लकडाउनपछि उद्योगी व्यवसायीको मुडः ऋण थप्ने, कर्मचारी घटाउने, नयाँ साझेदार खोज्ने

  २०७७ साउन २१ गते १९:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लगाएको लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र थला परेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार उद्योगी व्यवसायी पूर्ववत रुपमा उद्योग व्यवसाय चलाउन नसक्ने अवस्थामा पुगेका छन् । लकडाउनपछि आफ्नो उद्योग व्यवसाय पूर्ववत संचालन गर्न नयाँ रणनीतिमा उद्योगी व्यवसायी रहेको सो सर्वेक्षणले देखाएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको सर्वेक्षणका अनुसार लकडाउनपछि वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी÷ तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने जस्ता सोचमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरु रहेको पाइएको छ ।

सर्वेक्षणले राष्ट्र बैंकको निर्देशन अनुसार उद्योग व्यवसायले सहुलियत नपाएको देखाएको छ ।

‘सर्वेक्षण अवधिको समाप्तिसम्ममा छुट प्राप्त गर्न योग्य सहभागी उद्योग व्यवसायहरुमध्ये करिब २० प्रतिशतले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको व्याज छुट प्राप्त गरेको बताएका छन्, ६९.९ प्रतिशत उद्योग व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत व्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी÷कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन्,’ सर्वेक्षणमा उल्लेख गरिएको छ ।

लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ । सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुले सरोकारवाला निकायबाट ब्याजदरमा सहुलियत, लचिलो किस्ता (व्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋण अवधि लम्ब्याउने सुविधाको अपेक्षा गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.