लकडाउनः केन्द्रले नगर्ने, स्थानीय तहले परिस्थिती हेरेर निर्णय लिने, कति जिल्लामा भयो निषेधाज्ञा ?

  २०७७ साउन २३ गते ११:३७     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) देखिएको ७ महिना बितिसकेको छ । देशमा कोरोना भाइरस देखिएको यति लामो समय बितिसक्दा पनि यो भाइरस कहिले अन्त्य हुन्छ भन्ने कुरा अनिश्चित नै छ ।

जति महिना बित्दै गयो । कोरोना भाइरसको संक्रमण झन तीव्र गतिमा फैलिरहेको छ । आम नागरिकहरुमा दिनप्रतिदिन कोरोना भाइरसको डर र त्रास बढिरहेको छ ।

नेपाल सरकारले गरेको ४ महिना लामो लकडाउनले पनि खासै प्रतिफल अर्थात संक्रमण दर घटाउन नसकेपछि सरकार लकडाउनबाट पछि हटेको छ । लकडाउनले गर्दा रोगले भन्दा पनि भोकले मर्न सक्ने अवस्था सिर्जना भएपछि चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउन साउन पहिलो हप्ता सकिएको थियो ।

पहिलेको भन्दा झन दिनप्रतिदिन कोरोनाको संक्रमण दर बढेसँगै झन त्रासको वातावरण सिर्जना भएको छ । यस्तो समयमा धेरै जिल्ला अर्थात स्थानीय तहले लकडाउन पनि गरिसकेका छन् भने कति स्थानीत तह र जिल्लाहरु लकडाउन गर्ने तयारीमा छन् ।

अब नेपाल सरकारले केन्द्रबाटै लकडाउन गर्ने मनसाय बनाएको छैन । लकडाउन गरेर सर्वसाधारणहरुको दैनिकी अस्तव्यस्त हुने अर्थात दैनीकी चलाउन पन समस्या भएपछि केन्द्र सरकारले अब केन्द्रबाटै लकडाउन गर्ने मनसाय नगरेको हो ।

स्रोतका अनुसार अब सरकारले बढी संक्रमित भएका जिल्ला र स्थानीय तहले आफैले परिस्थिती हेरेर लकडाउन गर्न सक्नेछन् । देशव्यापी रुपमा लकडाउन गरेर सर्वसाधारणलाई हातमुख जोड् समस्या र देशको अर्थतन्त्र पनि संकटमा पर्ने भएकोले त्यसको समाधान तथा आर्थिक सन्तुलनका लागि संक्रमण दर बढी भएका जिल्लामा लकडाउन गर्दै जाने र संक्रमण कम भएका जिल्लामा खुकुलो गर्दै जाने स्रोतको भनाई छ ।

हिजो मात्रै सरकारका प्रवक्ता तथा अर्थर सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पनि लकडाउन नहुने संकेत गरेका थिए । उनले पनि संक्रमण दर बढी भएका जिल्लामा सम्बन्धित स्थानीय तह जिल्लाले निषेधाज्ञा वा लकडाउन गर्ने बताएका थिए ।

कुन कुन ठाउँमा भयो लकडाउन ?

लकडाउन अन्त्यपछि कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले लकडाउन धमाधम गर्न थालेका छन् । सरकारले देशैभरी तत्काल लकडाउन लागू नगर्ने तर स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयले आवश्यकताअनुसार लकडाउन घोषणा गर्न सक्ने जनाएको छ ।

– नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरूपमा रोक लगाइने निर्णय गरेको छ ।

– कैलालीको कैलारी गाउँपालिकामा बुधबारदेखि अनिश्चितकालका लागि बन्दाबन्दी (लकडाउन) गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा खाना पकाउने भान्छे र विद्यालयका चौकीदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो गाउँपालिकामा बन्दाबन्दी गरिएको हो ।

– सुनसरीका धरान, इटहरी उपमहानगरपालिका, दुहवी र इनरुवा नगरपालिकाले बुधबार मध्यराति १२ बजेदेखि एक साताका लागि पूर्ण रुपमा लकडाउन जारी छ ।

– महोत्तरीको भंगहा नगरपालिले बिहीबारदेखि एक सातासम्मका लागि लडकउन घोषणा गरेको छ ।

– सिरहाको मिर्चैया नगरपालिकामा बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको छ ।

– मोरङको बेलबारी नगरपालिकाले बिहीबार राति १२ बजेदेखि ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । देशका १४ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएको छ । ६ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.