आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, पहिलो वर्ष नै ३४० करोडको लक्ष्य

  २०७७ भदौ ४ गते १२:३५     विकासन्युज

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले फुयाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

फुयाललाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने बोर्डको निर्णयमा बीमा समितिले पनि सहमति दिएकाे छ । बीमा समिति सम्वद्ध स्राेतकाे अनुसार आज बीमा समितिले स्वीकृत दिएकाे हाे ।

फुयाल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए । जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको रुपमा उनलाई कम्पनीले लिएको छ ।

चालु आर्थिक वर्षमा नै १५० प्रतिशतले व्यवसाय विस्तार गर्ने संकल्पसहित फुयालले आईएमई लाइफको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको स्रोतले बतायो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकाे छ । आगामी चालु आर्थिक वर्षमा ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिइएको छ ।

एकै वर्ष १० वटा जीवन बीमा कम्पनी खुल्दा पहिलो आर्थिक वर्षमा आईएमई लाइफ १० मा दोस्रो स्थानमा थियो । तर हाल याे कम्पनी पाँचौ स्थानमा झरेको छ ।

आईएमई ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु मध्ये आइएमई लाइफको पर्फमेन्स कमजोर भएको प्रवर्द्धकको बुझाई छ । यहि बीचमा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले राजीनामा दिएपछि जीवन बीमाको मार्केटिङमा तगडा व्यक्तिलाई सीईओको जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.