१७ अर्ब डलरको मोबाइल गेम बजार, पब्जीको विकल्प भनिएकाे अक्षय कुमारको फौजी कस्तो छ ?

  २०७७ भदौ २० गते १९:३५     विकासन्युज

काठमाडौं । एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी जस्तै’ मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यो गेमको उदेश्य बजारमा खाली देखिएको स्थान भर्नु हो, जुन लोकप्रिय चिनियाँ एप पब्जीमाथि भारतले प्रतिबन्ध लगाएपछि सिर्जना भएको छ ।

बैंगलुरुमा रहेको एनकोर गेम्स नामक कम्पनीले यस्तो एउटा गेम बनाउँदैछ, जुन सिधै पब्जीको प्रतिस्पर्धी मानिएको छ ।

कम्पनीले यो गेमको नाम फौजी दिएको छ । यो गेम अंग्रेजी महिनाको आगामी अक्टोम्बरसम्ममा बजारमा आउने बताइएको छ ।

कम्पनीका सहसंस्थापक विशाल गोडलले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा यो गेमको नाम ‘फेयरलेस एण्ड युनाइटेड गार्ड्स (फौजी) रहेको बताए । उनका अनुसार यो गेम बनाउनका लागि केही महिनादेखि नै काम भइरहेको थियो । यो गेमको पहिलो लेवल गलवान उपत्यकामा आधारित रहेको उनको भनाइ छ ।

गलवान उपत्यकामा नै चीन र भारतका सैनिकबीच गत जुन महिनामा पहिलो पटक झडप भएको थियो । सो झडपमा भारतका कम्तिमा पनि २० सैनिकको मृत्यू भएको बताइएको थियो । त्यही समयदेखि वास्तविक नियन्त्रण रेखालाई लिएर भारत र चीनबीच तनाव भइरहेको छ ।

यही गतिरोधको बीचमा भारतले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले बताएका १ सय १८ अन्य मोबाइल एपमाथि गत बुधबार प्रतिबन्ध लगाएको थियो ।

पब्जी (प्लेयर अननोन्स व्याटलग्राउण्डस्) गएको केही वर्षदेखि भारमा असाध्यै लोकप्रिय मोबाइल गेम बनेको छ । भारतीय युवामा यो गेमप्रति असाध्यै लगाव रहेको बताइएको छ । त्यसैकारण पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति सामाजिक संजालमा तिब्र आलोचना पनि भएको छ ।

आलोचकका अनुसार फौजीको मद्दतबाट भारतीय कम्पनी एनकोर गेम्स जनताको देशभक्तिकाको भावनामा भुलाउने प्रयास गरिरहेको छ ।

‘यो मोबाइलबाट हुने कुल आम्दानीको २० प्रतिशत रकम भारतका लागि सहिद हुने सैनिक परिवारलाई प्रदान गरिनेछ,’ कम्पनीका सहसंस्थापक विशाल गोडलले भने ।

फौजी गेम बनाउनका लागि अभिनेता अक्षय कुमारको सहयोग रहेको बताइएको छ । यो गेमको फौजी नाम पनि अक्षय कुमारले नै राखेको कम्पनीले बताएको छ । अभिनेता अक्षय कुमारले पनि हिजो (गत शुक्रबार) फौजी गेमसँग सम्बन्धी ट्वीट गरेका छन् ।

यो गेम सुरु भएको केही दिनमा नै करिब २० करोड मोबाइल युजरले यो गेम डाउनलोड गर्ने कम्पनीको अनुमान छ ।

के हो पब्जी ?

पब्जी एक लोकप्रिय मोबाइल गेम हो, जुन विश्वव्यापी रूपमा खेल्ने गरिएको छ । भारतमा पनि यसका प्रशंसकहरू धेरै छन् ।

यो गेम एक जापानी थ्रिलर फिल्म ‘व्याटर रोयल’बाट प्रभावित भएको हो, जसमा सरकारले विद्यार्थीहरूको एउटा समूहलाई जबरजस्ती मृत्युदण्ड दिन पठाउँछ ।

पब्जीमा, करिब १ सय खेलाडीहरू टापुमा प्यारासुटको सहायताले झर्छन्, हतियारहरू फेला पार्छन र एक अर्कालाई तबसम्म मार्छन्, जबसम्म तीमध्ये एक मात्र बाँकी हुन्छ ।

सुरुमा यो गेम दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोलले बनाएको हो । यसको डेस्कटप भर्सन दक्षिण कोरियाली कम्पनीले बनाएको थियो । पछि चिनियाँ कम्पनी टेनसेटले नयाँ नाम र केही परिवर्तनका साथ मोबाइल संस्करण बजारमा ल्यायो ।

विश्वमा पब्जी खेल्नेमध्ये भारतमा करिब २५ प्रतिशत रहेको बताइन्छ । चीनमा १७ प्रतिशत र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता छन् ।

धेरै जनाले एकैपटक खेल्न मिल्ने यो खेलमा केही पैसा खर्च गर्नुपर्ने हुन्छ । र, नयाँ हतियार किन्नको लागि कुपन खरीद गर्नु पर्छ । गेम यस्तो तरिकाले डिजाइन गरिएको छ कि तपाईं जति धेरै खेल्नुहुन्छ, त्यति रमाइलो हुनेछ । थप खेल्नको लागि कूपन र हतियारहरू खरीद गर्नुपर्छ, जसले गेम अझ रोमान्चक बनाउँछ ।

यो गेममा फ्रि रुम पनि हुन्छ । यसका विभिन्न लेवलहरु छन् । फरक ठाउँमा बस्ने मानिसहरूले यो गेम एकै साथ खेल्न सक्छन् र एकैसाथ स्ट्रिमिङ पनि हुन्छ ।

गेम बजार

सन् २०१९ मा विश्वभर १६ अर्ब ९० करोड अमेरिकी डलर बराबरको यस्तो गेमको बजार थियो । यसमध्ये चीनको मात्रै ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको हिस्सेदारी रहेको बताइन्छ । दोस्रो स्थानमा अमेरिका, तेस्रोमा जापान र त्यसपछि बेलायत र दक्षिण कोरिया रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो तथ्यांक स्टाटिस्टाडटकमको हो । यो उद्योग भारतमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । तर अहिले पनि यो १ अर्ब डलरभन्दा कम छ । राजस्वको हिसाबले भारत विश्वको ५औं देशभित्र पनि पर्दैन । तर, बाँकी देशहरुका लागि निश्चय नै उदीयमान बजार हो ।

(बीबीसी हिन्दीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.