विचलन नहौं कोरोनालाई अवश्य जितिन्छ

  २०७७ भदौ १८ गते १२:५२     कोपिला अर्याल

गत डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमितको संख्या दिनहु बढिरहेको छ । हालसम्म विश्वमा साढे २ करोड व्यक्ति यस रोगबाट संक्रमित भएको र ८ लाख ६६ हजार भन्दा अधिक मानिसको मृत्यु भइसकेको छ । यस रोगको संक्रमण २१६ देशमा पुगिसकेको छ । नेपालमा समेत सुरुवाती दिनमा यसको असर नगन्य देखिएको भएता पनि हालको अवस्थामा कोरोना रोगबाट संक्रमण हुनेको दर अधिक रुपमा वृद्धि भइरहेको छ । हालसम्म ४१ हजार भन्दा अधिक मानिस यस रोगबाट संक्रमित भएको अवस्थामा २ सय ५१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा मृत्यु हुनेको संख्या अप्रत्यासित रुपमा बढेको छ र संक्रमितको संख्या समेत अनपेक्षित रुपमा बढेको र यस रोग नियन्त्रण बाहिर गएर समाजमा भयावह रुप लिने त हैन भन्ने आम मानिसमा संत्रास उत्पन्न भएको छ ।

कोरोना रोगबाट मृत्यु हुने सँगसँगै संक्रमण भएको वा लक्षण देखिएकामा समेत सामाजिक विचलन आउने डर उत्तिकै देखिएको छ । संक्रमित भएर आइसोलेसनमा अस्पतालमा होस या अन्य आइसोलेसन केन्द्रहरुमा बस्दा उनीहरु प्रति गरिने व्यवहारले नैराश्यता सृजना भई सामाजिक विचलन समेत आउने देखिन्छ । कोही मानिसको कारोना रोगको कारण मृत्यु भएमा सोही सेन्टरमा रहेको अन्य विरामीले देखिने गरी शव व्यवस्थापन गरिदाँ समेत मानिसहरुमा नकारात्मक भावना श्रृजना हुने सम्भावना उक्तिकै रहन्छ ।

कोरोना रोगबाट मानिसको मृत्यु हुने भन्दा पनि यसले मानिसको रोेग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउने र विभिन्न दिर्घकालिन रोग तथा अन्य रोगबाट मानिसको मृत्यु भएको देखिन्छ । तर कोरोनाको बारेमा फैलाइएको अपवाहले समेत मानिसको मृत्यु भइरहेको छ । मानिसहरुमा कोरोनारुपी आतंक सृजना भई मानसिक तनाव सृजना भई मानिसहरुको मृत्यु भएकोले त्यस्ता आतंकबाट बचाउन समेत कोरोना रोगको उपचार हो ।

कोरोना रोगका संक्रमितलाई सामाजिक दुरी कायम गर्न नदिई सकेसम्म एकान्तमा राख्न प्रयास गरिन्छ । तर घर समाज परिवारसँग टाढा हुने र आजको युगमा मानिसहरुको सामाजिक सञ्जालको आवश्यकता अपरिहार्य रहेको अवस्थामा सामाजिक सञ्जाल बाट टाढा हुने र अन्य विभिन्न कुरामाथिको बन्धनले समेत मानिसमा छटपटाहट सिर्जना हुन गई यसले अर्काे सामाजिक विचलन त पैदा हुने हैन भन्ने समेत प्रश्न चिह्न पैदा भएको छ ।

आजको समयमा हेर्ने हो भने राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुको प्रमुख समाचार नै आज यति संक्रमित भए आज यतिको मृत्यु भयो भन्ने खालका समाचारलाई बढि प्राथमिकता दिइएको पाइन्छ । तर यसको सामाजिक असरको बारेमा अध्ययन नभई यस्ता शीर्षकलाई बढि प्राथमिकता दिइएको त हैन । यदि मृत्युका शीर्षकलाई अधिक प्राथमिकता दिने हो भने आम मानिसमा यस रोगले त मानिसको अन्त्य नै रहेछ भन्ने भावना विकास भएमा समाज कता तिर जाला हामीले अहिले सम्म अध्ययन गर्न छुटायौं कि ?

हालसम्मको अध्ययनलाई हेर्ने हो भने कोरोना रोगबाट उन्मुक्तिको लागि उच्च मनोवल नै आवश्यकता रहेको देखिन्छ । तर मृत्युका खबरले मानिसको मनोबलमा कमी ल्याइरहेको त छैन । यसतर्फ समेत समयमै सोच्न आवश्यक देखिन्छ । आइसोलेसन सेन्टर होस या क्वारेन्टाइन, सबै क्षेत्रमा रहेका व्यक्तिहरु तथा बिरामीहरुको राम्रोसँग हेरचाह गरिनु पर्दछ । उनीहरुमा आउन सक्ने नैराश्यता तथा नकारात्मक भावनाको नियन्त्रणको लागि मनोचिकित्सक तथा मनोपरामर्सदाताहरुले समेत परामर्श दिने तथा उनीहरुलाई व्यस्त बनाउन विभिन्न किसिमका क्रियाकलाप सञ्चालन गरेमा केही हदसम्म समस्या समाधान हुने देखिन्छ ।

समाजमा परिवारका कोही सदस्यलाई कोरोना देखिएमा उनीहरुको परिवार प्रति गरिने व्यहार समेत अशिष्ट तथा असभ्य रहेको छ । अन्य परिवारलाई रोग लाग्दा समाजमा विरोध गर्न अघि सर्नेहरु सो ठाउँमा आफुलाई राखेर एकपटक सोचिदिएमा यस्ता क्रियाकलापहरु दोहोरिने थिएनन् । आज समाजमा अरुलाई पर्दा उग्र भएर विरोध गर्नेहरु भोलि त्यही दिन या वातावरण आफु माथि खनिएमा के होला विचार गर्न आवश्यक देखिन्छ ।

आजको समाजमा देवताको अर्काे अवतारको रुपमा स्वास्थ्यकर्मी देखा परेका छन् । विभिन्न सञ्चार माध्यममा स्वाथ्यकर्मीले बिरामी नहेरेको, विभिन्न अस्पतालले भर्ना नलिएको, अस्पताल चाहार्दा चाहर्दै बिरामीको मृत्यु भएको लगायतको अनेकौं शीर्षकका समाचार आउने गर्दछन् तर भोलि स्वास्थ्यकर्मी नै संक्रमित हुँदा समेत सो वातावरण सृजना नहोला र ? यसर्थ स्वास्थ्य सेवामा रहनेले समेत आफ्नो पेशाप्रतिको धर्म निभाएमा रोग संक्रमणलाई सजिलै परास्त गर्न सकिने निश्चित छ ।

विश्वका शक्तिमान राष्ट्रले त नियन्त्रण गर्न नसकेको यस रोग समाजमा फैलिएमा पश्चाताप बाहेक हामीसँग केही उपाय छैन । यसर्थ हालको अवस्थामा मानिसमा यस रोगलाई समेत जित्न सकिन्छ विचलन हुनु हुँदैन भन्ने भावना सृजना गर्नु पर्ने अवस्थामा मृत्युका खबरलाई अधिक प्राथमिकता दिदाँ र विरामी प्रति गरिने व्यवहारले अर्काे समस्या सृजना गर्ने त हाेइन यस तर्फ समेत विचार गरिनु पर्दछ र विभिन्न पेशामा रहनेले समेत आफ्नो पेशा प्रतिको धर्म कुशलता पुर्वक निर्वाह गरेमा यस रोगलाई समेत हामीले पराश्त गर्न सक्ने निश्चित छ । साथै कारोनारुपी आतंकबाट सृजना हुने खतरनाक मानव भाइरसबाट बच्न सकेमा सजिलै कारोना रोगलाई परास्त गर्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.