परीक्षणको दायरा बढाउँदै काठमाडौं महानगर

  २०७७ साउन २० गते १५:३८     विकासन्युज

काठमाडौं । बन्दाबन्दी(लकडाउन) खुलेसँगै पछिल्लो समय कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ ।

सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९५ जनाको पिसिआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । गत १४ गते वडा २८ मा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि सङ्क्रमणको जोखिम बढेको भन्दै परीक्षण गरिएको हो ।

त्यसैगरी वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना सङ्क्रमण बढिरहेको छ । वडा २७ मा सङ्क्रमितको सम्पर्कमा रहेका ३०२ जनाको साउन १३ गते कोरोना परीक्षण गराइएको थियो । परीक्षणको क्रममा २० दिनअघि भारतको सीतामढीबाट आएका एक महिलामा सङ्क्रमण पोजेटिभ देखिएको थियो । उनीबाट पहिले उनका भाइमा सङ्क्रमण सरेपछि उनीहरुको सम्पर्कमा रहेकालाई खोज्दै १५ जनालाई परीक्षण गरिएको थियो ।

सङ्क्रमणको दर बढेपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रा पर्व पनि घरमा नै विधि पुर्याएर मनाउनसमेत आग्रह गरेका छन् । ठूलो जमातमा सङ्क्रमण फैलिए त्यसलाई न्यूनीकरण गर्न समस्या हुने भन्दै प्रमुख शाक्यले आज एक विज्ञप्ति जारी गरी सबै नगरवासीलाई आग्रह गरेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.