बैंकहरुको नाफा सन्तुलित आयो, त्रासबाट फुत्कन सहकार्य गरौं- गभर्नर

  २०७७ साउन ३२ गते १२:०१     महाप्रसाद अधिकारी

कोरोना महामारीले विश्व नै त्रसित छ । आईएमएफले विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने बताएको छ । विश्वमा केही देशको अर्थतन्त्र २० प्रतिशतले संकुचन हुने देखिएको छ । विकसित अर्थतन्त्र ठूलो मारमा छन् । विश्वका अरु देशको अर्थतन्त्रको तुलनामा नेपालको अर्थतन्त्र कम प्रभावित भएको छ । अझै नेपालको आर्थिक वृद्धिदर सकारात्मक छ, ऋणात्मक भएको छैन । हामी धेरै हतोत्साहित भएका छैन ।

जतिबेला म गभर्नरको रुपमा राष्ट्र बैंक छिरेको थिए, त्यतिबेला हामी कोभिडको बीचमा थियौं, लकडाउनको बीचमा थियौं, आर्थिक अवस्थालाई व्यवस्थापन गर्ने, पुर्नउत्थान गर्ने ठूलो चूनौति थियो । एकातिर बैकिङ, वित्तीय क्षेत्रलाई सुचारु गर्ने जिम्मेवारी एकातिर, अर्कोतिर लकडाउन । समग्रमा व्यवसायिक गतिविधि ठप्प भएको, व्यवसायीहरुको मनोबल गिरेको अवस्थामा हामी काम गर्दै थियौं । अर्कोतिर म प्रति मानिसहरुको अपेक्षा बेसी छ, खासगरी मलाई चिनेकाबाट ।

यस पृष्ठभूमिकाे हामीले सबै क्षेत्रबाट सुझाव संकलन गर्यौं । निजी क्षेत्रका प्रतिनिधि मुलक संस्थाहरुबाट सुझावहरु लियौं । पत्रकारहरुले हामीलाई सोधेका प्रश्नहरुलाई पनि हामीले मनन् गर्यौं । नेपाल सरकारको बजेटलाई आधार मान्दै हामीले मौद्रिक नीति ल्यायौं । धेरैले मौद्रिक नीति मन पराउनुभयो । कतिपय समयमा राम्रो काम गर्दा पनि जस पाइदैन तर यस पटकको मौद्रिक नीति सबैले राम्रो भन्नुभएको छ ।

यसपछिको कार्यदिशमा हामी सबैको जिम्मेवारी छ । नीति राम्रो भएपछि त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ । कार्यान्वयन भएन भने कसका कारणले भएन, कुन कुर्सीमा बसेको व्यक्तिले काम गरेन, कसले धर्म निभाएन भनेर मिडियाका साथीहरुले पनि हेर्नुपर्छ । निजी क्षेत्रले पनि हेर्नुपर्छ । नीतिबाट लाभ पाउने पक्षले पनि हेर्नुपर्छ । विषय विज्ञहरुले पनि हेर्नुपर्छ ।

मौद्रिक नीतिले अहिलेको अवस्थालाई मात्र सम्बोधन गरेको छैन । कोभिड–१९को असर धेरै वर्षसम्म रहने हामीले देखेका छौं । तसर्थ हामीले २०औं वर्षपछिलाई हेरेर केही बुँदाहरु, केही विषयहरु मौद्रिक नीतिमा राखेका छौं । जलविद्युत क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयहरु, निर्यात प्रवद्र्धनसँग सम्बन्धित विषयहरु समग्र अर्थतन्त्रको दीर्घकालिन हित हेरेर ल्याइएको विषय हुन् । यसको कार्यान्वयनमा को बाधक छ ? त्यसभित्र कसको इन्ट्रेन्ट के हो ? कसले व्यक्तिगत स्वार्थ हेरेर काम गरेको छ, कसले देशको स्वार्थमामा काम गरेको छ ? यसमा पत्रकार साथीहरुले हेर्नुपर्छ, चिर्नुपर्छ । निजी क्षेत्र पनि त्यत्तिकै सक्रिय रुपमा लाग्नुपर्छ । हामी नियामक पनि लागीराख्नुपर्छ । भखर्रै नेपाल धितोपत्र बोर्डले बैंक तथा बित्तीय संस्थाले मर्जरमा गएका संस्थाले ढेड महिनाभित्र सेयर कारोबार शुरु हुनु पर्ने व्यवस्था गरेको छ । सबै नियामक मिलेर काम गर्यौ भने त्यसले पक्का पनि राम्रो नतिजा ल्याउने छ ।

हामीले अर्थतन्त्रलाई गति दिन, पुर्नउत्थान गर्न मौद्रिक नीतिबाट सक्दो प्रयास गर्यौं । पहिलाको लकडाउन अनलक भए पनि फेरि अर्को खालको लकडाउन भएको हो कि भन्ने त्रास व्यवसायिक क्षेत्रमा गएको छ । यस्तो त्रासलाई कसरी हटाउने भनेर हामीले सोचिरहेका छौं । यस्तो त्रासबाट फुत्कनको लागि थप सामान्जय, सहकार्य गरेर थप कार्य गर्नुपर्ने हुनसक्छ । हामीले गाह्रो मान्नु हुन्न ।

मैले पहिल्यै देखि भन्दै आएको छु–हामी सबै बाच्नुपर्छ । ग्राहक बाँचे भने बैंक रहन्छन् । मौद्रिक नीतिभन्दा अगाडि ‘फाइनान्सियल स्टाविलिटी र इन्डस्ट्रीप्रतिको फ्यासिलिटेशनबीचको ट्रेडअफ’ ठूलो चुनौतिको विषय थियो । हामीले धेरै मिहेनत गरेर एउटा सन्तुलनमा ल्याएका छौं । कतिपय ठाउँमा हामीले ऋणिलाई सहजीगरण गरेको छौं भने कतिपय ठाउँमा बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिदिएका छौं । २७ वटै बैंकले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुनै पनि बैंक घाटामा छैनन् । थोरै नाफा गर्नेले ४६ करोड रुपैयाँ नाफा गरेका छन् भने धेरै गर्नेले ४ अर्ब ४६ करोड पनि नाफा गरेका छन् । त्यसभित्रको प्रर्फमेन्स त व्यवसायको आकार, व्यालेन्सिटको साइज, कर्जाको अवस्था लगायतमा भरपर्छ । २ वटा बैंक बाहेक सबैले स्प्रेडरेट सीमाभित्र राखेका छन् । यो सितिमिति कुरो छैन । कुनै बैंकको रेट जाला कि भन्ने हामीलाई डर थियो । त्यो सबै कुरा म्यानेज भएको छ ।

शुरुमै विकासन्युजका प्रधान सम्पादक रामकृष्णजीले भन्नुभयो कि बैंक तथा वित्तीय संस्थाको नाफा, बीमा कम्पनीको नाफाप्रति धेरैले डाहा गर्छन । कमाईप्रति रिस गर्ने, डाहा गर्ने सोच, प्रवृतिको विकास हुनु राम्रो होइन । उहाँको भनाई प्रति म सहमत छु । अरुको कमाईप्रति नकारात्मक दृष्टि राख्नु हुन्न । हाम्रो माइण्डसेट नै सुधार गर्नुपर्छ । तर यतिबेला अत्याधिक नाफा देखिएको भए त्यसप्रति मानिसमा राम्रो सन्देश नजान सक्थ्यो । अहिले बैंकहरुको नाफा सन्तुलित छ, लेवल भित्र छ । कही कतै नमिलेको भए त्यसलाई मिलाउँदै जानुपर्छ । आजसम्म बैंकहरुको वित्तीय सूचकाङ्क राम्रो छ । हामीले निक्षेपको सुरक्षासँगै निक्षेपकर्ताले पाउने व्याज पनि उचित हुनुपर्छ भन्ने नीति लिएका छौं । त्यसैमा हामीले ध्यान दिएर नाफा वितरण सम्बन्धमा सन्तुलित नीति लिएका छौं । बैंकहरुको क्यापिटल एडेक्वसी, सम्पत्तिको गुणस्तर  सबै राम्रो छ । दक्षिण एशियामा नै नेपालका बैंकहरुको एनपीए सबैभन्दा कम छ । यो हाम्रो सवलपक्ष हो ।

अन्त्यमा, विकासन्युज ६ वर्ष पुरा गरी ७ औं वर्षमा प्रवेश गरेको अवसरमा विकासन्युजका प्रमुख रामकृष्ण पौडेल र विकासन्युजमा आवद्ध सबै सञ्चारकर्मी साथीहरुलाई हार्दिक बधाई दिन चाहान्छु । विकासन्युजले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगितामा सहभागी सबै लेखकहरुलाई धन्यवाद दिन चाहान्छन् । प्रतिस्पर्धामा विजयी लेखकहरुलाई हार्दिक बधाई दिन चाहान्छु ।

धन्यवाद ।

(विकासन्युजले वार्षिकउत्सवकाे अवसरमा आयोजना गरेको भच्र्यूअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यक्त गर्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.