युट्युबले हटायो दुई करोड चार लाख भिडियो, युट्युवरहरू तनावमा  

  २०७७ भदौ ११ गते २१:२१     विकासन्युज

वासिङ्टन । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले १८ महिनामा दुई कराेड चार लाख भिडियाे हटाएकाे छ । सन् २०२० काे प्रथम छ महिनामा मात्र युट्युवले  एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो ।

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरु मात्रै हटाएको थियो । अघिल्लो बर्षको तुलनामा यस बर्ष अत्यधिक धेरै भिडियोहरु हटाउनु परेको कम्पनीको तथ्यांक छ ।

कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याँकनका आधारमा ती भिडियोहरु हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ ।

“समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निश्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।

युट्युब यस्ताे नीति लिएपछि दर्शक पाउनकाे लागि उत्तेजक भिडियाे बनाउने यूट्युवरहरू तनावमा परेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.