एनटीएका कार्यक्रम: सेवा प्रदायकलाई मर्जर/एक्विजिसन गर्नेदेखि कार्यालय अटोमेसनमा लिनेसम्म

  २०७७ साउन २२ गते १८:४८     नबिन पाेखरेल

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए)ले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १४ अर्ब १४ करोड रुपैयाँ बराबरको वार्षिक कार्यक्रम ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा यस वर्ष २ अब रुपैयाँ कमले वार्षिक कार्यक्रम ल्याएको हो ।

प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ६९ करोड रुपैयाँको वार्षिक कार्यक्रम ल्याएको थियो । प्राधिकरणले चालु आर्थिक वर्षमा ग्रामीण दूर संचार कोषतर्फ ६ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ भने प्राधिकरण तर्फ ७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ ।

गत आर्थिक वर्षमा ग्रामिण दूर संचार कोष तर्फ ६ अर्ब ५० करोड रुपैयाँ रहेको थियो भने प्राधिकरण तर्फ १० अर्ब १९ करोड रुपैयाँ छुट्याएको थियो ।

प्राधिकरणले वार्षिक कार्यक्रममा ३० नयाँ कार्यक्रमहरु ल्याएको छ । प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले कोरोना महामारी (कोभिड–१९) का कारण विषम परिस्थीति सिर्जना भएकाले पनि गत वर्षको भन्दा कम बजेटको वार्षिक कार्यक्रम ल्याएको हो ।

के छन् नयाँ कार्यक्रम ?

प्राधिकरणले धेरै नयाँ कार्यक्रमहरु पनि ल्याएको छ । गत वर्षका कार्यक्रमहरुलाई निरन्तरता दिनेसँगै ३० नयाँ कार्यक्रम पनि प्राधिकरणले थप गरेको छ । प्राधिकरणको वार्षिक कार्यक्रममा दूरसञ्चार, ब्रोड ब्याण्ड र सूचना तथा सञ्चार प्रविधि नीति परिमार्जन गर्ने नयाँ कार्यक्रम रहेको छ । सो कार्यक्रममका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै, नयाँ कार्यक्रममा प्राधिकरणका सम्पूर्ण शाखाका कार्यालयहरु अटोमेसन सिस्टमसँग एकिकृत हुने गरी आवश्यकता अनुसार सफ्टवेर निर्माण गरी लागु गर्ने जनाएको छ । त्यस मार्फ कम जनशक्तिमा धेरै काम गर्न सकिने बताएको छ । सो कार्यक्रमका लगि प्राधिकरणले २ करोड रुपैयाँ बजेट छुट्याइको छ ।

यस्तै, नेपाल दूर सञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन नयाँ सेवा प्रदायक छनोट तथा मर्जर एण्ड एक्विजिसन कार्यान्वयन सम्बन्धमा अन्र्तक्रिया तथा छलफल गर्ने वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ । त्यसका लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्याइको छ ।

प्राधिकरणको नयाँ कार्यक्रममा भ्वाइस सेवा प्रदायकको बिलिङ सिस्टमको इन्टीग्रीटी जाँच गरी राजश्व निर्क्याैल गर्ने पनि उल्लेख गरिएको छ । उक्त कार्यक्रमका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै, साइबर सेक्युरिटी सिमुलेसन ल्याब सीइआरटी तयार गर्ने कार्यक्रम पनि नयाँ रहेको छ । त्यसका लागि पनि प्राधिकरणले २० करोड रुपैयाँ बजेट छुट्याइएको छ । समग्रमा प्राधिकरणले दूर संञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउने कार्यक्रम तय गरी रकम छुट्याएको छ । उक्त कार्यक्रममालागि १५ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ ।

आधारभूत दूर सञ्चार सेवा र सुविधा नेपाल राज्यभर शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्थापन गर्नका लागि ६ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । आगामी दिनमा दूर सञ्चार सेवा र सुविधा सर्वाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तीहरु बिच समन्वय र स्वस्थ्य प्रतिस्पर्धा हुने व्यवस्था गर्ने जनाएको छ । उक्त शिर्षकमा बजेट ६५ लाख रुपैयाँ छुट्याइएको छ । ।

प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति द्धारा निर्धारित नीति अनुरुप फ्रिक्वेन्सी सम्बन्धी काम गर्ने शिर्षकमा ६ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, दूर संचार क्षेत्रमा नयाँ प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने शिर्षकमा ५० लाख बजेट छुट्याइएको छ । उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूर संचार सेवाको विकास र विस्तार गर्ने गराउने शिर्षकमा २० लाख रुपैयाँ छुट्याइएको वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.