लघुकथाः डाकु भाइ र कोभित भाइ

  २०७७ भदौ १० गते १३:१०     तारा भट्टराई

हिजो एकैदिन डाकु भाइ जेल र कोभित भाइ कोरोना मुक्त भएछन् । अब दुबै समाजमा स्वतन्त्रतापूर्वक हिड्डुल गर्न पाउने भए ।आखिर दुबैले पाएको मुक्ति समान थियो ।

डाकु भाइ गाउँलेलाई जताउन चाहन्थ्यो कि ऊ थुनिने बित्तिकै कति चाँडो थुनामुक्त भयो । उस्को कत्रो पहुँच र पावर छ । ताकि आईन्दा गाउँलेहरु उस्को सानोतिनो कुकर्मलाई उजुरी गर्न हिम्मत नगरुन् । त्यसैले ऊ बिना माक्स पुरै अनुहार देखाउँदै ठूलो-ठूलो स्वरमा गाउँलेको हालचाल सोध्दै शानसँग हिड्यो । उसलाई हालचाल बताउन नहिच्किचाएका गाउँलेहरुले कोभित भाइकाे घरतिर संकेत गर्दै-“त्यो अपराधीको तिर चाहिँ नजानु है” -भन्न पनि भ्याए ।

उता कोभित भाइलाई पनि गाउँलेहरुलाई ‘कोभिड’, त्यसका लक्षण, बच्न अपनाउनुपर्ने सवधानी र ‘काेभिड’ भैहालेमा गर्नुपर्ने स्वास्थ्यको हेरचाहको बारेमा जानकारी गराउन मन थियो । त्यसैले ऊ मुखमा माक्स, हातमा पन्जा लगाएर आफैं सजग भई ‘सामजिक दूरी’ कायम गर्दै गाउँ निस्कियो । उस्ले भेटिएकाहरुलाई सानो स्वरमा सोध्यो, ” सन्चै हुनुहुन्छ हजुर ?” उ सचेत थियो, ठूलो स्वरमा बोल्दाभन्दा सानो स्वरमा बोल्दा आफूभित्र भएका जुनसुकै जीवाणुहरु अरुलाई सर्न पाउँदैन भनेर । त्यसैले सावधानी अपनाएको थियो उस्ले । तर ती भेटिने हजूरहरुले उसलाई अपराधी झै ठानेर तर्किए अनि झर्किदै भने- “अबको सन्चोको के ग्यारेन्टी ? तिमी गाउँ पस्यौं, कतिलाई विसन्चो पार्ने हौ !” कोभित भाइ अचम्मित भयो ।

उता ज्ञान विज्ञान र चिकित्साशास्त्रले खालो सार्न नसकेपछि कोभित भाइहरु जस्तैका प्लाज्माले सिकिस्त बिरामी फिराउन सफल भएकाे समाचार तिनै झर्कने हजुरहरुको मोबाइलमा बजिरहेको थियो । यस्तो बेला जतिबढी कोभित भाइहरु संक्रमण मुक्त भए त्यति नै अरु बढी संक्रमितको ज्यान बचाउन सक्ने एन्टिबडी देशमा उपलब्ध हुँदै थियो । मृत्युसँग लडेर, मृत्यु परास्त पार्न सक्ने क्षमता लिएर आएका उनीहरुलाई राज्यले सुरक्षा र समाजले सम्मान गर्नु पर्ने कि अपराधीलाई झैं दुर्व्यवहार ? आज उनीहरूलाई तिरष्कार गर्नेहरूलाई भोलि बाँच्न उनीहरूकै एन्टिबडीले बचाउने दिन नआउला भन्न सकिन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.