लकडाउनपछि ६१ प्रतिशत उद्योग बन्द, चलेकाको उत्पादन ७४ प्रतिशतले घट्यो

  २०७७ साउन २१ गते १८:४२     विकासन्युज

काठमाडौं । सरकारले गत चैतदेखि लागू गरेको लकडाउन नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि सबैभन्दा कठिन अवस्था भएको पाइएको छ । सो समयमा ६१ प्रतिशत बन्द भएका छन् भने चलेका उद्योग व्यवसायको उत्पादन पनि ७४ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका अनुसार सो समयमा ४ प्रतिशत उद्योग व्यवसाय मात्रै पूर्ण रुपमा संचालनमा रहेका थिए । यस्तै, ३५ प्रतिशत उद्योग व्यवसाय भने आंशिक रुपमा संचालनमा रहेका थिए ।

राष्ट्र बैंकको सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत रहेको देखिएको छ । कुल खर्चमा स्थिर खर्च र चालु खर्चको हिस्सा क्रमशः ३७.६ प्रतिशत र ६२.४ प्रतिशत रहेको छ । ७४.३ प्रतिशत उद्योग व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिएको राष्ट्र बैंकको भनाइ छ ।

कर्जा नलिएका उद्योग व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको छ । लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन वा कारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशत उद्योग व्यवसायहरुको उत्पादन कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन कारोबार पूर्ववत रहेको देखिएको राष्ट्र बैंकले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.