बीमांकीय मूल्यांकन निर्देशिका संशोधन हुदै, प्रक्रिया छोट्ट्याउन पहल होस्ः कम्पनी

  २०७७ साउन २९ गते ११:५२     नविन पाेखरेल

काठमाडौ । बीमा समितिले यो वर्ष बीमांकीय मूल्यांकन निर्देशिका संशोधन गर्ने तयारी गरेको छ । बदलिदो परिस्थिति अनुकुल हुने गरी निर्देशिका संशोधन गर्न लागिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशिका संशोधन गर्न लागिएको जानकारी दिए । समितिले चालु आर्थिक वर्षका लागि ल्याएको वार्षिक कार्यक्रममा निर्देशिका संशोधन गर्ने विषय पनि समावेश छ ।

‘हामीले वार्षिक कार्यक्रम बजारको वास्तविक अवस्था हेरेर नै बनाएका छौं, वार्षिक कार्यक्रममा जीवन बीमकको बीमांकीय मूल्यांकन निर्देशिका संशोधन गर्ने विषय राखिएको छ, निर्देशिका संशोधनबाट बीमा कम्पनीहरुलाई बिमांकीय मूल्यांकनमा अवश्यक सहजिकरण गर्ने हाम्रो उदेश्य हो’, कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने ।

छिटो हुने व्यवस्था होस्ः जीवन बीमक संघ

जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेका अनुसार जीवन बीमामा बीमांकीय मूल्यांकन गर्दा लामो समय लाग्ने गरेको र सो ढिलाइको असरले अन्य काममा समेत पर्ने गरेको छ ।

‘जीवन बीमाको बिमांकीय मूल्यांकन गर्दा प्रक्रियागत हिसाबले लामो समय लाग्ने गरको छ, यसरी समय धेरै लाग्दा अन्य काममा पनि स्वभाविक रुपमा असर त पर्ने नै भयो, बीमा समितिले प्राविधिक वा प्रक्रियागत पक्षमा केही परिवर्तन गरेर लामो र खर्चिलो प्रक्रियागत व्यवस्थामा सहजीकरण गरिदिए राम्रो हुन्थ्यो भन्ने हाम्रो कुरा हो,’ जीवन बीमक संघका अध्यक्ष पाण्डेले विकासन्यूजसँग भने ।

नेपालमा एक्चुरीको अभाव छ । नेपालका अधिकांश बीमा कम्पनीहरुले भारतीय एक्चुरीबाट बीमांकीय मूल्यांकन गराउने गरेका छन् । सोही कारण सबै वित्तीय विरणहरु भ्यालुयसनका लागि जीवन बीमा कम्पनीहरुले छिमेकी देश भारतमा पठाउनु पर्छ । लाइफ इन्स्योरेन्स कम्पनीहरुले भारतबाट एक्चुरी भ्यालुयसन गराएर ल्याएपछि त्यसालाई पुनः बीमा समितिले जाँचबुझ गर्ने गर्छ । तर समितिको पनि आफ्नो एक्चुरी छैन ।

बीमा कम्पनीहरुले बीमांकीय मूल्यांकन गरेपछि समितिले समेत एक्चुरीयल भ्यालुयसनका लागि भारतकै भरपर्नु पर्ने अवस्था छ ।

जीवन बीमा कम्पनीहरुले यस्तो अवस्थामा बीमा समितिले एक्चुरीको प्रक्रिया, एक्चुरी गर्न केही टेक्नीकल व्यवस्था अपनाउने वा सामान्य छलफल चलाउन सक्ने बिमक संघको अनुमान छ ।

बीमा समिति आफैले भने वार्षिक कार्यक्रममा समेटिएको जीवन बीमकको भ्यालुयसनसँग सम्बन्धित निर्देशिका तयारी पारी जीवन बीमकलाई सहज बनाउने बताएको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा समितिको कार्यक्रमले जीवन बीमा कम्पनीहरुलाई बीमांकीय मूल्यांकनमा थप सहज हुनेछ ।

‘बीमा उद्योगको आकार तथा संरचना विचार गरेर बीमा कम्पनीहरुले आउट सोर्सिङबाट बीमांकीय मूल्यांकन गर्दा तिर्नुपर्ने खर्चप्रति ध्यान दिएर यसमा केही सहजता हुने वातावरण सिर्जना गर्न नियामक निकायले सहयोग गर्ने हाम्रो विश्वास छ,’ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।

उनले बीमा क्षेत्रको विकास लागि नियामक निकाय बीमा समितिले समन्वयकारी भुमिका खेल्दै आएको र आगामी कानुन बनाउदा अध्ययन गरेर एक्चुरी अभाव हुने अवस्थाको चाडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.