कोरोना महामारीमै मजदुरको ज्याला १२ प्रतिशतले बढ्यो, २६ दिन काम गरे पनि १ महिना मानिने

  २०७७ साउन २२ गते १०:४५     विकासन्युज

काठमाडाैं । काेराेना भाइरस महामारीकाे बीचमै मजदुरहरुकाे ज्याला बढेकाे छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा उनीहरुकाे ज्यालामा १२ प्रतिशत परिवर्तन भएकाे हाे । उनीहरुले अब गत आर्थिक वर्षभन्दा १२ प्रतिशतले ज्याला बढी पाउने छन् ।

नयाँ आर्थिक वर्ष शुरु भएसँगै सुर्खेत जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको हाे । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो । आर्थिक ऐनअनुसार साे ज्याला बढाइएको हाे ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐनअनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताए । उनले मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको बताए ।

‘समितिले निर्धारण गरेको दररेटअनुसारै कारोवार हुनेछ, आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारवाही गरिनेछ,’ उनले भने ।

समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला रु १०० बढेको छ ।  निजी तथा गैरसरकारी सङ्घ–संस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा रु १०० बढेको छ । यसअघि दैनिक रु ८०० पाउने मजदूरले अबदेखि रु ९०० पारिश्रमिक पाउनेछन् ।

निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक रु ६००, पलम्बरको रु ६८८, सिनियर पलम्बरको रु ७००, इलेक्ट्रिसियन हेल्परको रु ६००, इलेक्ट्रिसियनको रु ७००, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको रु ६४० र टेक्निसियनको रु ७४५ तोकिएको छ । त्यस्तै, हलुका ड्राइभरको हकमा रु ६६०, हेभी ड्राइभरको हकमा रु ७३०, हेभि इक्विप्मेन्ट अप्रेटरको रु ८२०, ड्राइभर सहयोगीको रु ६००, नगर निरीक्षकअर्थात कार्यालय सहयोगी सरहलाई रु ६००, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको रु ६०० दैनिक ज्याला निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.