक्षर नै नचिन्ने अनि औंठाछाप लगाउनु पर्ने व्यक्तिहरु पनि यही समाजमा छन् । उनीहरुलाई हामीले आफ्नो तर्फबाट के गरी साक्षरसम्म बनाउन सक्दछौं चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या निःशुल्क दैनिक पढाइ दिएर वा पढ्ने वातावरण सिर्जना गरेर स्कूलसम्म उनीहरुलाई पुर्याइ दिएर नै हुनसक्छ, सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो । औपचारिक, अनौपचारिक जुनै माध्यमबाट भएपनि निरक्षर जनमा साक्षरता र जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्नु राज्यको दायित्व हो भने नागरिकले पनि सहर्ष यसलाई स्वीकार गरेर अभियानलाई सफल पार्न सघाउनै पर्छ जुन हाम्रै लागि हो । सुविधाबाट वञ्चित समूहका लागि तिनका झुपडीसम्म, नाङ्गो आङ र भोको पेटसम्म राज्यको आँखा पुग्न जरुरी छ । नत्र काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भने झै राज्यको लगानी बालुवामा पानी बन्न पुग्ने देखिन्छ । प्रभावकारी अनुगमन गरेर सुविधाबाट वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तारमा लागे साँच्चै तिनको जीवन फेरिनेमा शङ्का छैन । साक्षरतासँगै तिनमा सिप सिकाएर विश्वास जित्नु छ तिनको । ‘शिक्षा धनम् सर्वधनम् प्रधानम्’ अर्थात् विद्या नै सबैभन्दा ठूलो धन हो विद्यालाई अन्य कुनै पनि धनसँग तुलना गर्नै मिल्दैन । त्यसैले पनि यो अतुलनीय धन सबैको पहुँचमा पुर्याउनु छ । जीवन सार्थक पार्न साक्षरतासँगै जीवनपर्यन्त सिकाइ जरुरी छ । नेपाललाई साक्षर राष्ट्र बनाएर देशको गरिमा बढाउनका लागि पनि बास्तिविक रुपमा सुविधाबाट वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न अब ढिला गर्नु हुँदैन ।

दाङसिङ, नुुवाकोट (हालःपोखरा)
gkfriend8@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.