अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशतले र बीमा शुल्क १०७ प्रतिशतले वृद्धि

  २०७७ साउन २७ गते ८:१३     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ मा ६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ८ लाख ७९ हजारले बढी हो ।

तीन वर्षअघि सञ्चालनमा आएको यो कम्पनीको व्यवसाय र नाफाका सूचकाङ्कहरु राम्रा देखिएका छन् । गत आर्थिक वर्षमा यस कम्पनीले ८६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले जम्मा ४१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको बीमा शुल्क आर्जन १०७ प्रतिशतले वृद्धि भएको छ भने नफा ५० प्रतिशतले वृद्धि भएको छ ।
९१ हजार दुई सय २७ वटा बीमालेख जारी गरेको कम्पनीले एक हजार ९ सय ८० वटा दावी मार्फत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ । केही महिनाअघि निष्काशन गरेको ३० करोड रुपैयाँ बराबरको साधारण सेयरबाफत संकलित रकम असार मसान्तमा कम्पनीले पुँजीकरण गर्न बाँकी रहेको देखिएको छ ।

कम्पनीको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ भने बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । अजोडको प्रति सेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा छ भने प्रति सेयर नेटवर्थ ११५.९७ रुपैयाँ छ ।

सोमबार कम्पनीको सेयर प्रति कित्ता ५ सय १३ रुपैयाँमा कारोबार भएको छ । १०० रुपैयाँमा साधारण सेयर भर्नेहरुको लागि अहिले नै प्रतिकित्ता ४०० भन्दा बढी फाइदा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.