लकडाउनको बेलामा आयो ११ अर्ब ७२ करोडको चामल, कारण खोज्न अनुसन्धान थाल्यो भन्सारले

  २०७७ साउन २० गते ११:२२     विकासन्युज

काठमाडौं । लकडाउनको बेलामा नेपालमा चामल आयात अनपेक्षित रुपमा बढेको छ । सामान्य अवस्थाको भन्दा पनि निकै बढी चामल आयात भएपछि भन्सार विभागले अनुसन्धान थालेको हो ।

विभागका अनुसार लकडाउनको अवधि (चैतदेखि असारसम्म) मा ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ मा चैतदेखि असारसम्ममा ९ अर्ब २१ करोड रुपैयाँको चामल आयात भएको थियो ।

लकडाउनको समयमा काठमाडौं उपत्यका जस्ता शहरी क्षेत्रका धेरै सर्वसाधारण गाउँगाउँ गएका थिए । गाउँ पुगेका सर्वसाधारणले चामलको साटो मकै, कोदो, फापर जस्ता अन्य अन्नको परिकार पनि बनाएर खाएको तथा आफ्नै गाउँको उत्पादन पनि उभोग गरेकोले आयात घट्नुपर्ने अनुमान सरकारी अधिकारीको छ ।

लकडाउनको अवधिमा चामलको आयात अस्वाभाविक देखिएकोले अध्ययन आवश्यक देखिएको भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । सामान्य अवस्थाको भन्दा २ अर्ब रुपैयाँभन्दा बढीका चामल आयात भएकोले विभाग कारण खोज्न लागेको हो ।

‘चालम आयातको तथ्यांक आफैमा शंकास्पद देखियो, लकडाउनको बेलामा किन यति धेरै चामल आयो भनेर अध्ययन आवश्यक देखिएको छ,’ सुचना अधिकारी घिमिरेले भने ।

भारतीय चामल नेपालमा डम्पिङ गरिएको हुन सक्ने शंका गर्दै विभागले अध्ययन थालेको हो । तर, उपभोक्ताले नै संचय बढाएकोले चामलको आयात बढी भएको हुन सक्ने व्यवसायीको भनाइ छ ।

‘लकडाउन कति समयसम्म जान्छ, दैनिक उपभोग्य वस्तु पाइन्छ कि पाइदैन भन्ने अन्योल सर्वसाधारणमा थियो, त्यसैले सबैले १÷२ बोरा चामल बढी राख्दा पनि आयात धेरै भएको हुन सक्छ,’ एक व्यवसायीले भने ।

भन्सार विभाग भने औपचारिक च्यानलबाट मात्रै चामल आयात भएको धेरै देखिएको हुन सक्ने अनुमानमा पनि छ ।

‘सामान्य अवस्थामा अनौपचारिक माध्यमबाट पनि चामल आयात हुन्थ्यो होला, लकडाउनको बेलामा नेपार र भारत दुबै देशका बजार बन्द भए, सर्वसाधारणले सीमा वारपार गर्न समस्या भयो, त्यसैले औपचारिक माध्यमबाट मात्रै आयात हुँदा बढी देखिएको पनि हुन सक्छ, यदि यस्तो हो भने हाम्रो अनौपचारिक व्यापारको आकार कत्रो रहेछ भन्ने जानकारी पनि पाउन सकिने अवस्था रहेकोले अध्ययनमा जुटेका छौं,’ विभागका एक अधिकारीले भने ।

आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो भने गत आर्थिक वर्षमा ३२ अर्ब ७२ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । वार्षिक रुपमा १२ करोड रुपैयाँको मात्रै आयात बढी देखिएको छ । सामान्य अवस्थामा चामलको आयात घटेपनि लकडाउन सुरु भएपछि बढेको तथ्यांक किन देखियो भनेर विभागले चासो देखाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.