ह्युम्यान जू

  २०७७ साउन २० गते १६:२४     शिव सत्याल

करिब ५ सय रोपनी क्षेत्रफलमा विस्तार भएको अलौकिक शहर । चारैतिरबाट तार बार लगाइएको । तारबार मात्रै होइन, बाहिरबाट भित्र र भित्रबाट बाहिर देख्नै नसक्ने गरी अग्लो पर्खाल पनि लगाइएको छ चारैतिर ।

असाध्यै राम्रो, सुनौलो, हिरामोती, मणि माणिक्यले झकिझकाउ पर्खालको छेवैछेऊ एकछिन हिडेपछि भित्र पस्ने गेट भेटियो । पर्खालमा पृथ्वीलोकका प्राणीले असाध्यै मनपराउने विभिन्न प्रकारका लहरा, सुगन्धित फूल तथा आकर्षक बोट बिरुवा सजिसजाउ थिए । बाहिरबाटै हेर्दा लाग्थ्यो- यसभित्र संसारकै सबैभन्दा धनी मानिसले आफ्नो प्राणप्यारी छोरीको विवाह मण्डप सजाए भन्दा पनि कयौं गुणा राम्रो स्थान छ । र, गेटमा ठूलो अक्षरमा लेखिएको थियो- ह्युम्यान जू ।

गेटको सूचना पाटीमा अन्य जानकारी सहित लेखिएको थियो- ‘इन्ट्री फि वन्ली फाइभ थाउजेन्ड डलर पर पर्सन ।’

‘ओहो ! महंगो रहेछ’ मेरो मुखबाट एकाएक शब्द निस्कियो ।

‘पैसा तिर्नु पर्दैन, म्यानेजमेन्टले आज तपाईंलाई निःशुल्क भित्र पस्न मिल्ने व्यवस्था मिलाएको छ’ मैले विस्तारै बोलेको टिकट काट्ने व्यक्तिले सुनेछ र मलाई हेर्दै भन्यो ।

‘यो परियोजना हेर्न दुईजना सीईओ हुनुहुन्छ । १५ वर्षजति भयो उहाँहरुले संयुक्त रुपमा सीईओ चलाएको । २०६४ सालदेखि हो यो परियोजना संचालनमा आएको । मेरो नाम गणेशमान,’ गेटबाट भित्र छिर्ने बित्तिकै एकजना व्यक्तिले नेवारी लबजमा बोल्दै आफ्नो परिचय दिए ।

छेउमै अर्का व्यक्ति पनि थिए । उनले ‘मेरो नाम मदनकुमार हो’ भने । र, यी दुबै जना सो परियोजनाको डीसीओ रहेछन् । डीसीओ पनि परियोजना सुरु भएकै दिनदेखि नियुक्त भएका रहेछन् ।

ती दुई जनाले सीईओको कार्यकक्षमा पुर्याए । सीईओको कार्यकक्ष ठूलो थियो । दुई कुनामा दुईजना सीईओ बसेका थिए । टेबल सामान्य काठका जस्ता देखिन्थे । कुर्सी पनि काठकै थियो । भुइमा टाट ओछ्याइएको थियो । टेबल नजिकै एक एक वटा थर्मस, एक एक वटा स्टोभ र आधा जति मट्टितेल राखिएको एक एक वटा ग्यालिन ।

अचम्म लाग्यो- बाहिरबाट हेर्दा त्यति आलिसान र भव्य लाग्ने परियोजनाको सीईओको कार्यकक्ष देखेर । र, आजको २१औं शताब्दीमा पनि दम दिने स्टोभ चलाउने गरेको देखेर ।

‘यसैमा बानी परियो बाबु ! हिटर चलाउँदा पनि हुन्थ्यो, मट्टितेलमा स्टोभ बाल्दा धुवाँले स्वास्थ्यमा खराब गर्छ भन्ने हामीलाई पनि थाहा छ, तर अब हामीलाई रोग लाग्दैन, हामी मर्दैनौं,’ दुबै सीईओले संयुक्त रुपमा भने ।

मेरो मनमा उब्जिएको प्रश्नको उत्तर उनीहरुले एकाएक दिदाँ चकित परें ।

एक जना सीईओ दुब्ला पालता जस्ता देखिन्थे । झुस्स दारी पालेका अग्लो कदका थिए । उनको टेबलको पछाडि लेखिएको थियो- नेपाली जनताको आर्थिक उन्नति र समृद्धिको उपाय राष्ट्र राष्ट्रियता र प्रजातन्त्र नै हो ।

अर्काे सीईओको टेबलको पछाडि लेखिएको थियो- सर्वहारा वर्गलाई राज्यको मुलधारमा ल्याउनु पर्छ, समाजबाद हुँदै साम्यावादमा गएपछि संसारभरका मान्छेले सुख पाउँछन् ।

लाग्यो- नेपाली काँग्रेसका संस्थापक विपी कोइराला र कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको नारा चोरेर त्यहाँ लेखिएको होला । दुबै जनालाई मैले भौतिक रुपमा देखेको थिइनँ । तस्बीरमा जे जस्तो अनुहार र शरिर देखिन्थ्यो, ती दुबै ठ्याक्कै उस्तै लाग्थे ।

‘तिमीलाई आज हामी यो परियोजना देखाउँछौं, यो परियोजनालाई हामीले ह्युम्यान जूको नाम दिएका छौं, परियोजना स्थलको निर्माण भगवान विश्वकर्माको कन्सेप्टमा राजा युधिष्ठिरको सभा बनाइदिने मय राजाले बनाएका हुन्,’ दुबै सीईओ कार्यकक्षबाट बाहिर निस्कदै भने- आउँ यो ह्युम्यान जू हेरेर जाऊँ ।

मैले ‘ह्युम्यान जू’ शब्द सुनेको थिइनँ । कस्तो अनौठो शब्द । कलेज पढ्न काठमाडौं आउने बित्तिकै २/४ पटक जावलाखेलको चिडियाखाना गएको थिएँ । त्यहाँ नगएको पनि निकै भयो । चिडियाखाना जाने बेलामा साथीहरु जू घुम्न जाने भन्थे । ‘जू’ भनेको चिडियाखाना हो भन्ने थाहाँ पाएपनि अगाडि ‘ह्युम्यान’ जोडिएकोले अन्योलमै थिएँ ।

अगाडि बढ्यौं । भयंकर ठूला ठूला स्वीमिङ पुल देखिए ।

‘यी स्वीमिङ पुलमा जस्तो सोच्यो त्यस्तै पानी आउँछ । तातो सोचे तातो, चिसो सोचे चिसो, मनतातो सोचे मनतातो पानी पाउँछ स्वीमिङ गर्ने व्यक्तिले । दुध, रक्सी, अमृत, पसिना, रगत, हिउ, जे सोच्यो त्यही हुन्छ यो स्वीमिङ पुलमा,’ सीईओहरु व्याख्या गर्न लागे ।

अलि अगाडि बढियो । केही चिजका डल्ला देखिए ।

‘यी के हुन् ?’ मैले सोधेँ ।

‘यी इच्छा डल्ला हुन् । ह्युमान जूमा रहेका व्यक्तिहरुले यी डल्लाहरुलाई सुन सोच्यो भने सुन हुन्छ, चाँदी सोच्यो भने चाँदी हुन्छ, हिरा मोती, जुहारत जे सोच्यो त्यही हुन्छ । ह्युम्यान जूमा रहेका व्यक्तिहरुले यसलाई कहिले सुन सम्झेर खेलाउँछन्, उचाल्छन्, फाल्छन्, भकुण्डो खेल्छन्, फोर्छन्, जे मन लाग्यो त्यही गर्छन्,’ सीईओहरुले व्याख्या गरे ।

सीईओहरुले डल्लाको व्याख्या गर्दा अर्काे कुरा थाहा भयो- ह्युम्यान जूमा मान्छेहरु रहेछन् । को होलान् यहाँ बस्ने ? के होला यहाँ मान्छे राख्ने क्राइटेरिया ? कतिन्जेल बस्न पाइन्छ होला यस्तो अद्भूत ठाउँमा ? मनमा यस्तै प्रश्न उब्जिदै गर्दा त्यहाँ बस्ने मान्छे हेर्न मन लाग्यो ।

‘पख बाबु ! एकछिनमा ‘ह्युम्यान जू’का प्राणी हेर्न पाउँछौं, हतार नगर,’ मेरो मनमा प्रश्न उब्जिने बित्तिकै सीईओहरुले मलाई जवाफ दिइहाले । अचम्म ! मनमा प्रश्न उब्जिने बित्तिकै सीईओहरुले थाहा पाइहाल्ने ।

अलि अघि बढियो । एउटा कुनै धातुको दिउरे जस्तो वस्तु देखियो ।

‘मधुमालतीको कथा पढेका छौं ?’ सीईओले मलाई हेर्दै सोधे- हो, त्यस्तै पाक ताउली हो यो, ह्युम्यान जू’का प्राणलीले जे सोच्यो यहाँ त्यही खानेकुरा तयार हुन्छ, कसैले सेकुवा भन्छन्, कसैले किड्नी फ्राइ खान्छन्, कसैले चितवनको तास, कसैले बाजेको सेकुवा, संसारकै सबैभन्दा महंगा ह्वीस्की, ब्राण्डी, वाइन यही आउँछ । संसारमा बन्ने जति पनि प्रकारका स्न्याक्सहरु छन्, ती सबै यहाँ आइपुग्छ । कसैले नाम जानेन र अर्डर गर्न सकेन भने पनि खानाका नमुना आफै तयार भएर देखापर्छन् । सूर्य नेपालको सिगरेट मात्रै होइन, क्युवाको सिगार पनि यही पाइन्छ ।

ह्युम्यान जूभित्र ठूला भवन थिएनन् । साना साना कटेज थिए ।

‘तिमीले कटेज देखेका छौं, यहाँका प्राणीले यी प्रत्येक कटेजलाई ५५५ तल्ले भवन भएको महसुस गर्छन्, कटेजका खाँबा मोतीका छन्, छानो सुनको छ, हिराले फ्लोरिङ गरिएको छ, विभिन्न रत्न, मणि माणिक्य र आभुषणले सजिएका पलङ, सोफा र कुर्सी छन्, संसारका सबैभन्दा बहुमूल्य र दुर्लभ वस्तुहरुले कोठा सजिएको छ, ढोका नै एकसिंगे गैडाको खागको छ,’ सीईओहरु कटेजको वर्णन गर्दै थिए ।

स्वर्ग, मत्र्य वा पातालमा यहाँ जस्तो सुविधा र सुन्दर स्थान कही पनि रहेनछ- ह्युम्यान जूको व्याख्या सुन्दै गर्दा मलाई आभाष भयो । तर, हतारो त्यहाँ बस्ने मान्छेलाई भेट्नमै थियो ।

प्रत्येक कटेजमा एक जना व्यक्ति आफ्ना श्रीमती वा श्रीमानसँग बस्ने गरेका रहेछन् । उनीहरुका लागि सुन्दर युवा वा युवतीसँग रासलिला गर्न पाउने सुविधा पनि त्यहाँ उपलब्ध रहेछ ।

नजिकैको कटेजमा पुगियो । एक जना व्यक्ति त्यो कटेजमा बस्दा रहेछन् । बाहिर इलेक्ट्रिक बोर्ड थियो । बोर्डमा लेखिएको थियो- संसारभर साम्यवाद स्थापना गर्न भन्दै कम्युनिष्ट दर्शनबाट अभिप्रेरित भएको, जीवनको उत्तरार्धमा दुईतिहाई मतसहित प्रधानमन्त्री बनेपछि सबै काम छोडेर भगवान श्रीरामको जन्मथलो अयोध्या खोज्न भौतारिएको, समृद्ध नेपालः सुखी नेपालीको नारा फलाकेको, भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्दै भ्रष्ट, दलाल र माफिया च्यापेर शासन सत्ताको दुरुपयोग गरेको…।

उनी कमिला र माहुरीलाई समात्दै पुरानो हर्पेभित्र हालेर बिर्काे कस्दै थिए ।

यिनले किन यसो गरेको- मैले सोधेँ ।

‘यिनलाई जोक्स र चुट्किला खुब आउँछ, आफ्नो मपाइत्व छाटेको अरुले सुन्नुपर्छ भन्ने लाग्छ, यी कमिला र माहुरी यिनको निरर्थक कर्कस नसुनी श्रम गर्न लागे, त्यसैले रिसले यिनले यस्तो गरेको, आफ्नो सोख पूरा गरेको’ सीईओहरुले जवाफ दिए ।

अलि अघि बढेर अर्काे कटेज छेउमा पुगियो । बोर्डमा लेखिएको थियो- दलित, जनजाति, पिछडिएको क्षेत्र, आदिवासी जनजाति सबैलाई बेग्लाबेग्लै राज्य दिन्छु भन्दै उचालेर मान्छे मार्न र मर्न लगाएको, आफूलाई सत्तामा पुर्याउने कार्यकर्ताकै नाममा राज्यकोषबाट रकम झिकेर १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको, धर्म गर्नेहरुलाई सामन्त भन्दै मार्न लगाएको र आफूले सत्ता पाउँछु कि भन्दै पछि भैसी पुजा गरेको…।

उनी केराको खम्बालाई मान्छे जस्तो आकृति बनाएर संसारकै सबैभन्दा अत्याधुनिक बन्दुक र पेस्तोलले गोली प्रहार गरिरहेका थिए । परेवाको गुँडनेर एम्बुस थाप्दै थिए ।

यिनले किन यसो गरेको- मैले सोधेँ ।

‘यिनको सोख नै यस्तै छ, सोख पूरा गरिरहेका छन्,’ सीईओहरुले जवाफ दिए ।

नजिकैको अर्काे कटेजमा पुगियो । डिजिटल बोर्डमा लेखिएको थियो- सांसदलाई थाइल्याण्डको वेश्यालय पुर्याएर आफ्नो सत्ता जोगाएको, भन्सार नतिरी पजेरो किन्देर आफ्नो पक्षमा पार्दै संसदीय व्यवस्थामा विकृति छिराएको, वाइडबडी जस्ता ठूला ठूला भ्रष्टाचार काण्डमा प्रत्यक्ष जोडिएको, सत्ता प्राप्तिका लागि जस्तो सुकै काम गर्न पनि पछि नपर्ने, दरबारमा प्रजातन्त्र बुझाएको…।

उनी रोगी जस्तो देखिने एउटा बुढो भेडालाई कहिले काँधमा चढाउँथे । कहिले काँखमा राख्थे, कहिले सोफामा बस्न भन्थे ।

यिनले किन यस्तो गरेको- मैले सोधेँ ।

‘यिनलाई यो भेडो आफन्त हो भन्ने भ्रम छ, यिनी आफन्त बाहेक अरु कसैले केही अवसर पाउनु हुदैन भन्ने मान्यता राख्छन्, त्यसैले आफ्नो सोख पूरा गर्न यसो गरेका,’ सीईओहरुले भने ।

नजिकै एउटा ठूलो गधा फर्म थियो । विभिन्न हुलियाका व्यक्तिहरु त्यहाँ आएर गधाको टाउकोमा लात्तले हान्थे । अचम्म लाग्यो । किन हानेका होलान् ?

‘यी गधाको बथानलाई यिनीहरु आफ्ना कार्यकर्ता जस्तो सम्झन्छन्, अनि कार्यकार्ताहरुले आफूलाई मान गरिरहेका छन् भन्ने महसुस गर्न गधाको टाउकोमा लात्तले हानेका’ सीईओहरुले भने ।

यस्ता कटेज धेरै थिए । सबै कटेज र त्यहाँ राखिएका व्यक्तिहरुका बारेमा लेखिएको बोर्ड हेर्न मन थियो । तर, मनमा यस्तो नकारात्मक कामको जानकारी दिँदै यी मान्छेहरुलाई किन यति व्यवस्थित र सम्मानित रुपमा राखिएको होला भन्ने प्रश्न मनमा उब्जियो ।

‘यिनीहरुले नेपाली जनताको राजनीतिक नागरिक अधिकार प्राप्तिको लडाइमा ठूलो योगदान गरे, नेपाली जनतालाई राजनीतिक नागरिक अधिकार प्रदान गर्ने संविधान बनाए, त्यसपछि नेपाली नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा प्रदान गर्नुपर्ने थियो, यिनीहरुबाट यो काम सम्भव भएन, सत्तामा लिसो टासिए जस्तै टासिए, आफ्नो असक्षमता र अकर्मन्यताले देशलाई बन्धक बनाए, नागरिकलाई दास सम्झिए, राम्रो काम पनि गरेको र नराम्रो काम पनि गरेकोले स्वर्ग वा नर्क कता लाने भन्ने समस्यामा यमराज परे, त्यसैले हामीले नै समन्वय गरेर यस्तो परियोजना संचालनको विकल्प दियौं, यिनीहरुलाई यसरी राखियो,’ दुबै सीईओले भने ।

‘अनि यिनीहरु कतिन्जेल बाच्छन् ?’ सोधेँ ।

‘यिनीहरु लाखौं वर्षसम्म यसरी नै यहाँ बस्न सक्छन्, विश्वभरका मान्छेले यति खराब नेता पनि हुँदा रहेछन् भनेर शुल्क तिरेर हेर्न पाउँछन्, यिनीहरुसँग सम्बाद गर्न सक्छन्, भिडियो खिच्न सक्छन्, तर यहाँबाट बाहिर लाने वित्तिकै अडियोमा आवाज आउँदैन, भिडियो देखिदैन, ह्युमान जूका प्राणीहरु बाहिर गए भने हावा जस्तै नदेखिने गरी समाप्त हुन्छन्, किनभने यिनीहरुले गरेको भ्रष्टाचार र अनियमितताको शुल्क यिनीहरुबाट उठाउन राज्य संयन्त्रले सकेन, यिनीहरुलाई देखाएर पर्यटकबाट असुल गर्ने हामी दुईको सल्लाह अनुसार यो परियोजना सुरु गरिएको हो,’ दुबै सीईओले भने ।

यस्ता प्राणी करिब ५ सय जति राखिएको सीईओहरु बताउँदै थिए । यस्तैमा कसैले कान ताने जस्तो लाग्यो । अलिअलि दुखे जस्तो महसुस भयो । झल्यास्स बिउझिएँ । छोरीले कान तान्दै तोते बोलिमा भन्दै रहिछ- गुडमर्निङ बाबा !

ओहो ! कस्तो अनौठो सपना देखिएछ । साला ! ह्युम्यान जू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.