महामारीमा स्वास्थ्यकर्मीका बेदना, ‘तलब त परै जाओस् अस्पतालले मास्क समेत दिएनन्’

  २०७७ साउन २३ गते १४:३६     डोमी शेर्पा

काठमाडौं । एकछिन सोचौं त । यो महामारीको समयमा आफ्नो ज्यानलाई जोखिममा राखेर कोरोना भाइरस संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अस्पतालले एक मास्क पनि नदिएपछि ती चिकित्सक, नर्स र ती स्वास्थ्यकर्मीको मन कस्तो होला ?

हामीले एकछिन सोच्ने बित्तिकै त कति भावुक भइन्छ । आफ्नो ज्यान, घर परिवार र समुदायको वास्ता नगरी रातदिन बिरामीको सेवामा तल्लीन उनै स्वास्थ्यकर्मीलाई अस्पतालले वेवास्ता गर्दा सायद जोकोही स्वास्थ्यकर्मी पनि डिमोटिभ अर्थात काम गर्न निरुत्साहित पक्कै हुन्छन् ।

पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा कार्यरत एक चिकित्सकले विकासन्युजसँग यस्तै गुनासो गरेका छन् । उनीसँग विकासन्युजले कोरोना महामारीको समयमा अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई के कस्तो सेवा दिइरहेको छ भन्ने जिज्ञासामा उनले उत्तर दिए, ‘के सेवा सेवा पाउनु ?, यस्तो संकटको समयमा अस्पतालले लगाउनुस् भनेर एक मास्क समेत दिएको छैन ।’

अहिले अस्पतालमा बिरामीको संख्या कम रहेको भन्दै प्रशासनले कम जनशक्ति खटाएर काम गराइरहेको र काम गरेको दिन बाहेकको तलब पनि नदिने उनको भनाई छ ।

‘लकडाउनको समयमा जति दिन काम गर्यो त्यही अनुसारको तलब पाइन्थ्यो, अहिले लकडाउन छैन, बिरामीको चाप पनि सामान्य अवस्थामा आइसकेको छ, अस्पताल प्रशासनले त्यही नियम लागु गरिरहनु अवस्थाको फाइदा उठाएको जस्तो भएको छ,’ उनले भने ।

अहिले धेरै अस्पतालहरुले कोरोना भाइरसको कारण देखाउँदै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समयमा तलब नदिने र एक हप्ता काम र अर्को पुरा हप्ता बिदा दिने गरेको बुझिएको छ ।

काठमाडौंको नाम चलेको ग्राण्डी , वयोदा  लगायतका अस्पतलाहरुले पनि कर्मचारीहरुलाई काममा बोलाएको दिनको मात्र पैसा दिइरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले गुनासो गरेका छन् । कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटेपनि निजि अस्तपतालहरुले कर्मचारीहरुलाई समयमा तलब नदिएको गुनासो आउन थालेको छ ।

नख्खु स्थित मेडिसिटी अस्पतालमा कार्यरत एक नर्सका अनुसार अस्पतालले अहिलेसम्म असार महिनाको तलब दिएको छैन । अस्पतालले यस अघि पनि जेठ महिनाको तलब असारको अन्त्यमा दिएको र अन्य महिनाको पनि त्यस्तै गरेको उनले बताइन् ।

‘अस्पतालले लकडाउन यता समयमा तलब नै दिएको छैन । यस्तो महामारीको समय छ र हामी जोखिम लिएर काम गरिरहेका छौं त्यही माथि काम गरेको तलब १–१ महिना ढिला आउँदा हामीहरुलाई त्यो झनै टाउको दुखाईको विषय बनेको छ । यस्तो समयमा काम गर्दा मोटिभेट हुनु पर्ने समयमा झनै डिमोटिभेट भइरहेका छौं ।’ उनले भनिन् ।

यस्तै, ग्राण्डी अस्पतालमा कार्यरत एक नर्सका अनुसार अस्पतालले केही कर्मचरी कटौती गरेको छ । बिदा बसेको २/३ हप्ता भईसक्यो, अस्पतालले अब ड्युटीको लागि कहिले बोलाउँछ थाहा नै छैन,’ उनले भनिन् ।

बिरामीको चाप ७० प्रतिशतले घट्यो

कोरोना महामारीसँगै अहिले निजी अस्पतालहरुमा बिरामीहरुको संख्यामा कमि आएको बताइएको छ । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा अर्थात अहिले लकडाउनपछि पनि अस्पतालहरुमा बिरामीको संख्यामा ७० प्रतिशतसम्मको गिरावट आएको हो ।

अहिले बिरामीहरु नआउनाले अस्पताल नोक्सानमा भएको बताइरहेका छन् । थापाथली स्थित नर्भिक अस्पतलाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले अहिलेको अवस्थामा सबैभन्दा बढि घाटा अस्पताललाई भएको बताएका छन् ।

अस्पताल पनि नोक्सानमा नै छन्, पैसाको कुरा मात्र होईन अस्पतालमा कार्यरत रहेका व्यक्तिको जीवन जोखिममा छ । यसलाई पैसा मात्र नभएर मानवताको दृष्टिले पनि हेरौं,’ उनले भने ।

यसरी बिरामीको चाप घटेसँगै आफुहरुले कामको आधारमा कर्मचारीहरुलाई तलब दिइरहेको उनको भनाई छ । उनी भन्छन्, ‘पहिला हप्तामा ४८ घण्टा खटाउने कर्मचारीलाई अहिले हामी ३६ घण्टा खटाइरहेका छौं । त्यही आधारमा नै हामीले तलबको व्यवस्थापन गरेका छौं ।’

यस्तै, धापासी स्थित ग्राण्डी अस्पातलमा एक स्वास्थयकर्मीका अनुसार अस्पतालमा उपत्यका बाहिरबाट बिरामीहरु धेरै आउने गरेको तर यातयातहरु ठप्प रहेको कारण बाहिरबाट आउने धेरै बिरामीको चाप कम भएको छ । अस्पतालले हाल कर्मचारीहरुलाई कटौती नगरेको तर हप्ताभरी काम गर्ने र दोस्रो हप्ता बिदामा राखी अस्पतालले आएको दिनको तलब दिएको उनले बताए ।

यस्तै, मेडिसिटी अस्पताल प्रशासनका अनुसार हाल अस्पतालमा बिरामीको चाप सामान्य हुँदै गएको छ । भर्ना हुने बिरामीको संख्या कम भएता पनि ओपीडी भने सामान्य भइसकेको अस्पतालले जनाएको छ ।

बिरामीहरु अस्पतालमा बस्नुभन्दा पनि घरबाट नै चेकअपको लागि आउने अस्पतालले जनाएको छ । हाल अस्पतालमा कोभिड–१९ ले खासै प्रभाव नपारेको र कर्मचारीहरुलाई पनि डिपार्टमेन्ट अनुसार कसैलाई मासिक तलब र कसैलाई ड्युटी आएको दिनको तलब दिइरहेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले स्वास्थ्य संस्था अर्थात अस्पताल, क्लिनिक, नर्सिङ होम, डायगोनेस्टिक सेन्टरहरु मध्यम प्रभावित क्षेत्रमा राखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.