२०७७ साउन २५ गते ९:३९ वासुदेव अधिकारी
बि.सं. १९९४ साल कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको नेपाल बैंंक लिमिटेड जुद्ध सडकको एउटा घरमा भाडामा बस्थ्यो । शेयर बिक्री भइसकेको थिएन, निक्षेपको व्यवस्था बल्ल शुरु हुँदै थियो । बैंक स्थापना गर्दासम्म कर्मचारी पनि थिएनन् । तथापि राजा त्रिभुवनको बाहुलीबाट बैंक उद्घाटन भयो । उद्घाटन समारोहमा प्रधानमन्त्री जुद्ध शंशेर जवराले सम्बोधन गरेका थिए ।
संस्थापनाको बेला राणा प्रधानमन्त्री जुद्ध शंशेरले शेयर बापत रु १० लाख कबुलेका थिए । बैंक सरकारको ४० प्रतिशत र पब्लिकको ६० प्रतिशत शेयरबाट स्थापना भएको थियो । बैंकले रु २५ लाखको मूलधन अर्थात् शेयर जारी गरेकोमा केवल रु ८ लाख ४२ हजार मात्र बिक्री भएको ऐतिहासिकता स्मरणीय छ ।
सरकारको सदर मुलुकी खानाबाट आठ लाख तथा जुद्ध शंशेरबाट शेयर बापतको पचास हजार रकम प्राप्त गरी कारोबार प्रारम्भ गरेको नेपाल बैंकले नगदी तहबिलबाट केही कम्पनी मोहर तथा नोट खरिद गरी सटही कारोबार प्रारम्भ गर्यो । बैंकको कानुन बमोजिम सञ्चालक समिति सक्रिय हुँदै गयो । पहिलो साल अर्थात् बि.सं. १९९४ मा बैंकको सञ्चालक समितिको १० वटा तथा आर्थिक वर्ष १९४/९५ मा १२ वटा बैठक बस्यो । तीमध्ये पहिलो ८ वटा बैठकको अध्यक्षता केशर शंशेर जवराले गरेका थिए । खासमा केशर शंशेरको अध्यक्षता नेपाल बैंक लिमिटेडको लिमिटेडका लागि अध्यक्ष तोकिएका श्री शंशेर जवराको स्वास्थ्य असहजताको कारण कायम मुकायमको हैसियतमा प्रधानमन्त्रीले तोके बमोजिम हुन पुगेको देखिन्छ ।
नेपाल बैंक लिमिटेडको पहिलो बैठक पुस १ गते बसी नेपाली भाषी भारतीय बैंकर ठाकुर सिंह कठैतलाई महाप्रवन्धकमा नियुक्त गर्यो । बैंकले पहिलो चेक प्रधानमन्त्री जुद्ध शंशेरलाई प्रदान गरी तत्पश्चात बैंकिङ कारोबार प्रारम्भ गर्यो । बैंकको सञ्चालक समितिले निर्णय गरे बमोजिम बैंकले पहिलो पटक नगदी तहबिलबाट मोरु १४० मा कम्पनी नोट खरीद गरी बिक्री प्रारम्भ गर्यो । दोस्रो पटक सटही दर रु १४० र बिक्री दर १४२.५, तेस्रो पटक खरीद रु १४१, चौथो पटक खरीद दर रु १४२.५, पाँचौँ पटक खरीद दर रु १३५ र छैठौँ पटक खरीद दर रु १४१.५ र बिक्री दर रु १४२ तोकिएको देखिन्छ । अर्थात् ब्याजदर तोक्दा बैंकले माग तथा आपूर्तिको अवस्था एवम् बजार व्यवहारलाई हेरी बुझी तोक्ने गरेको स्पष्ट देखिन्छ ।
सञ्चालनको पहिलो वर्ष नेपाल बैंक लिमिटेडले बैंकलाई आवश्यक पर्ने कर्मचारी भर्ना गर्ने, सेवा सुविधा किटानी गर्ने, सार्वजनिक विदाको दिन यकिन गर्ने (जसमा श्री ३ को जन्मदिन पनि पर्थ्याे), नेपाल बैंक कानुन छपाइ गर्ने, बैंकिङ कारोबारका लागि रुल बुक तर्जुमा गरी सो अनुसार काम सुचारु गर्ने, नोट सटही सीमा निर्धारण गर्ने, क्यासियरको जमानत निर्धारण गर्ने, टेलिफोन जडान गर्ने, भल्टको व्यवस्था गरी नगद तथा बहुमूल्य चीज भण्डारण गर्ने, तेजारथ अड्डाको सुन चाँदी सकार गर्ने, सटही कारोबारको लागि कम्पनी रुपैयाँ तथा नोट र ब्रिटिस पाउण्ड खरिद बिक्री गर्ने लगायतको काम अघि बढाएको देखिन्छ । यसको अलावा बैंकले स्थापना भएको दुई महिनाभित्रै भारतको इम्पेरियल बैंक, मर्कन्टाइल बैंक र योकोहोमा बैंकमा एजेन्सी खाता खोली विदेशी मुद्राको निक्षेप गरेको, सोही वर्ष स्थापनाको पाँचौँ महिनामा चार्टर्ड बैंक, सेन्ट्रल बैंक, इलाहवाद बैंक र नेशनल बैंक भारतीय रुपैयाँमा खाता खोलेको पाइन्छ ।
स्थापनाको पहिलो वर्ष बैकले सञ्चालक समितिको बैठक भत्ता डाइरेक्टर जनरल अर्थात् अध्यक्षको प्रति बैठक मोरु ४० र अन्यको मोरु ३० तोकिएकोमा पहिलो साधारणसभा नभएसम्मको लागि नलिने निर्णय भएको पनि देखिन्छ । बैंकले पहिलो वर्षदेखि नै ग्राहकको सुन तथा चाँदी बन्धकीको रुपमा स्वीकार गर्ने र सुन कर्जा दिने गरेको देखिन्छ । पहिलो वर्षदेखि नै बैंकमा निक्षेप आइरहँदा सो निक्षेपबाट कर्जा तथा अन्य लगानी गर्नको लागि बैंकले चालु खाताको ५० प्रतिशत र बचत एवम् मुद्दती खाताको २५ प्रतिशत रकम मार्जिनमा राखी नगद व्यवस्थापन गर्ने निर्णय देखिन्छ । यसबाट त्यतिबेलाको तरलता व्यवस्थापन सुझबुझपूर्ण थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यतिबेला कर्जा बापतको मार्जिन ५० प्रतिशत लिने, सुन कर्जाको मार्जिन २५ प्रतिशत हुने र ब्याजतर्फ सुन कर्जाको ५ प्रतिशत, अन्यको ८.१० प्रतिशत कायम गर्ने निर्णय भएको देखिन्छ । ब्याजदर सम्बन्धी कयौँ निर्णयमा मतौक्यता नहुँदा मतदान समेत हुने गरेको थियो । राणा कालीन समय भए पनि स्थापनाको पहिलो वर्षमै सञ्चालक समितिमा पर्याप्त छलफल भई निर्णयमा पुग्ने प्रचलन आफैँमा अनुकरणीय विषय हो ।
यस प्रकार नेपाल बैंकको पहिलो वर्षको सञ्चालक समितिले महाप्रवन्धक तथा कर्मचारी नियुक्ति, रुल बुक तर्जुमा, माग तथा आपूर्तिको आधारमा विदेशी मुद्राको सटही दर निर्धारण, नगद व्यवस्थापन तथा कर्जाको ब्याजदर निर्धारणमा महत्वपूर्ण निर्णय गरेको छ । सो अन्तर्गत बैंकले पहिलो ठूलाे स्तरको कर्जा बिराटनगर जुट मिललाई दिएको थियो । सो अन्तर्गत बैंकले सो मिल्सलाई एक वर्षका लागि ५ प्रतिशत ब्याजमा बीमा व्यवस्था गरी एक तिहाइ मार्जिन लिएर रु १ लाख कर्जा प्रदान गरेको थियो । बैंक समक्ष सर्वप्रथम मिञा जहरुद्दीनले चुरा व्यापारका लागि मोरु ३००० र भाजु रतनले घ्यु व्यापारका लागि मोरु १५०० प्रस्ताव गरेको रेकर्ड आफैँमा ऐतिहासिक छ । महिला उद्यमीतर्फ कर्णेल्नी गङ्गादेवीले मोरु ५०० कर्जा गरेको पनि देखिन्छ । बैंकको स्थापनाको पहिलो वर्षमै भारतको गोरखपुरमा सम्पर्क अफिस, वीरगञ्जमा एजेन्सी अफिस, अमलेखगञ्ज तथा धुर्सियामा कार्यालय स्थापना गर्न प्रस्ताव गरेको देखिन्छ । क्यासियरसित बैंकको नगद तथा जनताका सुनचाँदी रहने भएको बैंकले क्यासियर नियुक्तिको शर्त बनाउँदा निज क्यासियरले मोरु ३० हजार धरौटी राख्न पर्ने व्यवस्था गरेबाट निक्षेपको संरक्षण गरी बैंकलाई साँच्चै ट्रष्टीको रुपमा सञ्चालन गर्न खोजेको देखिन्छ ।
बैंकका आरम्भका डाइरेक्टर जनरल श्री केशर शंशेर, श्री शंशेर जबरा, सञ्चालकहरु मृगेन्द्र शंशेर जबरा, सोम शंशेर जबरा, डम्बर शंशेर थापा क्षेत्री, भक्तलाल राजभण्डारी र गुञ्जमान सिंहलाई नेपाल बैंक लिमिटेडको जगको ढुंगा मान्न सकिन्छ । नेपाल बैंक लिमिटेडले स्थापनाको पहिलो वर्ष शेयरधनिलाई ३.५ प्रतिशत लाभांश दिएको थियो ।
आवश्यक कानुन तथा नियम तर्जुमा गरी कारोबार शुरुवात गरिएको र बैंकको नेतृत्व आफ्नो जिम्मेवारीप्रति सजग र सक्षम भएकै कारण यसले करीव २० वर्ष केन्द्रीय तथा वाणिज्य बैंक दुबैको काम गर्न सकेको देखिन्छ ।
(अधिकारी नेपाल बैंक लिमिटेडका वर्तमान अध्यक्ष हुन्)
Copyright © 2024 Bikash Media Pvt. Ltd.
प्रशंसायोग्य काम
Mother of Bank in Nepal
Janmaanas Ahile ta itihas bokeko bank jasto lagxa.
Pvt.bank ko raftar Ka ta Ka ta pugi sakyo.
Ma Kunai artha sabandhi gyaataa hoina