स्याङ्जाको गरिमा र पोखराको सांग्रिलाको ९ वर्षे यात्राः पुँजी वृद्धि र लाभांश वितरणमा यस्तो छ प्रतिस्पर्धा

  २०७७ साउन २८ गते ८:१८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका बाहिर कार्यक्षेत्र बनाएर स्थापना भएका गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक अहिले काठमाडौंको लाजिम्पाट र बालुवाटारमा केन्द्रीय कार्यालय स्थापना गरेर देशव्यापी बैंकिङ सेवा प्रदान गरिरहेका छन् ।

एउटै बेल्टमा, करिब एकै समयमा स्थापना भएका यी दुबै बैंक अहिले राष्ट्रियस्तरका विकास बैंकमध्ये राम्रा बैंकमा गनिन्छन् । सांग्रिला डेभलपमेन्ट बैंक २०६३ सालको कात्तिकदेखि संचालनमा आएको हो भने गरिमा विकास बैंक २०६४ सालको कात्तिकदेखि संचालनमा आएको हो । स्याङ्जामा स्थापना भएको गरिमा र पोखरामा स्थापना भएको सांग्रिला विकास बैंकको पुँजी बृद्धिमा के कस्तो प्रतिस्पर्धा चल्यो र सेयरधनीलाई के कति लाभांश दिए भन्ने बारेमा यहाँ विश्लेषण प्रस्तुत गर्न खोजिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको तत्कालिन बागेश्वरी डेभलपमेन्ट बैंकसँग मर्ज गरेपछि राष्ट्रियस्तरको विकास बैंक बनेको हो । सांग्रिलाले २०७४ को असार अन्तिमतिर कममस डेभलपमेन्ट बैंकलाई अक्वायर पनि गरेको थियो । सो बैंकको शाखा संख्या देशभर अहिले ९१ वटा छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर सुयोग श्रेष्ठ छन् । उनी विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् । बैंकको संचालक समितिको नेतृत्व अच्युतप्रसाद प्रसाईले संहालेका छन् ।

गरिमा विकास बैंक निलगिरी विकास बैंकसँग मर्जर भएपछि २०७२ सालमा राष्ट्रियस्तरको विकास बैंक भएको हो । गरिमामा सुभेक्षा विकास बैंक पनि मर्ज भएको छ । गरिमा विकास बैंक शाखा संजाल पनि ९१ वटा नै छन् ।

गरिमाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी खारिएका बैंकर गोविन्द प्रसाद ढकालले संहालिरहेका छन् । उनी डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालका अध्यक्ष पनि हुन् । बैंकको संचालक समिति अध्यक्षको जिम्मेवारी चन्द्रकान्त बरालले संहालिरहेका छन् ।

आर्थिक वर्ष २०६७/६८ मा गरिमा विकास बैंकले १८ प्रतिशत नगद लाभांश दिएको थियो । सो समयमा बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ थियो ।

सो आर्थिक वर्षमा चुक्ता पुँजी २० करोड रुपैयाँ भएको सांग्रिलाले १० प्रतिशत नगद लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०६८/६९ मा गरिमाले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिएको थियो । सांग्रिलाले भने ११ प्रतिशत नगद लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०६९/७० मा गरिमा पुँजी २२ करोड रुपैयाँ पुगेको थियो भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो । सो वर्ष ३२ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको सांग्रिलाले भने १९.१७ प्रतिशत नगद लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा सांग्रिलाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ थियो भने १५ प्रतिशत बोनस सेयर र ६.३ प्रतिशत नगद लाभांश दिएको थियो । यस्तै, ३७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी पुगिसकेको गरिमाले भने सो आर्थिक वर्षमा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा गरिमाको पुँजी ५६ करोड १० लाख रुपैयाँ पुगेको थियो भने सेयरधनीलाई सो वर्ष २० प्रतिशत बोनस सेयर दिइएको थियो । यस्तै, ७३ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी पुगिसकेको सांग्रिलाले भने सो आर्थिक वर्षमा २०.८५ प्रतिशत बोनस सेयर दिएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा गरिमाको चुक्ता पुँजी ८८ करोड ८१ लाख रुपैयाँ थियो भने २० प्रतिशत बोनस दिइएको थियो । सोही आर्थिक वर्षमा सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको थियो भने बोनस सेयर र नगद लाभांश गर िकरिब १७ प्रतिशत डिभिडेन्ड सेयरधनीले पाएका थिए ।

आर्थिक वर्ष २०७३/७४ मा गरिमा विकास बैंकको पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्यो भने उसले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दियो । सोही आर्थिक वर्षमा १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको सांग्रिलाले भने २.५ प्रतिशत बोनस सेयर ९.३ प्रतिशत नगद लाभांश दिएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा गरिमाको पुँजी २ अर्ब ५३ करोड रुपैयाँ पुग्यो भने सो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ३.७५ नगद लाभांश दियो । प्रतिस्पर्धामा सँगै आइरहेको सांग्रिलाले सो वर्ष मर्जरबाट पुँजी थप गर्दै चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कटायो भने ४ प्रतिशत बोनस सेयर र ५.४५ प्रतिशत नगद लाभांश दियो ।

आर्थिक वर्ष २०७५/७६ मा गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने उसले १६.१५ प्रतिशत बोनस सेयर र ०.८५ नगद लाभांश दिएको छ । सो वर्ष २ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको सांग्रिलाले भने ८.९५ प्रतिशत नगद लाभांश दिएको थियो ।

नेपाल राष्ट्र बैंकले मर्जर एक्वीजीसनको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको संख्याको संख्या कम गर्न पहल थालेपछि धेरै विकास बैंकको अस्तित्व सकिएको छ । स्याङ्जा र पोखरामा केन्द्रीय कार्यालय स्थापना गरेर तोकिएका जिल्ला कार्यक्षेत्र गरी कारोबार सुरु गरेका यी दुबै बैंक काठमाडौं आएर पनि अब्बल प्रमाणित गरी एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । अबका दिनमा यी दुबै बैंकले के कस्तो रणनीतिका साथ व्यवसाय विस्तार गर्ने र सेयरधनीलाई लाभांश दिन सक्नेछन् भन्ने थाहा पाउन भने प्रतिक्षा नै गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.