अब बैंकमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नुपर्ने, शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

  २०७७ साउन २७ गते १७:०८     विकासन्युज

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नु पर्ने भएको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

उनले कोरोनाको संक्रमणदर झन बढ्दै गएकोले ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था गर्नु पर्ने बताए ।

उनले यसका लागि सम्बन्धित कार्यालय प्रमुखले व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । उनले बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुले विद्युतिय माध्यमलाई बढी प्राथमिकता दिई काम गर्नु पर्ने बताए ।

यस्तै, सरकारले कोरोना भाइरसको संक्रमण दर बढ्दै गएकोले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने खतिवडाले बताए ।

‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ,’ उनले भने ।

अब १० नाकाबाट मात्र नेपाल आउन पाइने 

नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । अब काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने खतिवडाले बताए ।

स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।

२ सयभन्दा बढी संक्रमित जिल्लाबाट आवतजाोतमा राेक 

सरकारले २ सयभन्दा बढी संक्रमित भएको जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ । खतिवडाले २ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट अत्यावश्यक काम बाहेकले आवतजावत गर्न नपाउने बताएका हुन् ।

उनले कोरोनाको संक्रमण बढ्दै गएकाेले त्यसकाे राेकथामका लागि यस्ताे कदम चालेकाे बताए ।  अत्यावश्यक काम भएपनि त्यहाँको स्थानीय तह अर्थात जिल्लाबाट स्वीकृती लिएर मात्र काठमाडौंमा प्रवेश गर्न पाउने उनकाे भनाई छ  ।

हाेटल पनि बन्द  

सरकारले अबदेखि होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने निर्णय गरेकाे छ । सरकारको नियमलाई पालना नगर्नेलाई नियम अनुसार कारबाही गर्ने पनि खतिवडाले बताए ।

अन्तर्राष्ट्रिय नाका भदाै ३१ सम्म बन्द 

सरकारले अन्तर्राष्ट्रि सीमा नाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरेकाे छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो ।

केन्द्र सरकारले लकडाउन नगर्ने

अब केन्द्र सरकारले देशव्यापी लकडाउन नगर्ने भएको छ । देशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने बताए ।

खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने तर अब केन्द्र सरकारले लकडाउन नगर्ने बताएका हुन् ।

‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन, कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन्, अब लकडाउन जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ, खतिवडाले भने ।

One comment on "अब बैंकमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नुपर्ने, शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द"

  • Lal Kishor Shah says:

    शैक्षिक संस्था पुर्ण बन्द हो कि क्या हो ?
    हामीलाई त बिधालय पुग्नु पर्छ हाजिर गर्नकोलागि ।
    सरकारले पनि प्रष्ट कुरा भनेको छैन शिक्षकलाई बिधालय पुग्नुपर्छ कि पर्दैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.