सर्भेयरका दुःखः कमजोरी गर्ने बिमक, बिमित र एजेन्ट, दोष पाउने हामी

  २०७७ भदौ २२ गते १३:३३     सूर्यप्रसाद जोशी

बीमा समितिबाट लाइसेन्स लिएका सर्भेयरको संख्या अहिले ५ सय छ । त्यसमध्ये सक्रिय सर्भेयर १ सय ५० जना छन् ।

दाबी परेको अवस्थामा सर्भेयर एक्सनमा आउँछन् । तर सर्भेयरलाई एकदमै गाह्रो छ । सर्भेयरलाई जताजततै दोष लाग्ने गर्दै आएको छ । तर वास्तविकता त्यस्तो होइन । मैले यही पेशा गरेको लामो समय भइसक्यो ।

गुनासो

हाम्रा पनि थुप्रै गुनासाहरु छन् । जस्तो कि सर्भेयरको लाइसेन्स बीमा समितिले दिन्छ । यसको नवीकरण हरेक वर्ष गर्नुपर्छ । अरु देशमा यस्तो व्यवस्था छैन । जस्तो कि भारतमा ५ वर्षमा, पाकिस्तानमा ३ वर्षमा नवीकरण गर्दा हुन्छ । हाम्रोमा बर्सेनि गर्नु पर्ने व्यवस्था छ ।

नेपालमा नवीकरण शुल्क पनि महंगो छ । यस्तो शुल्क घटाउन आवश्यक छ ।

कोरोना महामारीको बेलामा हामीलाई काम गर्न निकै मुस्किल छ । किनकि अहिले फिल्डमा जान गाह्र्रो छ । एकातिर सरकारले बीमा अत्यावश्यक भन्छ, अर्कोतिर प्रहरीले पनि सर्भेयरलाई छेक्ने गरको छ ।

सर्भेयरलाई परिपचयपत्रको आधारमा आवागमन गर्न पाउने व्यवस्था गर्नु उचित हुन्छ ।

गलत बुझाइको सिकार

दाबी भनेको जतिको क्षति भयो त्यति पाइन्छ भन्ने गलत बुझाई छ । बीमामा सम्पत्तीको हकमा जुन सम्पत्तीको बीमा गरेको छ, त्यो सम्पत्ती तोकिए मात्रै दाबी पाईन्छ । पोलिसीमा लेखेअनुसार बीमाले दाबी दिने हो । यो कुरा सर्भेयरले बुझायर बस्ने कुरा त होइन । तर, पनि हामीले प्रयास गर्छौं । धेरै त असन्तुष्ट नै रहनु हुन्छ ।

सर्भेयरले पाउने दाबी रकम कम दियो भन्ने आरोप लगाउँछन् । बीमाले जति पनि दिन्छ भन्ने सोचाइका कारणले हो । तर जहिले पनि जाहाँ पनि सम्झौता अनुसार बीमाले दिने हो ।

मानौ, तपाईलाई धनगढी जानु छ भने धनगढीसम्मकै भाडा दिनुपर्छ । यदि तपाईले आदि पैसा तिर्नुभयो भने त नारायणघाटतिरै तपाई झर्नु परिहाल्छ नि । बीमा पनि यस्तै हो ।

तर, यहाँ हुन्छ के भने नारायणघाटको भाडा तिर्नु भएको बिमितले त्यही पैसामा धनगढी जान पाउनुपर्यो भन्नु हुन्छ । अनि त बीमा पोलिसीको सम्झौता मिल्दैन, त्यस्तो बेलामा पूरै दोष जति सर्भेयरलाई आउँछ । यसरी हामीलाई सर्भेयरले पैसा दिएन भन्ने थुप्रै हुन सक्छन् ।

अहिले त उद्योगको बीमा बैकले आफै गर्न थालेका छन् । कच्चा पदार्थ, उत्पादन हुँदाको अवस्था तथा नयाँ प्रोडक्ट बन्दा केही करोड भएपनि बीमा त त्यही ५०, ६० लाखकै हुन्छ । यस्तो अवस्थामा ५०, ६० लाख नै दिदाँ पनि कम्पनीहरुले हामी बर्बाद भएको बेलामा, ठूलो क्षति भएको अवस्थामा पैसा किन कम आयो भनेर सबै सर्भेयरको टाउकोमा थोपरिदिन्छन् । तर पाउँनु पर्ने पैसा घटेको होइन भनेर चेतना फैल्याउन जरुरी छ ।

सर्भेयरलाई दोष दिँदा बीना प्रमाण सहजै दोष दिने चलन छ ।

बीमा कम्पनीहरुले खटाएपछि मात्र सर्भेयर फिल्डमा जाने हो । सोही कारण बीमा कम्पनीले खबर नगरी सर्भेयर काममा जान सक्दैनन् । त्यसरी काममा जाँने क्रममा नै सर्भेयरलाई सूचना छिटो आएको हुँदैन । अनि जानाजानी सर्भेयर ढिला गएको भन्ने कति पनि जायज होइन । अब थाहाँ पाउने नै ढिलो भएपछि सर्भेयर कसरी चाँडो पुग्छन् ? । दोष दिनु नै समाधान त होइन । यो सबैले बुझ्न जरुरी छ ।

यस्तै, रिपोर्ट बुझाएपछि मात्र सर्भेयरले पारिश्रमिक पाउँछन् । यस्तो अवस्थामा रिपोर्ट नबुझाउदा, ढिला गर्दा वा प्रमाण लुकाउदा सर्भेयरलाई केही फाइदा छ्रैन ।

क्षेत्र विशेषको छुट्टाछुट्टै सर्भेयर हुन्न

अहिले क्षेत्र विषेशको छुट्टा छुट्टै सर्भेयर चाहियो भन्ने गरेको सुनिन्छ । यो त साँघुरो मानसकिताबाट आएको र बेकारको कुरा जस्तो मलाई लागेको छ ।

विभिन्न किसिमका सर्भेयर चाहियो भने पहिला विभिन्न विधाका इन्जिनियर चाहिन्छ । अनि विभिन्न विधामा काम गर्न तयार सर्भेयर चाहियो । त्यसरी भिन्न किसिमका विषयगत विधा अनुसारका सर्भेयर राख्दा एउटा विधाका सर्भेयरले वर्षमा जम्मा ४÷५ वटा केस पाउँछन् । बाँकी सर्भेयरको काम झिगा धपाएर बस्ने जस्तै हुन्छ । केही केस पाएका सर्भेयरले पनि आफ्नो जिबिका चलाउन सक्दैनन् । भन्नु र गुर्नमा धेरै अन्तर हुन्छ । नेपालका सर्भेयरलाई धेरै गाह्रो छ ।

तर, छिमेकी राष्ट्र भारतमै हेर्ने हो भने सर्भेयरहरुलाई यस्तो किसिमको गाह्रो छैन ।

नेपालमा सबैभन्दा धेरै दाबी मोटर बीमामा पर्छ । यसरी विशेष क्षेत्रकोे सर्भेयर खटाउदा अटोमोवाइलको इन्जिनियर पढेको सर्भेयर मात्र मोटर बीमामा चाहिन्छ । त्यस्ता सर्भेयरको संख्या हालसम्म जम्मा ३ जना मात्र रहेको छ ।

अब मोटरकोे दाबी दिनमा १० ठाउँमा पर्न सक्छ । डोटी, ताप्लेजुङ, धनुषा, रसुवामा पर्दा एकैजना मान्छे जानसक्ने सम्भावना हुुदैन ।

यस्तो विशेष क्षेत्रको सर्भेयर खटाउदा ३ जना फिल्डमा जान्छन् १ सय ४७ जना बेरोजगार हुन्छन् ।

विकृति पनि छन्

केही सर्भेयरहरुले अस्पतालकोे एम्बुलेन्ससँगको साठगाठ गर्ने, अस्पतालबाट लम्ब्याएर बिल बढाउने पनि हुन सक्छन् । चाहिने कुरामा सबैको ध्यान नजादा यस्ता गतिविधि मौलाउनु स्वभाविक पनि हो ।

तर बिचौलियाको हर्कतमा सर्भेयरलाई मुछ्ने परिपाटी पनि कायमै छ । सबै काम सर्भेयर, इन्जिनियरको मात्रै हुदैन । घटनामा वकिल, आर्थिक सर्भेक्षण गर्ने विभिन्न व्यक्तिहरु संलग्न हुन्छन् ।

प्रहरीले दिएको रिपोर्ट पनि सर्भेयरले राम्रोसँग फलो गर्नुपर्छ । कहिले काही त्यसमा पनि पनि फरक परेको हुन्छ । सर्भेयर एक बौद्धिक, ज्ञाता र राम्रो अनुसन्धानकर्ता हुन जरुरी छ ।

कहिले वर्षातको कारण फिल्ड जाने बाटो रोकिन्छ । फेरि अन्य विभिन्न पक्षको कमजोरीका कारण पनि सर्भेयरले काम गर्न सकिरहेका हुदैनन् । तर दोष भने सहजै सर्भेयरलाई दिनु जायज होइन् ।

आफ्नै लेभल

सर्भेयरको पनि लेभल (स्तर) हुन्छ । क्षतिको आधारमा सिनियर वा जुनियर सर्भेयर फिल्डमा खटिन्छन् । सर्भेयरले काममा ढिला पुग्दा बीमा कम्पनीले अर्को सर्भेयर खटाउन सक्छन् । सोही कारण सर्भेयर छिट्टै जाने प्रयासमा हुन्छन् ।

अर्को, सर्भेयरले विवरण ढिला दियोपनि भन्ने गरिन्छ । यसका के हुन्छ भने घटना घट्दैमा रिपोर्ट तयार हुदैन । कुनै एकपक्षले केही प्रमाण तलमाथि गरेमा रिपोर्ट बिग्रिन्छ । सही रिपोर्ट निकाल्न सर्भेयर हरदम खटिन्छन् । हतारमा रिर्पोट गलत भए सिधै दोष सर्भेयरलाई हुन्छ । यो त सामान्य हो । तर कुरा के हो भने सही नतिजा खोजेको सर्भेयरले पाउने भनेको आरोप, शंका र गाली मात्र हो । त्यसै कारण पहिले सबैले सर्भेयर भनेको के हो, र यसमा पनि केही चुनौति छन् भन्ने बुझ्न आवश्यक छ ।

पहिले दाबी पर्छ । दाबी अनुसारको घटना, प्रहरीको मुचुल्का चाहिन्छ । आगलागी हो भने वारुणयन्त्र गएको हो कि होइन हेर्नुपर्छ । विदेशबाट पठाएको सामानमा भन्सार कति तिर्यो भने हेर्न आवश्यक हुन्छ ।

बिमितले यस्ता डकुमेन्ट दियो भने मात्र रिर्पोट निस्किन्छ । आगलागीको हकमा रिपोर्ट निस्किन लामो समय लाग्छ । सबैभन्दा पहिला आवश्यक कागजात तयार हुन नेपालमा ६ महिना लाग्ने गर्छ ।

सबैभन्दा पहिला भ्याट अफिसमा दाखिला गर्न पर्यो । अन्य आवश्यक ठाउँमा जाने काम बिमितको हो । सबै ठाउँमा सर्भेयर जाने होइन, जान मिल्दैन ।

बीमा कम्पनीले आफ्नो दाबी भुक्तानी ढिला हुँदा केही कारण भेटेनन् भने सर्भेयरले ढिला गर्छ भन्ने साह्रै सजिलो र पुरानो जवाफ हो ।

नयाँलाई सुझाव

यो क्षेत्र देख्दा जति राम्रो छ, भित्र अलि त्यस्तो छैन । अब यस क्षेत्र रोज्नेले यसका परिस्थितिसँग जुध्दै केही नयाँ बाटो बनाउँछु भनेर आउने हो । अलि अलि मानसिक तनाव ह्यान्डल गर्न सकिदैन भने सर्भेयर पेशा नरोज्न मेरो अनुरोध छ । अबको सर्भेयर पेशा गतिलो पेशा, दोष रहित पेशा हो भन्ने सबैले बुझ्नु पर्छ ।

(बीमा सर्भेयर संघ नेपालका अध्यक्ष जोशीसँग विकासन्युजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.