पशुपंक्षी बीमाको शुल्क घटाइदै, कृषिबालीमा उत्पादन मूल्यमा बीमा गराउने तयारी

  २०७७ साउन २८ गते १२:५८     नविन पाेखरेल

काठमाडौ । बीमा समितिले कृषिबाली बीमामा उत्पादन गर्दा आउने बालीको मूल्यकै आधारमा बीमा गराउने प्रक्रिया थालेको छ । अहिलेसम्म लागतका आधारमा बीमा गराउने गरिएकोमा समितिले उत्पादन मूल्यका आधारमा बीमा गराउन पहल थालेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार किसानहरुलाई सरकारले बीमा शुल्कमा अनुदान दिइरहेकाले अब उत्पादन मूल्यमा बीमा गर्न सक्ने व्यवस्था गरेमा त्यसले रक्षावरणको दायरा बढ्छ ।

‘अहिले सरकाले कृषि बीमाको बीमा शुल्कमा सरकारले अनुदान दिइरहेको छ, तर, पनि कृषि तथा पशुबाली बीमामा किसानको अपेक्षित सहभागिता भएन, यसको एउटा प्रमुख समस्याको रुपमा उत्पादित बस्तुको मूल्यका आधारमा बीमा नभएकोले हो भन्ने किसानको भनाइ छ, त्यसैले अबका दिनमा उत्पादित वस्तुको मूल्यका आधारमा बीमा गराउने व्यवस्था मिलाउन लागेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने ।

चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम मार्फत कृषि तथा पशुपंक्षी बीमालेख परिमार्जन गर्न समिति जुटिरहेको छ ।

बीमा समितिले आफ्नो वार्षिक कार्यक्रममा बाली तथा पशुपंक्षी बीमालेख तयार पारिने तथा चाडै लागू गरिने जनाउँदै आएको छ । समितिले हाल कायम रहेको बीमा लेखमा केही थपघट गर्न जरुरी भएकाले यस्तो व्यवस्था ल्याएको हो ।

पशुपंक्षी तथा बालीको बीमा गराउदै आएका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले भने कृषि उत्पादनको उत्पादन मूल्यमा बीमा गराउन समस्या हुन सक्ने बताएका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले दिएको जानकारी अनुुसार उत्पादनका आधारमा बीमांक दिनु राम्रो कुरा भएपनि त्यसको लागि केही समय लाग्ने जनाएका छन् ।

‘पछिल्लो समय पशुपंक्षी तथा बाली बीमाको आकर्षण राम्रो छ, बीमा समितिले आफ्नो कार्यक्रममा उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउने हिसाबले योजना बनाउनु राम्रो कुरा हो, तर तत्कालै भने लागतकै मुल्यमा बीमांक तोक्दा सहज हुने देखिन्छ, अनुदान तथा जनचेतनाले आकर्षण बढाइरहेको अवस्था छ, कृषि बीमामा खासै समस्या नभएको अवस्थामा उत्पादित वस्तुको मूल्यका आधारमा बीमा गराउन व्यवहारिक हुने जस्तो देखिदैन,’ महाप्रबन्धक टमोटले भने ।

उनले बीमा रक्षावरणका लागि भएकाले बीमा कम्पनीले नाफा–घाटाको लागि भन्दापनि जोखिम बहनलाई महत्व दिनेमा जोड दिएका छन् ।

बीमा समितिले बाली बीमा सम्बन्धि बीमालेख परिमार्जन गर्ने जनाएको हो । समितिले उत्पादन मूल्यका आधारमा बीमांक रकम तोकिदिने हो भने सबै अन्न बालीको बीमा गराउनेको संख्या ह्वात्तै बढ्ने जनाएको छ । हालसम्म केही सिमित बालीहरुमा आकर्षण रहेको र यो बीमालेख परिमार्जन गर्दा अन्य किसिमका अन्नबालीमा समेत आकर्षण बढ्ने जनाएको हो ।

पशुपंक्षी बीमाको शुल्क घट्ने

अहिले पशुपंक्षीको बीमा गर्दा बीमांकको ५ प्रतिशत रकम बीमा शुल्क स्वरुप बुझाउनुपर्छ । उक्त व्यवस्थालाई परिमार्जन गरी बीमा समितिले बीमांकको ४ प्रतिशत रकम बुझाउनु पर्ने व्यवस्था कायम गर्न खोजेको हो ।

पशुपंक्षीको बीमा गर्न सुरुवात गरेको ५ वर्ष नाघिसकेको अवस्थामा कृषि बीमा सम्बन्धि चेतनामा समेत धेरै वृद्धि भएको समितिको दावी छ । विगतका दिनमा बीमा के हो भन्ने कृषकहरुले अहिले बीमाका प्रोडक्टहरु छनोट गरेर बीमा गर्ने अवस्था सिजर्ना भएको समिति बताउछ ।

यस्तै, बीमा शुल्कमा अनुदान दिदा आर्थिकस्तर कमजोर भएका तथा बीमाको अभ्यास नगरेकाहरुलाई समेत बीमामा समावेश गर्न सहज हुने बीमा समिति बताउँछ । यस्तै, कहिलेकाही भने कुनै शिर्षकमा बीमा शुल्क बढाउदा बिमितलाई बीमाप्रतिको अपनत्व बढ्ने समितिको अनुभव छ ।

समितिले वार्षिक कार्यक्रमलाई एक अभ्यासका रुपमा लिई बिमितको मागलाई प्राथमिकतामा राख्दा राम्रो हुने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउछन् । यसमा कम्पनीहरुले पनि आफ्नो तर्फबाट दायित्व पूरा गर्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.