नेपाल बैंकले ल्यायो सहुलियत कर्जा योजना, कुनकाे व्याजदर कति ?

  २०७७ साउन १९ गते १८:०९     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंकले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा नयाँ कर्जा योजनाहरु ल्याएकाे छ । यस याेजना अन्तर्गत बैंकले घर कर्जा, नयाँ लघु उद्यम तथा सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा सस्ताे व्याजदरमा दिने भएकाे हाे ।

बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिकालागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ ।

लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्युन ब्याजदर हो । यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख रूपैयाँदेखि ९९ लाख रूपैयाँसम्मको लागी लघु उद्यम कर्जा र १ करोड रूपैयाँदेखि ३ करोड रूपैयाँसम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ ।

दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजीकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसकाे वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८६ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.