अब ट्याक्सीको भाडा एपबाटै तिर्न सकिने, माछापुच्छ्रे बैंकसँग भयाे सम्झाैता

  २०७७ साउन २९ गते २१:३६     विकासन्युज

काठमाडौं । इजी एस्योरेन्स प्रा. लि. अन्तर्गतको इजी ट्याक्सीले विद्युत्तीय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजी एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापछि इजी ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजी ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजी एस्योरेन्स प्रा. लि.ले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्झौतापछि बोल्दै इजी ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।

‘हामीले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक सन्जित पौडेलले भने ।

मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई विद्युतीय कारोबारमा प्रोत्साहित गर्नका लागि इजी ट्याक्सी र बैंकबीच सम्झौता भएको हो ।

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ । रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नाम लगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनैपनि क्युआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाईमा परेको छ ।

इजी ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.