कोभिडले प्रविधिमूलक शिक्षामा हामीलाई १० वर्ष अगाडि बढाउँदैछ-केशर बहादुर खुलाल

  २०७७ साउन ३० गते १२:४७     विकासन्युज

केशर बहादुर खुलाल, प्रिन्सिपल, काठमाडौं वल्ड स्कूल

कोभिड–१९ महामारीले शिक्षा क्षेत्रलाई पनि अस्तव्यवस्त पारेको छ । गत चैत ११ गतेदेखि नै देशभरका शिक्षण संस्थाहरु बन्द छन् । शैक्षिक गतिविधि ठप्प छ । निजी क्षेत्रका स्कूल कलेजहरुले अनलाईन कक्षा सञ्चालनका लागि गरेको प्रयासमा सरकार बाधक बनिरहेको छ । अनलाईन कक्षा सञ्चालन नगर्नु, विद्यार्थी अभिभावकसँग शिक्षण शुल्क नलिनु भन्ने सरकारी निर्देशनहरुले निजी क्षेत्रका स्कूल कलेजका केही सकारात्मक प्रयास पनि विथाेल्न सहयोगी बन्दैछ । तैपनि स्कूलहरुले ११ कक्षामा भर्नाको सूचना प्रकाशित गर्न थालेका छन् । स्कूल तथा कलेज तहमा भर्ना लिने, अनलाइन कक्षा सञ्चालन गर्ने अभ्यास थालेका छन् । यस परिवेशमा स्कूलहरुले कसरी काम गरिरहेका छन् ? चुनौति के के छन् ? संकटकै बीच अवसरहरु के छन् ? प्रस्तुत छ काठमाडौं वल्ड स्कूलका प्रिन्सिपल केशर बहादुर खुलालसँग गरिएको विकास वहस ।


सरकारले स्कूल/कलेज नचलाउन भनिरहेको छ । तपाईहरुले भर्ना खुला भएको सन्देश दिइरहनु भएको छ । कसरी सुचारु गर्दै हुनुहुन्छ शैक्षिक गतिविधिहरु ?

अहिलेको लागि हामी हाम्रो स्कूलमा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुको लागि सिट बुकिङ गरिरहेका छौं । हामीले उहाँहरुलाई एउटा स्क्रिन टेष्ट गराएर राखेका छौं तर आधिकारीक रुपमा हामीले भर्ना भनेर संचालन गरेका छैनौं ।  त्यसबाहेका कक्षा १ देखि ९ सम्मको लागि अनलाईन कक्षा संचालन गरिरहेका छौं जुन निकै राम्रोसँग चलिरहेको छ । यस्तै हामीले गएको वर्ष कक्षा ११ पढेका विद्यार्थी जो अहिले कक्षा १२ मा हुनुपथ्र्यो, उहाँहरुको लागि पनि हामीले कक्षा १२ को कोर्सेहरु संचालन गरिरहेका छौं ।

अनलाईन विद्यार्थीहरुको सहभागित कस्तो छ ?

हाम्रो स्कूलका विद्यार्थीहरुको कुरा गर्नुपर्दा हाम्रा केही विद्यार्थी बाहेक अन्य सबैसँग कम्प्युटरसँगको पहुँच रहेको छ । त्यसैले हाम्रो अनलाईन कक्षामा दैनिक रुपमा ९० प्रतिशत विद्यार्थीको सहभागी रहन्छ ।

अनलाईन कक्षा संचालन गर्दा समस्याहरु के कस्ता आईपर्दा रहेछन् ?

हाम्रो अनलाईन कक्षामा सबैभन्दा पहिला देखिने समस्या भनेको टेक्नोलोजीको नै रहेको छ । ईन्टरनेट जुनसुकै समयमा पनि जानसक्छ । सबैको घरमा हाई स्पिड ईन्टरनेट हुँदैन जसले गर्दा पढ्न र पढाउन दुवै गाह्रो हुन्छ । कति शिक्षकहरुलाई पनि घरमा बसेर पढाउँदा राम्रो नेटवर्क नभएको कारण पढाउन समस्या भईरहेको छ ।
यस्तै दोस्रो समस्या भनेको विद्यार्थीहरु लामो समय, २ देखि ५ घण्टा स्क्रिन अगाडि बसेर ध्यान दिएर पढ्न खोज्दा फोकस गर्न सक्दैनन् । कक्षामा भन्दा अनलाईनमा पढ्दा विद्यार्थीहरु धेरै छिटो थाक्छन् । त्यसकारण यसको प्रभावकारिता पनि कम छ ।

तेस्रो, अहिलेको अवस्थामा अभिभावकहरु काममा जाँदा छोराछोरीहरु घरमै बसिरहेका छन् । पहिला छोराछोरी विद्यालय जाँदा अभिभावकहरु उनीहरुले विद्यालय गएर केही सिके भन्ने विषयमा ढुक्क थिए तर अहिले घरमा छोराछोरीहरु अनलाईन मार्फत पढ्दा कस्तो पढे, के पढे भन्ने उहाँहरुको लागि चिन्ताको विषय बनेको छ ।

पढाईमा रुची भएका विद्यार्थीलाई अनलाईन मार्फत पढाउन सजिलै होला तर विद्यालयमा शिक्षकहरुले पढ्नको लागि बारम्बार भनिरहनुपर्र्ने विद्यार्थीहरुको सिकाई भने कस्तो भईरहेको छ त ?

जसलाई पढ्न रुची छ उसको लागि यो कक्षा निकै फाईदाजनक छ र सिकाउन पनि सजिलो छ । अनलाईनमा होहल्ला कम हुनाले यो उनीहरुको लागि झनै राम्रो साबित भएको छ । तर रुची नभएका विद्यार्थीहरु भने अनलाईन आउँछन् अनि क्यामरा र स्पिकर अफ गरेर अन्त नै जाने गरेको पाईन्छ । त्यसलाई रोक्नको लागि शिक्षकहरुले बेलाबेला विद्यार्थीहरुको नाम लिनुहुन्छ र प्रश्नहरु गरिरहनु हुन्छ । प्रश्न सोध्दा उताबाट जवाफ नआए उनीहरु नरहेको हामी थाहा पाउँछौं । यस्ता विद्यार्थीलाई अभिभावकहरुलाई भनेर हामी केही सहजीकरण गर्न खोज्छौं तर त्यो खासै काम गर्दैन ।

यसलाई रोक्नको लागि हामी गृहकार्य पनि दिईरहेका हुन्छौं र उनीहरुले त्यो बुझाए बुझाएनन् भन्ने अभिभावकहरुलाई खबर गछौं । जे होस् ईच्छा नभएका विद्यार्थीहरुमा यस कक्षाको प्रभावकारिता कम छ ।

अनलाईन कक्षाका फाईदाहरु चाहिँ के के छन् ?

साँच्चै भन्नुपर्दा अनलाईन कक्षाको फाईदालाई विद्यार्थी र शिक्षक दुवैले आत्मसाथ गर्ने हो भने त ईन्टरनेटबाट जुन सन्दर्भ सामाग्री खोजेर पढाई हुन्छ त्यो कक्षामा पढाएभन्दा धेरै रोचक हुन्छ । साथसाथै विद्यार्थीहरुलाई पनि शिक्षकहरुले खोजीमुलक कार्यहरु दिनसक्छन् जसले विद्यार्थीमा खोजीको बानी बसाउनुको साथै उनीहरुमा केही चिजलाई पनि क्रिटिकल रुपमा हेर्ने दृष्टिकोणको विकास गरिदिन्छ । त्यसैले अनलाईन कक्षा धेरै प्रभावकारी बन्न सक्छ । यद्यपी भन्नु र गर्नुमा धेरै फरक छ ।

तपाई बुढानिलकण्ड जस्तो निकै प्रख्यात स्कूलमा विद्यालमा पढेको, बेलायतमा र अमेरिकाबाट उच्च शिक्षा हासिल गरेको मान्छे । विदेशमा पनि पढाउनुभयो । बुढानिलकण्ठको प्रिन्सिपल पनि हुनुभयो । तपाईको आफ्नै सिकाई र भोगाइका आधारमा कोभिडपछि जुन प्रकारको शिक्षण अभ्यास भएको छ, त्यो सहि दिशातर्फ उन्मुख छ कि छैन ?

कोभिड १९ ले गर्दा शिक्षामा टेक्नोलोजी प्रयोगमा हामीलाई १० वर्ष अगाडि लैजादैछ । विदेशमा अध्यनको सन्दर्भमा सरकारले तोकेको पाठ्यक्रममा आधारित भएर शिक्षकले भन्ने र विद्यार्थीले सुन्ने भन्दा पनि खोजमुलक हुन्छ । हरेक विषयमा उनीहरुले क्रिटिकल रुपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।

नेपालको सन्दर्भमा भने सरकारले त्यस्तो गर्न बारम्बार भनिरहेको हुन्छ र विभिन्न कारण र सीमितताले गर्दा हामीेले त्यो गर्न सक्दैनौं । त्यसमाथि प्रविधि भनेपछि तर्सिने धेरैको बानी रहेको छ । विशेष गरेर हाम्रो पुस्ताका शिक्षकहरु यस्ता प्रविधिसँग नजिक हुने सकेका थिएनन् तर विद्यार्थीहरु भने कम्पयुटर भनेपछि एकदमै उत्साहित हुने र यी दुई पक्षहरु त्यसकारण जोडिन सकिरहेका थिएनन् । तर हालको अवस्थाले शिक्षकहरुलाई पनि अनिवार्य प्रविधिसँग नजिक हुनलाई बाध्य पारेको छ । स्कुलले पनि त्यसमा जोड दिएर उनीहरुलाई तालिम दिएको छ । आउँदो दिनमा जब हामी कक्षाकोठामा बसेर अध्यन गर्छौं त्यसमा म निर्धक्कसँग भन्न सक्छु कि अब प्रविधिको प्रयोग गरेर शिक्षकहरुले त्यस कक्षाहरुलाई झनै प्रभावकारी बनाउनेछन् ।

हिजोसम्म कक्षाकोठाका बोर्डमा लेखेर विद्यार्थीलाई पढाउने अभ्यास थियो । अहिले विद्यार्थीलाई कम्प्यूटर अगाडि राखेर, गुगल, युटयुबमा विभिन्न विषय खोजेर पढाउने अभ्यास भईरहेको छ । यसको नतिजा कस्तो आउला ?

अब हामी यही अनलाईन मै रहेर पढाउने हो भने त प्रभावकारितामा अलिक फरक पर्छ तर प्रभावकारिता के हो र त्यसलाई कसरी मापदण्ड गर्ने भन्ने कुरामा पनि धेरै भरपर्छ । आजसम्म नेपालमा अभिभावक लगायत अन्य सबैले हेर्ने भनेको विद्यार्थीले पाउने अंक मात्रै हो । परीक्षामा राम्रो लेखेर राम्रो अंक आएकाहरुलाई उत्कृष्ट भन्ने चलन छ । तर विदेशमा भने विद्यार्थीले आफ्नो काम कत्तिको राम्रो गर्नसक्छ र उ कति क्रियटिभ छ, समस्या कति छिटो प्रभावकारी ढंगल समाधान गर्छ भन्ने हेरिन्छ । हामीले पहिलाकै नजरियाले विद्यार्थीहरुको अनलाईन कक्षालाई हेर्ने हो भने हामी त्यसलाई खासै प्रभावकारी देख्दैनौं । तर अनलाईन कक्षाको शिक्षा खोजमुलक हुनुपर्छ । ईन्टरनेटमा वा आफ्नो वरिपरी वातावरणबाट विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । मलाई लाग्छ निकट भविष्यमा यसको प्रभावकारिता राम्रो हुन्छ ।

अब शिक्षकहरुले कक्षाकोठामा जाँदा फेरि बोर्डमा मार्कर वा चक डस्टर घोट्न थाल्लान वा अनलाइन कक्षा सञ्चालनमा प्रयोग भएको प्रविधिलाई निरन्तर प्रयोग गरिरहलान् ?

हाम्रो स्कूलको पक्षमा चाहिँ एउटा कक्षा कोठामा सबै प्रकारको प्रविधि भएकाले शिक्षकहरुलाई झनै फाईदा हुने देखिन्छ । हामीले पहिला सामान्य अवस्था हुँदा शिक्षकहरुलाई यस्तो प्रविधिको प्रयोग गर्नुहोस् भन्दा गरेको पाईदैँन थियो तर अब उहाँहरु यससँग नजिक हुुनु भएको कारण कक्षा कोठामा पनि प्रविधि मज्जाले प्रयोग गर्न सक्नुहुन्छ । सरकारी विद्यालयहरुलाई पनि भन्नुपर्दा ल्यापट, प्रोजेक्टरहरु दिने भनेर वर्षैदेखि बजेट छुटिँदै आएको छ । के भएका छन् त थाहा छैन । सानो बजेटमा चलेका विद्यालयहरुलाई त फेरी पनि ल्यापट, प्रोजेक्टरहरु, मल्टिबोर्डको प्रयोग गर्न ग्राहो पर्ला ।

अब कोभिडपछि विद्यार्थी र शिक्षकहरु जम्मा हुँदा एउटा छुटै किसिमको वातावरण बन्छ ?

म यसमा विश्वास राख्छु र यो हुन्छ र हुनैपर्छ । हाम्रो जीवनको प्रत्येक पाटोमा यसले प्रभाव छोड्छ छोड्छ । हाम्रो जीवन नै अब हिजोको जस्तो रहँदैन र हामी हरेक ढाँचामा फरक हुन्छौं । हाम्रो शिक्षामा पनि यसले सकरात्मक प्रभाव पार्छ । हुन त एउटा ठूलै महामारी भयो तर यो एउटा अवसर हो र यसले सकरात्मक प्रभाव ल्याउँछ ।

तपाई आफै पनि काठमाडौं वल्र्ड स्कुलको प्रिन्सिपल हुनुहुन्छ । यस महामारीले व्यवस्थापकिय पाटोमा कस्तो चुनौती ल्याईरहेको छ त ?

व्यवस्थापकिय हिसाबले कुरा गर्नुपर्दा हाम्रो लागि दुईवटा चुनौती रहेको छ । पहिलो भनेको अनलाईन कक्षालाई कसरी बढि प्रभावकारी बनाउने, कसरी विद्यार्थीलाई यसप्रति चासो दिने बनाउने, त्यसमा पनि विशेष गरेर सानो कक्षाका बच्चाहरुलाई कम्पयुटरबाट प्रभावकारी शिक्षा कसरी प्रदान गर्ने रहेको छ ।

त्यससँगै त्योभन्दा पनि ठूलो चुनौती हाम्रो लागि शिक्षक र कर्मचारीहरुलाई कसरी जागिर खुवाईराख्ने हो । उहाँहरुको आर्थिक पक्षलाई कसरी पूरा गरेर उहाँहरुमा भएको जोस जाँगर कसरी कायम राख्ने भन्ने हाम्रो सबैभन्दा ठूलो चुनौती रहेको छ ।

अनलाईन कक्षा संचालन गर्न एउटा शिक्षकसँग राम्रो ईन्टरनेट र कम्प्युटर हुनुपर्छ । के यो शिक्षक आफैले व्यवस्था गर्नुपर्ने हो कि विद्यालयले गर्दिनुपर्ने हो ?

अहिलेको महामारी बेलामा इन्टरनेट, कम्प्यूटर शिक्षक र विद्यालय दुवै मिल्नुपर्छ । विद्यालयले नै व्यवस्था गरिदिनुपर्छ भन्दा अहिलेको समयमा त्यति जायज नहोला किनभने विद्यालयलाई शिक्षक र कर्मचारीलाई नै तलब खुवाउनु धौउधौउ परिरहेको छ । केही विद्यालयले सक्लान् तर भार परेको विद्यालयहरुको हकमा केही रकम शिक्षक र केही रकम विद्यालयले हाल्दा दुवैलाई राम्रो हो ।

के तपाईको विद्यालयका शिक्षक तथा कर्मचारीहरुले तलब पाईरहेका छन् ?

हाम्रा शिक्षक तथा कर्मचारीले तलब पाएका छन् । तर हामीले पुरा तलब भने दिनसकेका छैनौं । यद्यपी हामीले दिएको तलबको हिस्सा राम्रै रहेको छ । मैले सुनेको छु कि केही विद्यालयहरुले महिनौं देखि तलब दिएका छैनन् । हामीले तलब दिँदा केही ढिला भएको छ । असारको ढिलामा पनि साउनभरमा भुक्तानी हुन्छ ।

स्कुलले शिक्षक तथा कर्मचारीहरुलाई तलब दिएन भनेर मात्र हुँदैन । स्कुल तथा कलेजहरुले आफ्नो स्रोत परिचालन गर्न सकेको छ कि छैन्न भन्ने महत्वपूर्ण पक्ष हो । अभिभावकहरुले बालबालिकाको शुल्क तिर्ने मामालमा कस्तो प्रतिकृया जनाईरहेका छन् ?

यसमा पनि मिश्रित धारणा छ । थुप्रै अभिभावकहरु हाम्रा छोराछोरीले सिक्ने मौका पाईरहेका छन्, हामीहरुले त्यसबापत शुल्क तिर्छौ भनेका छन् तर उहाँहरुले हिजोको दिनमा विद्यालयले लिएको शुल्क जत्तिकै अहिले लिनु कति जायज छ भनेर विद्यालयलाई नै मुल्यांकन गर्न लगाउनुभएको थियो । त्यस्तै केही अभिभावकहरुले भने केही प्रतिकृया जनाउनु भएको छैन र शुल्क पनि तिर्नुभएको छैन । सायद अहिले उहाँहरुको आर्थिक स्थित निकै कमजोर भएर यस्तो हुनसक्छ । तर हाम्रोमा कुनै पनि अभिभावकले शुल्क लिनुहुँदैन भनेर विरोध भने गर्नुभएको छैन र हामीले पनि शुल्कमा प्रतिकृया नजनाउने अभिभावकहरुलाई शुल्कको लागि दबाब दिएका भने छैनौं ।

नियामित शुल्क तिर्ने कति प्रतिशत अभिभावक हुनुहुन्छ ?

नियमित शुल्क तिर्ने अभिभावक ५० प्रतिशत जस्तो हुनुहुन्छ । तर म फेरी पनि भन्न चाहान्छु कि हामीले अन्य धेरै विद्यालय जस्तो अभिभावकलाई शुल्कको लागि दबाब दिएका छैनौं । यद्यपी धेरै स्कूलहरुको दाँजोमा हामी आर्थिक हिसाबले पनि सबल भएकोले हामीले दबाब दिनुपर्ने स्थिति छैन ।

तपाईहरुले विद्यार्थीको शुल्क घटाउनुभयो ?

हामीले पहिला लिने शुल्कहरु सबै घटाएका छौं । हामीले सरकारले एक महिनाको शुल्क नलिनु दिएको आदेश पालना गर्दै अभिभावकहरुसँग एक महिनाको शुल्क लिएका छैनौं । त्यस्तै हामीले पहिला लाग्ने खाजा खर्च, यातयात शुल्क सबै मिनाहा गरेका छौं । यस्तै अनलाईन कक्षा संचालन भईन्जेलसम्म वार्षिक शुल्क पनि लाग्दैन भनेका छौं । जसले गर्दा उहाँहरुले पनि बिना कुनै प्रश्न शुल्कहरु तिरिरहनु भएको छ ।

सरकारले अनलाईन कक्षाहरु नचलाउ, शुल्क नलिअ भन्ने आएको छ । यसले तपाईहरुलाई कस्तो प्रभाव पारेको छ ?

हामी साँच्चै फ्रि मार्केटमा विश्वास गछौं, विश्व व्यापार संगठनको सदस्य छौं । हामी प्रजातन्त्रमा विश्वास राख्छौं भने सरकारको तर्फबाट यसरी एकपक्षिय निर्णयहरु आउनु हुँदैन । चैत्र महिनाको शुल्क नलिनुस भन्ने निर्णय सरकारले गर्ने होईन । सरकारले यसको सट्टा विद्यालय र अभिभावकले बसेर एकअर्कोलाई उचित हुने निर्णय गर्नु भन्न सक्थ्यिो होला । अझै कल्याणकारी राज्य नै भएको भए अभिभावकसँग शुल्क नलिनुस् बरु हामी नै केही मात्रामा शुल्क तपाईहरुलाई दिन्छौं भन्न सक्थ्यो । कहिले अनलाईन कक्षा नचलाउनु, कहिले चलाउनु भन्ने जस्ता सरकारको दोधारे निर्णयले जोकोहीलाई पनि अगाडि बढन् समस्या ल्याउँछ ।

पक्कै पनि यसले हामीलाई प्रभाव पारेको छ । मात्र फरक भनेको कतिसम्म प्रभाव पार्ने हो । हामी साँच्चै फ्रि मार्केटमा विश्वास गछौं, विश्व व्यापार संगठनको सदस्य छौं । त्यसका साथै हामी प्रजातन्त्रमा विश्वास राख्छौं भने सरकारको तर्फबाट यसरी एकपक्षिय निर्णयहरु आउनु हुँदैन । जस्तै चैत्र महिनाको शुल्क नलिनुस, यस्तो निर्णय सरकारले गर्ने होईन । सरकारले यसको सट्टा विद्यालय र अभिभावकले बसेर एकअर्कोलाई उचित हुने निर्णय गर्नु भन्न सक्थ्यिो होला । अझै कल्याणकारी राज्य नै भएको भए अभिभावकसँग शुल्क नलिनुस् बरु हामी नै केही मात्रामा शुल्क तपाईहरुलाई दिन्छौं भन्न सक्थ्यो । जनताबाट उठाएको रकम जनतालाई नै राहत दिनलाई हिच्किचाउनु पर्ने म देख्दिन । कहिले अनलाईन कक्षा नचलाउनु, कहिले चलाउनु भन्ने जस्ता सरकारको दोधारे निर्णयले जोकोहीलाई पनि अगाडि बढन् समस्या ल्याउँछ ।

यति बेला सरकारको नीति, नियमको पालना गर्ने कि वेवस्ता गरेर स्कूल चलाउने ?

अहिलेसम्म हामीले सरकारले भनेको सबै नियम पालन गर्दै आएको छौं तर कतिपय ठाउँमा मनमा खिन्नता भएता पनि हामीले नियमहरु भने पालन गरेका छौं किनभने देशको कानुन त सबैले मान्नुपर्छ । भोली हामीले सरकारको कुरा मिच्न थाल्यौं भने त देश त भताभुङ्ग हुन्छ । त्यहीभएर पनि हामी चित्त नबुझे पनि नियमहरु भने पालना गरिरहेका छौं ।

संसारभरका विश्वविद्यालयहरुले आन्तिरक मूल्यांकनको आधारमै नतिजा प्रकाशन गर्नुे भन्दै गर्दा हाम्रो नेपालमा हाल कक्षा १२ कै विद्यार्थीहरुलाई यसरी झुण्डाईएको छ नि । उनीहरुको कुनै पनि हालतमा परीक्षा गराउनु पर्ने भनिएको छ जसको कुनै आवश्यकता नै म देख्दिन ।

५५ रोपनी जग्गासहितका काठमाडौं वल्र्ड स्कूलले पूर्वाधार निर्माणमा गरेको लगानी कोभिड १९ को कारणले खेर जान्छन् कि भन्ने जोखिम उत्पन्न भएको हो ?

त्यस्तो हुँदैन ।किनभने कोभिड एउटा महामारी होे । कुनै पनि महामारी सधैंभरी रहदैनन् र यसको पनि अन्त्य हुन्छ । यो महामरी सिद्धिएपछि विद्यार्थीलाई स्कूल जानैपर्छ किनभने सबैलाई शिक्षा चाहिन्छ नै । त्यसैले स्कूल आवश्यक हुन्छ ।  स्कूमा पनि अबको सन्र्दभमा जुन परिवर्तन आवश्यक छ नि त्यो परिवर्तनहरुलाई अहिले नै त्यो भौतिक पूर्वाधार भैसकेको र भोलिको आवश्यकता अनुसारको शिक्षा दिनसक्ने क्षमता राख्ने धेरै कम स्कूल नेपालमा छन् र त्यसमा अग्रपङ्तीमा काठमाडौं वल्र्ड स्कूल छ । महामारी पछि राम्रा पूर्वाधार भएका शैक्षिक संस्थाको अझ हिजोको भन्दा पनि माग बढ्छ ।

अन्तिममा आफ्नो विद्यार्थी, टिम र अभिभावकलाई कुनै सन्देश दिन चाहानुहुन्छ ?

म काठमाडौं वल्र्ड स्कुलमा सबैभन्दा प्रभावित भएको शिक्षक, विद्यार्थी र अभिभावकसँगै हो । शिक्षकहरुले जसरी कुनै नाँइनास्ती नगरी ईन्टरनेट नभएको अवस्थामा पनि छिमेकीको घरमा समेत गएर कक्षाहरु संचालन गरेर जुन सहयोग पुराउनुभएको छ त्यसको लागि म आभारी छु । दोस्रो विद्यार्थीले त मेहनत गरेकै छन् र सबैभन्दा महत्वपूर्ण भनेको काठमाडौं वल्र्ड स्कूलले सबैभन्दा राम्रो अभिभावक पाएका छन् । मैले अघि पनि भने कि अहिलेसम्म हामीलाई कसैले पनि तपाईहरुले यस्तो गर्नुभयो, ठिक भएन भन्नुभएको छैन र हामीले पनि उहाँहरुलाई सकेसम्म सहयोग गरेका छौं । र यो जुन हाम्रो सहकार्य छ त्यो निरन्तर होस् र हाम्रो विद्यार्थीहरुले सबैभन्दा धेरै सिकुन् भनेर म भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.