पर्यटन बोर्डको बजेट ५० प्रतिशतले घट्यो, सीमित बजेटले उल्लेख्य काम गर्ने सीईओ रेग्मीको दावी

  २०७७ साउन २८ गते १६:१५     विकासन्युज

 काठमाडौं । विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको बीचमा आएको नेपाल पर्यटन बोर्डको बजेट गत वर्षको भन्दा आधा आकारको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको बोर्डले चालु आर्थिक वर्ष २०७७/०७८ मा स्रोतको अभाव भएको भन्दै ८२ करोडको बजेट ल्याएको हो । यो बजेट गत आर्थिक वर्षको तुलनामा करिब आधा अर्थात ५० प्रतिशत कम हो ।

कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभाव भएको भन्दै बोर्डले यस वर्षको बजेटको आकार कम भएको बताएको छ ।

बोर्डले यस वर्षको बजेट मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन र अनुसन्धानलाई मुख्य प्राथमिकता दिने बताएको छ । बोर्डले मुलुकको पर्यटकीय गतिविधि पूर्ण रूपमा ठप्प भएको र बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले चालू आवका लागि विनियोजित बजेटको आकार सानो बनाउनु परेको बताएको छ ।

के छ बजेटमा ?

बोर्डको चालु आर्थिक वर्षको बजेटमार्फत आन्तरिक पर्यटन र अध्ययन अनुसन्धानलाई प्राथमिकता दिइने बताइएको छ। यस वर्ष स्रोतका्े अभाव भएकोले धेरै ठूला कार्यक्रम तथा भौर्तिक पूर्वाधार निर्माणका कार्य नगर्ने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, बजेटमा पर्यटनबाट रोजगारी गुमाएकामध्ये केहीका लागि अल्पकालीन रोजगारी सिर्जना गर्ने कार्यक्रम समावेश गरिएको छ । जसका लागि टिम्सकार्डअन्तर्गतको कल्याणकारी कोषको करिब २ करोड रुपैयाँबाट पर्यटन श्रमिकलाई ब्याज अनुदान दिइने बताइएको छ ।

बोर्डले यस वर्ष पूर्वाधार विकासमा बजेट छुट्याएको छैन । नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ । पर्यटन प्रवद्र्धनमा सबैलाई सँगसँगै समन्वयका साथ अघि बढाउन डिजिटल मार्केटिङको अवधारणालाई प्राथमिकता दिइएको बताइएको छ ।

यस्तै बजेट तथा कार्यक्रममा बिबिसी, सिएनएन जस्ता विदेशी मिडियामा प्रचारप्रसारका लागि बोर्डले बजेट व्यवस्था गरेको छ । कोरोनाका कारण पहिले जस्तो प्रवद्र्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोग गरी पर्यटन प्रवद्र्धन गरिनेछ ।

कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गरिएका कारण चालू आवको पहिलो दुई महिना साउन र भदौमा विदेशी पर्यटक आउने सम्भावना छैन । त्यसपछिको १० महिनामा २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान गर्दै बोर्डले यस्तो बजेट बनाएको हो ।

सीमित बजेटले उल्लेख्य काम गरिन्छः सीईओ रेग्मी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले चालु आवका लागि कम बजेट विनियोजन भएपनि त्यसबाट उल्लेख्य काम गर्न सकिने बताएका छन् । उनले यस वर्ष स्रोतको धेरै अभाव भएकोले बजेटको आकार घटाएको स्पष्ट पारे ।

‘अहिलेलाई मुस्किलले ८२ करोड विनियोजन गरिएको छ, यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिन्छ, कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्छन्, उनले भने ।

उनले यस पटकको बजेटमा अध्ययन, अनुसन्धान र डिजिटल मार्केटिङलाई दृष्टिगत गरी बजेट विनियोजन गरिएको बताए । उनले विदेशी पर्यटक आगमनबाट हुने आम्दानी नै बोर्डको मुख्य आर्थिक स्रोत भएकोले कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट घटाइएको बताए ।

‘बजेट छोटो छ तर धेरै उपलब्धि हासिल गर्ने योजनाका साथ ल्याइएको हो, अघिल्ला बजेटभन्दा यस पटकको बजेट निकै प्रगतिशील भएको छ, यस पटकको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि विशेष जोड दिएकाले कोभिडपछिको पर्यटनलाई रिभाइवमा सहयोग पुग्ने विश्वास लिइएका छौं,’ उनले भने ।

उनले कोरोनाका कारण बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.