पैसा कमाउने घिन लाग्दो धन्दा, एनजीओको परिबन्धमा आमा पर्दा शिशुलाई मिल्काइयो

  २०७७ साउन २० गते ११:४६     विकासन्युज

काठमाडाैं‌ । साउन १२ गते साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा एक शिशुलाई काटुनमा राखेर मिल्काएकाे अवस्थामा भेटियो भन्ने समाचार चौतर्फी फैलियो । आम सञ्चार माध्यममा समाचार सार्वजनिक भएसँगै जीवित शिशुलाई त्यसरी मिल्काउने कस्ती आमा होलिन् ? भन्ने प्रश्न मात्र गरेनन्, धेरैले ती शिशुकी आमालाई सरापे पनि ।

चौरमा केही बालबालिका खेल्न गएको समयमा भेटिए लगत्तै नजिकै रहेको केयर बाल गृहमा ती शिशुलाई हेर्ने र भेट्न जानेको पनि भिड लाग्यो । भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ । हामीलाई मन पर्याे । हाम्रो बहिनी बनाउने नि प्लिज,’ भनेको सुनिन्थ्यो ।

ती शब्द सुन्दा दया मात्र होइन ती बालबालिकाहरुले शिशुप्रति देखाएको सामिप्यताले भिडियो हेर्ने सबैका आँखा स्वभाविक रसाएकै हुनुपर्छ । त्यतिखेरै ती शिशुलाई सोही केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मेवारी लिएपछि उनलाई सहयोग गर्न देश विदेशबाट मनकारी मनहरु तछाडमछाड गरी ओहिरिए ।

त्यस लगत्तै सो घटनाको बारेमा प्रहरीले पनि अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानबाट अहिले सो घटना फिल्मी स्टाइलमा मञ्चन भएको कुरा बाहिरिएको छ । अहिले यस भित्रको कहानी अलग्गै भएको तथ्यले सामाजिक सञ्जाल तताएको छ ।

काटुर्नमा भेटिएकी शिशु वैदेशिक रोजगारीबाट हालै सरकारको उद्दार उडानमार्फत नेपाल आएकी एक महिलाले जन्माएकी खुलासा भएकाे छ ।

यस्तो छ कहानी

विश्वभर कोरोना महामारीको त्रास भएपछि नेपाल सरकारले पनि विभिन्न समयमा विदेशमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गरेर नेपाल ल्यायो ।

त्यही उद्दार उडान मार्फत नेपाल आएकी थिइन् ती महिला (शिशुकी आमा) । उनी परिवारलाई खबर नगरी काठमाडौंको कुनै संस्थामा आश्रय लिई बस्दै आएकी थिइन् । काठमाडौंमा बस्दै आएको समयमा ती महिलाले शिशुको जन्म दिइन् ।

उनलाई त्यही समयमा आर्थिक अभाव भयो । कसरी शिशुको पालन पोषण गर्ने ? कसरी उसलाई खाना दिने भन्ने बारेमा समस्या भयो । लकडाउनकै समयमा ठूलो आर्थिक समस्यामा परेपछि उनले के गर्ने कस्तो गर्ने भन्ने सोच गरिन् ।

त्यही बीचमा ती महिलाको भेट केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीसँग भयो । उनले आफ्ना सम्पूर्ण समस्या अधिकारी समक्ष राखिन् । उनकै मिलोमतोमा साउन १२ गते नाटक मञ्चन गरेर ती शिशुलाई काटुर्नमा राखेको खुलासा भएको छ ।

घटना उर्जागर भए लगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी ती शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेकोले यसको बारेमा कुनै प्रतिक्रिया दिन मानेनन् ।

संस्थापक अधिकारीले भने आफुहरुले त्यो नाटक मञ्चन गरेको स्वीकार गरेकी छिन् । ‘शिशुकी आमाको एकदमै पैसाको बाध्यता, बाहिरबाट के कसरी आएको हो त्यो मलाई केही पनि थाहा छैन । यस्ता केसहरु धेरै आइरहन्छन् । मैले कसैलाई पनि स्वीकारेकाे थिइन । तर यो घटनामा एकदमै समस्या भएकोले यस्तो गर्न स्वीकार गरेकी हुँ’,- उनले भनिन् ।

‘त्यहाँ अरु मानिसहरु पनि बसिरहेका थिए । उहाँले शिशु मेरो हातमा दिनु भयो, मैले त्यहाँ लगेर राखेको हुँ । म पनि लेडिज भएको कारणले मैले एउटा लेडिजलाई बचाउनको लागि यस्तो गरेकी हुँ । म यता पट्टी साइडमा बसिरहेकी थिएँ,’ उनले भनिन् ।

घटनाको उद्देश्य बेच्ने र पैसाको बार्गेनिङ नभएको उनको भनाई छ । यद्यपि अहिले काठमाडौंमा बस्दै आएकी ती महिलाको परिचय गोप्य राखिएको छ । प्रहरीका अनुसार ती महिला र शिशु प्रहरीको निगरानीमा छन् । प्रहरीले यस घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.