चार अर्ब ४५ करोड बढीको आईपीओ पाइपलाइनमा, सबैभन्दा बढी इन्स्याेरेन्स र लघुवित्तकाे

  २०७७ साउन ३० गते १९:००     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण सेयर(आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेको छ । बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि बोर्डमा आवेदन परेको हो ।

बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए । यस्तै अहिले पनि करिब १ अर्ब बराबरको आईपीओ स्वीकृत भइसकेको उनले बताए ।

जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन हुँदै छ । त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन हुँदैछ । जसमध्ये लिबर्टीले भदौ ३ गतेदेखि र रिलायन्स लाइफ इन्स्योरेन्स तथा समाज लघुवित्तले भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने मिति तय गरेका छन् ।

चालु आर्थिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए । अहिले पनि केही कम्पनीहरु आईपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको उनले बताए । त्यसबाहेक केही जलविद्युत कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्नका बुझ्न आएको केसीले जनाएका छन् ।

हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन् । जसमध्ये चार वटा कम्पनीको प्रारम्भिक अध्ययनको क्रममा छन् भने ५ वटा कम्पनीको अध्ययनसँगै प्रतिवद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.