उद्योग विभागमा नयाँ फाइल बन्द, सबै काम अब अनलाइनबाट

  २०७७ भदौ १९ गते १८:०९     विकासन्युज

काठमाडौं । उद्योग विभागले संरचनागत सुधारको कार्यलाई जोड दिएको छ । उद्योगीले नयाँ उद्योग दर्ता, पुराना उद्योग नविकरण लगायत उद्योगबाट हुने सबै कार्य अनलाइनबाट गर्न सक्ने गरि संरचना र प्रणालीमा सुधारकाे काम गरिरहेकाे विभागका महानिर्देशन जीवलाल भुसालले बताए ।

कम्पनी रजिष्ट्रार कार्यालयले धेरै वर्ष पहिले नै अनलाइन प्रणाली लागू गरेपनि त्यहाँ सबै काम कागजी फाइलमा हुन्छ, सबै काम हातले भाैतिक रूपमा गर्नुपर्छ । पहिला एक दिनमा हुने काम अहिले ३ दिनमा पुरा हुन्छ । उद्याेग विभागले दिने अनलाइन सेवा पनि त्यस्तै हुने हाे कि भन्ने विकासन्युजकाे प्रश्नमा महानिर्देशक भुषालले विभागलाई कागजविहीन कार्यालय बनाउने लक्ष्यका साथ काम भईरहेको उनले बताए ।

‘उद्योग विभागलाई पेपरलेस बनाउने र सबै काम डिजिटल्ली गर्ने योजनासहित काम भैरहेको छ’ उनले भने–‘योजना र बजेट सबै स्वीकृत भईसकेको छ । कम्प्यूटर इन्जिनियर हायर पनि गरिसकेका छौं । पूर्ण रुपमा डिजिटल्ली चलेको सरकारी तथा निजी संस्थाहरुले कसरी काम गरिरहेका छन्, त्यसको अध्ययन पनि गरिरहेको छौं । सोही अनुसार नयाँ भवनका कार्यलयको सेटअप बनाइरहेको छौं । उद्याेग विभागमा सेवा लिन आउने सेवाग्राहीले कागजकाे फाइल बाेक्नुपर्ने छैन ।’

उद्योग विभागको आफ्नै नयाँ भवन तयार भएकोले पनि काम गर्न सजिलो भएको उनले बताए । ‘पूर्वाधार पनि राम्रो भएको छ । टिम पनि राम्रो छ । अब हामी हामीले दिने सेवा प्रणाली पूरै परिवर्तन गर्दैछौं’ उनले भने ।

उद्योग विभागमा ढिला सुस्ती हुन्छ वा निर्णय भएन वा काम भएन भनेर उद्योग व्यवसायीले भन्नु नपर्ने वातावरण बनाउने उनले बताए । ‘विभिन्न ४० प्रकारका उद्योगहरु दर्ता तथा नविकरण गर्दा के के बुझाउनु पर्छ भनेर कानुन बमोजिम चेकलिष्ट तयार गरी उद्योग विभागको वेवसाइटमा सार्वजनिक रुपमा राखेको छौं । उद्योगीहरुले उल्लेखित कागजपत्रसहित निवदेन दिएपछि हामीले हुन्छ वा हुँदैन तत्काल निर्णय दिनसक्छौं’ उनले भने ।

कोभिड–१९ महामारी र आर्थिक मन्दीको प्रभावले नयाँ फाइल आउन बन्द भएकोले पनि संस्थागत र प्रणालीगत सुधारको काम सहज भईरहेको उनले बताए । ‘निषेधाज्ञा भएपनि स्वास्थ्य सुरक्षाको प्रोटोकलको पालना गर्दै हामी अफिस आएर काम गरिरहेको छौं । सेवाग्राही आएको छैनन् । तर पुराना बाँकी काम सिध्याउने र उद्योग विभागलाई नयाँ प्रणालीमा लैजाने काममा व्यस्त छौं’ उनले भने ।

एक महिनाअघि मात्र उद्योग विभागको महानिर्देशकको जिम्मेवारी पाएका भुसालसँग यसअघि धेरै वर्ष उद्योग विभागमा रहेर काम गरेको अनुभव छ । साथै, चार वटा जिल्लामा स्थानीय विकास अधिकारी भएर काम गरेको अनुभव पनि उनीसँग छ । सहसचिव भएपछि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य मन्त्रालयमा काम गरेको अनुभव उनीसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.